विराटनगर — कोशी प्रदेशसभाको सोमबारबाट सुरु छैटौं तथा हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरूले सरकारको कार्यसम्पादन र गति सुस्त भएको भन्दै तीव्र आलोचना गरेका छन् ।
एक महिनाको अन्तरालपछि प्रदेशसभा बैठक बसेको हो । जसमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलका सांसदहरूले सरकारको काम–कारबाहीलाई लिएर आलोचना गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कार्यसम्पादन कमजोर रहेको र संसदले लय समात्नै नसकेको आरोप लगाए । उनका अनुसार सरकारले संसदमा महत्त्वपूर्ण विधेयक पेस गर्न नसकेको र केही विधेयकमात्र छलफलका लागि आएको बताए । लिम्बू र मैथिली भाषालाई कामकाजी भाषाका रूपमा प्रस्ताव गर्ने विषयमा सरकार उदासीन रहेको पनि उनको आरोप थियो ।
नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले पनि सरकारको कार्यक्षमता कमजोर रहेको र बजेट योजनामा प्रगति नदेखिएको आरोप लगाए । उनका अनुसार पूर्ववर्ती सरकारले सुरु गरेका योजनालाई वर्तमान सरकारले निरन्तरता दिन नसकेको बताए । ‘संसद नचलेर हाम्रो बोल्ने बानी नै छुटिसक्यो,’ उनले भने, ‘३ सय ६५ दिनमा जम्मा ६५ दिन मात्र बोल्न पाइन्छ, अनि हामीले १२ महिनाको तलब किन खाने ?’
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि बाढी–पहिरो प्रभावितहरूको पुनःस्थापना कार्यमा प्रदेश सरकारको सुस्तताको आलोचना गरे । ‘पार्टी राजनीतिप्रति जनमानसमा वितृष्णा जागेको छ,’ उनले भने, ‘यसको समाधान खोज्नु आवश्यक छ ।’
जसपा सांसद निर्मला तावा लिम्बूले प्रदेश सांसदहरूको हक र बजेटको असमानता एवं सरकारको विकासमुखी योजनामा कमी रहेको गुनासो गरिन् । उनले एमाले नेतृत्वको सरकारले पाथीभरामा केवलकार राख्ने विषयमा स्थानीयसँग समन्वय नगरेको आरोप लगाइन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने विपक्षी दलका सांसदहरूको भनाइप्रति प्रतिवाद गर्दै अहिल्यै सरकारलाई प्रश्न गर्ने समय आइनसकेको बताए । ‘सरकारले आधार संरचनाहरू बनाइरहेको छ र त्यसको प्रभाव देख्न समय लाग्नेछ,’ उनले भने ।
सदनको प्रारम्भिक बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरेका थिए । प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले शान्ति र सुरक्षाको अवस्था सामान्य रहेको र पूर्वमुख्यमन्त्री थापामाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । कोशी प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने भएको छ ।
