पाँचथर — किरात समुदायका लिम्बु राई, याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउँदै छन् ।लिम्बुहरूले नयाँ वर्षलाई 'यले तङवे' भन्ने गर्छन् किरात नयाँ वर्षलाई लिम्बु समुदायले कुसङ यले तङबे र राई समुदायले यले दङ भनेर मनाउँछन् ।
यो समुदायको नयाँ वर्ष माघे संक्रान्तिकै दिन सुरु हुन्छ । माघे संक्रान्तिसँगै किराती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बु समुदायले किरात नयाँ वर्ष धूमधाम साथ मनाउने गरेका हुन् । किराती पात्रोअनुसार यो वर्षको माघ १ गतेदेखि किरात संवत् ५०८५ सुरु भएको छ ।
विविधताको पर्व मकर संक्रान्ति अर्थात् र माघी पर्वसँगै किरात नयाँ वर्ष सुरु हुन्छ । यस्तै याक्खा र सुनुवार समुदायका सदस्यले पनि माघ १ गतेलाई नै नयाँ वर्ष सुरु भएको भन्दै मनाउँछन् ।
किरात संवत् नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवत् भन्दा ३ हजार ४ वर्ष जेठो छ । यले तङ्गवे संवत् किराती राजा यलम्बरले शासन सुरु गरेपछि मनाउन थालिएको किम्बदन्ती रहेको इतिहास खोज तथा अन्वेषक लक्ष्मण लावती बताउँछन् ।
यो सिजनमा संक्रान्तिदेखि उच्च पहाडी क्षेत्रमा पाइने चाँप प्रजातिको फूल फुल्न सुरु हुन्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तिलाई ककफेवा तङनाम भनेर भन्ने गरिएको हो ।
लिम्बु भाषामा कक भनेको चाँप, फेवा भनेको फुल्ने र तङ नाम भनेको मौसम अर्थात् ककफेवा तङ नाम भनेको चाँप फुल्ने मौसम हो । यो पर्वमा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल पोलेर सदस्यलाई टीका लगाउँदै आशीर्वाद दिने चलन रहेको लावती बताउँछन् ।
मकर संकान्तिकै दिन किरातीहरुको बाहुल्यता रहेको पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटा लगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।
किरात लिम्बुहरू सघन बसोबास रहेका काठमाडौँ, ललितपुरसँगै हङकङ र सिंगापुरसम्म यो पर्व मनाउन थालिएको छ । लिम्बुहरूले यले तङवे भनेझैँ यो पर्वलाई मगरले माघ्या, राईले यले दङ, थारुले माघी र हिन्दुहरूले मकर संक्रान्तिका रूपमा मान्दछन् । त्यही भए पनि माघे अर्थात् मकर संक्रान्तिलाई नेपालीहरूको साझा र मौलिक पर्व रूपमा लिइने गरेको ज्येष्ठ नागरिकहरू बताउँछन् ।
