पाथीभरामा भएको झडपविरुद्ध मेची राजमार्ग र तमोर करिडोर बन्द 

माघ १५, २०८१

आनन्द गौतम

Mechi Highway and Tamor Corridor closed against clashes in Pathibhara

ताप्लेजुङ — गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर ‘नो केबलकार समूह’ ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् ।

मंगलबार बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । सबैखाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको आन्दोलनरत समूहका अगुवा श्री लिङ्खिमले बताए । 

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । यता तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ । 

मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् । प्रहरीले लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई १२ गते काफ्लेपाटीबाट नियन्त्रणमा लिएको थियो । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully