आन्दोलन रोकेर पाथीभरा केबलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको अपिल

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Appeal of Fungling municipality to stop the protest and support the construction of Pathibhara cable car

काठमाडौँ — ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले आन्दोलन रोकेर पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणमा सहयोग गर्न सबैमा अपिल गरेको छ ।

स्थानीयवासीको 'नो केबलकार समूह’ले केबलकार निर्माणमा अवरोध गर्दै आन्दोलन गरिरहेको, आन्दोलन नियन्त्रणका लागि खटिएका प्रहरी र आन्दोलनकर्ताबीच भएको झडपमा केही प्रहरी र स्थानीयवासी घाइते भएका छन् ।

यसैबीच नो केबलकार समूहले अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सडक नाकाहरु, ताप्लेजुङभित्र यातायात बन्द, उद्योग, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ । यससँगै स्थानीय जनप्रतिनिधिहरुको जिल्ला बाहिर आवतजावतमा निषेध गर्नेजस्ता कार्यहरुको फुङलिङ नगरपालिकाले घोर भर्त्सना गरेको छ ।

हडतालले बालबालिका, वृद्ध, अशक्त, सम्पूर्ण तिर्थालुहरुलाई समेत असर पर्ने र झडप हुँदा नेपालीहरुकै क्षति हुने हुँदा फुङलिङ नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ नगरपालिकाको विज्ञप्तिमा भनिएको छ, 'यस नगरपालिकाको ०८१ भदौ २१ गते ४५औं कार्यपालिका बैठकको निर्णयअनुसार फुङलिङ नगरपालिका क्षेत्रभित्र तथा अन्य जिल्लाहरुबाट ताप्लेजुङसम्म आउने यातायातका साधनहरु एवं नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु कुनै पनि राजनैतिक दल, संघसंस्था वा समूहले अवरोध तथा बन्द हडताल गर्न गराउन नपाउने निर्णय भएको छ ।’

सोही निर्णयबमोजिम माघ १५ गते मंगलबार (आज) बसेको ५४औं कार्यपालिका बैठकले समेत हडताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकाले सबै पक्षबीच आपसी छलफल, वार्ता, सम्वाद र समन्वयका आधारमा सबैको स्वामित्व र अपनत्व कायम गर्दै पुनः यातायात, उद्योग, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरुमा बन्द हडतान नगरी सम्बन्धित पक्षहरुमा थप क्षति हुनबाट बच्न सहमतिका लागि वार्तामा आउन नगरपालिकाले आग्रह गरेको छ ।

ताप्लेजुङ जिल्लामा रहेको पवित्र तिर्थस्थलप्रदेश सरकार र स्थानीय सरकारहरुबाट स्वीकृति लिइ ताप्लेजुङ जिल्लाको समग्र आर्थिक, सामाजिक विकास गर्न, पर्यटन प्रवर्द्धन गर्न र अशक्त, अपांग वृद्ध, बालबालिकालगायत सबैलाई पाथीभर मन्दिरसम्म सहज तरिकाले पुग्न पाथीभरा मुक्कुम्लुङ केबलकार प्रालिले केबलकार निर्माणका काम सुरु गरेको थियो । तर, स्थानीयहरुको नो केबलकार समूहले विभिन्न माग राखी विरोधका गतिविधि गर्ने क्रममा गत शनिबार सुरक्षा निकाय र नो केबलकार समूहबीच झडप भएको थियो । झडपमा घाइते केही प्रहरी र केही विरोधी पक्षका व्यक्तिहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully