फुङलिङबाट टिप्ताला पुगेर फर्कियो जिप

माघ ८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारान थापा नेतृत्वको टोली आफ्नै सवारी साधन लिएर टिप्ताला भन्ज्याङ पुगेर फर्किए । नेपाल र चीनको सिमाना टिप्ताला पुगेर फर्किन उनीहरूलाई तीन दिन लाग्यो । सदरमुकाम फुङलिङबाट चीनको सिमानासम्म यात्रुवाहक सवारी पुगेर फर्किएको यो पहिलो पटक हो । 

तीन दिनमा फर्किएका उनीहरू पहिलो र दोस्रो रात ओलाङचुङगोलामा बसेका थिए । टोलीमा सहभागी होटेल प्यारिजका सञ्चालक सविन बानियाँका अनुसार सदरमुकाम फुङलिङबाट हिँडेका उनीहरू दिउसो ३:३० बजे गोलाको बस्तीमा पुगेर बसेका थिए ।

दोस्रो दिन बिहान खाना खाएर ९:३० बजे गएका उनीहरू २:४५ बजे द्विदेशीय सिमाना टिप्ताला पुगे । बेलुका ७ बज्दा नबज्दै बस्तीमा पुगेको बानियाँले बताए । तेस्रो दिन बिहान नास्ता गरेर ९ बजेतिर यात्रा सुरु गरेका उनीहरू बेलुका ५ बजे सदरमुकाम फुङलिङ पुगेका थिए । 

पहिलो पटक लिएर गएको गाडी र बीचमा हिउँको थुप्रो फुटाउँदै जानु परेकाले बढी समय लागेको अध्यक्ष थापाले बताए । ‘बीच बाटोमा नाउर देखियो, चौंरी देखियो, तमोर नदीको मुहान हेर्न थालियो, त्यसैले अलिक धेरै समय लागिहाल्यो,’ अध्यक्ष थापाले भने, ‘कच्ची बाटो तेत्तिकोलाई राम्रै भन्नु पर्छ ।’ बानियाँका अनुसार सदरमुकामदेखि सिमानासम्म पुग्दा पाँच/सात ठाउँमा गाडी ठेल्ने, मान्छे उत्रने, बाटो बनाउने गर्नु परेको थियो ।

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले सडक कस्तो रहेछ, तिब्बतसँगको व्यापार सम्भव हुन्छ कि हुँदैन भनेर हेर्न पनि गएको बताए । उनीहरूले तीन दिनका लागि ७० हजारमा चालक रवीन गुरुङसँग रिजर्भ गाडी लगेका थिए । पहिलो पटक जानुपर्ने र हिउँको जोखिम पनि हुने भएकाले गाडीलाई अलि बढी नै पैसा दिएर लगेको अध्यक्ष थापा बताउँछन् । 

ओलाङचुङगोलाबाट चिराइतो बोकेका ट्याक्टर जाने गरेको पाइएको व्यवसायीले बताएका छन् । तमोर नदीको सुकेपानीमा चीनले दिएको ह्युमपाइप लगाएपछि अहिले यात्रा सहज भएको छ । ह्युमपाइप नलगाउँदा म्म साना सवारी तार्न कठिन रहेको थियो । सुपर तमोर जलविद्युत् आयोजनाले सुकेपानीदेखि टिप्तालासम्मको सडक मर्मत तथा ह्युमपाइप लगाइदिएको थियो । चीन सरकारले दिएको ह्युमपाइप सात वर्षदेखि सिमानामै थन्किएको थियो । ट्याक्टरमा बोकेर खोलासम्म ल्याएर आयोजना आफैंले लगाएको हो ।

नेपाल–चीन र भारतलाई जोड्ने यो कोशी प्रदेशकै छोटो मार्ग रहेको उत्तर दक्षिण लोकमार्ग आयोजनाका इन्जिनियर बताउँछन् । टिप्तालाबाट तमोर करिडोर हुँदै विराटनगरको जोगबनीसम्मको दूरी २ सय ५३ किलोमिटर रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully