'नो केबलकार' समूह र प्रहरी झडप, घाइते काठमाडौं पठाइयो

प्रदेशसभामा घटनाको विरोध

माघ १३, २०८१

कान्तिपुर संवाददाता

'No Cable Car' group and police clash, injured sent to Kathmandu

विराटनगर — ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रको केबलकार निर्माणविरुद्ध उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा १९ प्रहरी र ६ जना आन्दोलनकारी घाइते भएका छन् । झडपमा गम्भीर घाइते तीन आन्दोलनकारीलाई थप उपचारका लागि नेपाली सेनाको वायुयानमार्फत काठमाडौं लगिएको छ ।

प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बूको तिघ्रामा, सगुन लावतीको छातीमा गोली लागेको छ भने भीरबाट लडेका धर्मान पालुङ्वाको कुम भाँचिएको छ । उनीहरूलाई जिल्ला अस्पताल ताप्लेजुङ हुँदै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको छ । गम्भीर अवस्थाका कारण उनीहरूलाई काठमाडौं रेफर गरिएको छ ।

शनिबार साँझ करिब ६ बजे बलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारीले माथिबाट ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र केही गोली चलाएको हो । झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मालगायत १९ जना प्रहरी घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशसभामा घटनाको विरोध

कोशी प्रदेशसभामा बोल्दै धेरैजसो सांसदहरुले मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको प्रहरी दमनको तीव्र विरोध गरेका छन् । नो केबलकार समूहबीच शनिबार झडप भएको थियो । जसमा तीन आन्दोलनकारी प्रहरीको गोलीबाट गम्भीर घाइते छन् । घटनामा केही प्रहरीसमेत घाइते छन् । 

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले विशेष समय लिएर बोल्दै प्रहरी दमनको विरोध गरे । यस्तै कांग्रेसका सांसदहरु प्रदिप सुनुवार, शमशेर राई र गोविन्द गिरी, राप्रपाकी प्रमुख सचेतक सविना बजगाई, एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपलगायतले शून्य समयमा बोल्दै मुक्कुम्लुङ क्षेत्र पूर्वी भागमा बस्ने लिम्बू समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको क्षेत्र भएको भन्दै यो क्षेत्र लिम्बूहरूका पुर्खाहरू र उनीहरूको सांस्कृतिक सम्पदासँग जोडिएको बताएका थिए ।

कान्तिपुर

Link copied successfully