कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधामात्रै काम

पक्की पुल नबन्दा बाँसको जोखिमपूर्ण पुलबाट पैसा तिरेर वारीपारी गर्नुपर्ने बाध्यता

माघ ३, २०८१

रासस

Kankai Bridge: Contract extended five times, only half done in 13 years

झापा — हुलाकी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ ।

यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।  पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए। उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।  

पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । 

नदीमा पुल नहुँदा यहाँ सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा नदीमा डुङ्गा सञ्चालनका लागि दुई लाख ३० हजारमा ठेक्का दिएको छ । वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम गरिरहेका छन् । जहाँ मोटरसाइकल र पैदलयात्रीबाट समेत बाँसको पुल तरेबापत् शुल्क उठाउने काम भइरहेको छ । उक्त पुलमा मोटरसाइकललाई एकतर्फी ५० रुपैयाँ र पैदल यात्रीलाई २० रुपैयाँ उठाउने गरेको पाइएको छ । 

पटक–पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताइन् । 'लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ,' उनले भनिन्, 'अहिलेको ठेक्का प्रक्रिाया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।'

रासस

Link copied successfully