ताप्लेजुङ — कोशी प्रदेश सरकारको राजनीतिक तथा शान्ति वार्ता समितिले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेको पक्षलाई वार्ताका लागि बोलाएको छ ।
मंगलबार समितिका संयोजक कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । दुई बुँदे निर्णयको दोस्रो बुँदामा ‘असन्तुष्ट पक्षहरुसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रुपमा वार्ताका लागि आह्वान गर्दछ,’ भनिएको छ । वार्ताका लागि समितिको सचिवालय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा औपचारिक वा अनैपचारिक रुपमा सम्पर्क गर्न सकिने उल्लेख छ ।
साथै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कनुनमन्त्री रेवती रमण भण्डारी तथा कानुन मन्त्रालयको प्रदेश सचिव रहेको राजनीतिक तथा शान्ति वार्ता समितिको संयोजक तथा सदस्यहरुसँग सम्पर्क गर्न सकिने उल्लेख छ ।
कोशी प्रदेश सरकारको २०८१ मंसिर २४ गतेको निर्णयले राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ । निमित्त प्रदेश सचिव कमलबहादुर थापाका अनुसार मंगलबार संयोजक सहितका सबै सदस्यको उपस्थितिमा बैठक बसेको हो । बैठकले गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको घटनाप्रति दु:ख व्यक्त गर्दै घाइते भएका सुरक्षाकर्मी र आन्दोलनरत पक्षको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
