खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीयले आयातित पेय पदार्थ उपयोगमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै फजुल खर्च भएको भन्दै माघ १२ गतेको टोल विकास समितिले प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
पास्नी, छेवर, व्रतबन्ध, गुन्युचोली, बिहे, काजकिरियालगायतका विभिन्न संस्कार एवं चाडपर्वमा आयातित पेय पदार्थ सेवन नगर्ने निर्णय गरिएको पाथेकास्थित साविक ३ नम्बर टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताए । ‘आयातित पेय पदार्थले स्वास्थ्यमा खराबी, अनाहकमा फजुल खर्च मात्रै भयो,’ राईले भने,‘त्यही भएर माघ १२ गतेको टोल विकास समितिको बैठकले प्रतिबन्ध गर्ने निर्णय गरिएको हो ।’
कसैले निर्णय उलङ्घन गरे जरिवाना गर्ने समेत निर्णय गरिएको राईले सुनाए । उनका अनुसार पहिलो चोटि निर्णय उल्लङ्घन गर्नेलाई पाँच हजार, दोस्रोचोटि गर्नेलाई सात हजार र तेस्रो चोटि पनि निर्णयलाई उलङ्घन गरे दश हजार रूपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेका हुन् । आयातित पेय पदार्थ प्रतिबन्धपछि पत्रु खानामाथि पनि प्रतिबन्ध लगाउने योजना रहेको उनको भनाइ छ ।
गाउँका युवामा चेतनाको विकास भएपछि आयातित पेय पदार्थमा प्रतिबन्ध लगाएकोप्रति आफूलाई खुसी लागेको स्थानीय सरस्वती माविका प्रधानाध्यापक उत्रप्रसाद राईले बताए । ‘आयातित चिजबिजले स्वास्थ्य त खराब हुने नै भयो, त्यसमाथि पैसा पनि सखाप, यस्तो चिज बन्द गरेर युवाहरूले धेरै राम्रो काम गरेका छन्,’ राईले भने, ‘मुख्य कुरा चेतना हो, चेतना विकास भएपछि गाउँ बस्न लायक भइहाल्छ ।’
साविक ३ नम्बर वडाका युवाहरूको अभियानप्रति वडाले समेत सहयोग गर्ने वडाध्यक्ष मुगाधन राईले बताए । ‘साविक ३ नम्बर वडाका युवाहरूले धेरै राम्रो काम गर्नु भएको छ, वडाको तर्फबाट पनि उहाँहरूको अभियानमा सहयोग गर्छ,’ राईले भने, ‘अन्य टोल विकास समितिलाई पनि यस्तो काम गर्न अनुरोध गर्छौं ।’ यसअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका विभिन्न टोलमा पनि आयातित पेय पदार्थ सेवनमा रोक लगाएका छन् ।
