गत बिहीबार भएको आगलागीबाट ५ घर जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति, ५ परिवारका १७ जना विस्थापित
संखुवासभा — आगलागीमा घर जलेपछि सभापोखरी गाउँपालिकाको बाह्रबिसेका लालसिंह राई छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । गत बिहीबार दिउँसो साढे २ बजेतिर एक्कासी आगोको मुस्लो देखियो । केहीबेरमै ५ वटा घर पूर्णरुपमा नष्ट भए ।
आगलागी हुँदा लालसिंह कामको सिलसिलामा ८ किलोमिटर माथिको गाउँ गएका थिए । छिमेकीले घर जलिसक्यो भन्ने खबर गरेपछि हस्याङफस्याङ उनी बाह्रबिसे आइपुग्दा घर डढेर सकिइसकेको थियो ।
‘घरधनीपुर्जा, अन्य कागजात, सुनचाँदी, लत्ताकपडा सबै जले । भित्रको केही झिक्न सकिन,’ उनले भने, ‘घरमा ताला लगाएर गाउँ गएको थिएँ। फर्किदा सर्वस्व जलिसकेछ।’ अहिले सरकारी राहत र केही संघसंस्थाको सहयोगले छाक टारिरहेको उनले बताए ।
घर आगलागी हुँदा निर्मला तामाङ पनि बाह्रबिसेमा थिइनन् । उनलाई पनि आगलागी भएपछि छिमेकीले खबर गरेका थिए । छोराछोरीको शैक्षिक प्रमाणपत्र पनि आगोमा परेर जलेको उनले बताइन् । ‘आगोले सबै थोक सकिदियो । अब घर बनाउने पैसा छैन, कतिदिन छिमेकीकोमा आश्रय लिएर बस्नु,’ उनले भनिन् ।
अग्नीपीडितलाई उद्योग वाणिज्य संघ, वितरक संघ, अलैंची व्यवसायी संघ, पेट्रोलियम ढुवानी एशोसियसन, हातेमालोलगायत संस्थाले आर्थिक सहयोग गरिरहेका छन् । आगलागीको कारण नखुलेको र ढुंगामाटो तथा काठबाट बनेका घर भएकाले क्षति बढी भएको प्रहरीको भनाइ छ । आगलागीबाट ५ परिवारको करिब २ करोड बढीको धनमाल क्षति भएको छ भने ५ घरका १७ जना विस्थापित भएका छन् । पीडितहरु हाल आफन्त र छिमेकीकोमा बसेका छन् ।
दिउँसो भएको आगलागी एक्कासी फैलिँदा पीडितले घरभित्र भएका सम्पत्ति झिक्नै नसकेको गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बुले बताए । ‘काठबाट बनेका घर भएकाले आगो निभाउन सकिएन । लस्करै जोडिएका ५ वटा घर डेढ घन्टाभित्र खरानी भए,’ उनले भने । रामबहादुर राई, अमृता राई, र सुशील तामाङले पनि घरभित्र भएको सामान झिक्न पाएनन् । बाक्लो बजार भएकाले थप क्षति हुन नदिन स्थानीय, प्रहरी र सेना डेढ घण्टामा आगो निभाएका थिए ।
गाउँपालिका, रेडक्रस, व्यापारी र विपद् व्यवस्थापन समितिले आगलागी पीडितलाई राहत वितरण गरिसकेका छन् । ओढ्नेओछ्याउने, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरिसकेको गाउँपालिकाले पीडितलाई थप १ लाख दिने निर्णय गरेको अध्यक्ष लिम्बुले बताए । ‘पीडितलाई पालिकाबाट सक्दो सहयोग गर्छौ, घर बनाउन काठपातको पनि व्यवस्थापन गरिदिन्छौं । अहिलेलाई १ लाख दिने भने पनि रकम बढाउन छलफलमा छौं,’ अध्यक्ष लिम्बूले भने ।
पालिकाले अस्थायी टहरा निर्माण गरिदिनु पर्ने पीडितहरुको माग छ । उनीहरुका लागि बाह्रबिसेका युवाहरुको सक्रियतामा राहत संकलनको काम भइरहेको छ । स्थानीय प्रसिद्ध श्रेष्ठका अनुसार संकलित रकम एकमुष्ठ गरेर गाउँपालिका मार्फत पीडितसम्म पुर्याइने बताए ।
