विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण : दुई वर्षमा ४५ प्रतिशत मात्रै काम

माघ १, २०८१

पर्वत पोर्तेल

Construction of Biratnagar Airport Terminal Building: Only 45 percent completed in two years

विराटनगर — पूर्वको व्यस्त विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन वन्दैछ । बढीमा एक वर्षभित्र करिब ६० वर्ष पुरानो टर्मिनल भवन छाडेर नयाँ टर्मिनल भवनमा स्थानान्तरण हुने बताइएको छ ।  पछिल्लो समय आन्तरिक हवाई यात्रुको बढ्दो चाप थेग्न विराटनगर  विमानस्थललाई हम्मेहम्मे पर्ने गरेको छ । 

सन् २०२१ देखि २०२४ सम्म यात्रुको चाप ५ प्रतिशतले बढेको थियो ।  सन् २०२५ देखि सन् २०३० सम्म ४ प्रतिशत र सन् २०३० देखि सन् २०३५सम्म ३ प्रतिशत यात्रु बढ्ने पूर्वानुमान नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ । 

प्राधिकरणले करिब ३ अर्ब १२ करोड रुपैयाँ लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको छ । सँगै धावनमार्ग पनि  विस्तार गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले दुई वर्षमा करिब ४५ प्रतिशत हाराहारीमा काम सम्पन्न भइसकेको जनाए । उनका अनुसार जसमा वित्तीय प्रगति ३७ प्रतिशत मात्रै छ । 

‘आगामी २०८२ पुसभित्र निर्माण सकेर हस्तान्तरण गरिसक्ने योजना छ,’ इन्जिनियर खड्काले भने,‘त्यही कारण काम तीव्र पारिएको छ ।’ टर्मिनल भवनको शिलान्यास तत्कालीन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेका थिए । निर्माणको ठेक्का केसी, डाँफे जेभीले पाएको छ ।  इन्जिनियर खड्काका अनुसार १६ हजार ५ सय ९० वर्ग मिटर क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । चाँडै १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई लम्ब्याएर १ हजार ७ सय ७० मिटर बनाइने प्राधिकरणले जनाएको छ । ‘धावन मार्गको स्तरोन्नतीले उडानलाई थप सुरक्षित र प्रभावकारी बनाउने पक्का छ,’ खड्का भन्छन् । 

Construction of Biratnagar Airport Terminal Building: Only 45 percent completed in two yearsनयाँ टर्मिनल भवन निर्माणपछि ६४ वर्षपछि विराटनगर विमानस्थल नयाँ रुपमा देखिने छ । विराटनगरमा सन् १९५८ मा विमानस्थल बनेको थियो । पहिला भारतको जोगबनी नजिकैको जतुवा गाउँमा रहेको विमानस्थल केही समयपछि विराटनगर सारिएको थियो । नयाँ टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, सम्मेलन कक्ष, तीनवटा भीआईपी कक्ष, बाल उद्यान, स्तनपान कक्षजस्ता सुविधा हुनेछ । 

पूर्वी नेपालको प्रमुख विमानस्थलमध्येको विराटनगरबाट दैनिक २० भन्दा बढी उडान हुँदै आएको छ । विगतमा पहाडी गन्तव्यहरू, तुम्लिङटार, भोजपुर, रुम्जाटार, पोखरा र माउन्टेन फ्लाइटसमेत हुन्थ्यो । विमानस्थलको स्तरोन्नतिपछि बन्द रहेका आन्तरिक उडानलाई पुनः सञ्चालन गर्ने र भारत, बंगलादेशलगायतका छिमेकी देशहरूमा समेत उडान गर्ने योजना प्राधिकरणको छ । 

Construction of Biratnagar Airport Terminal Building: Only 45 percent completed in two yearsकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गरी विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न निजी क्षेत्रसँग सहकार्य भइरहेको जनाएका छन् । खासगरी नजिकका छिमेकी मुलुकहरू भारत र बंगलादेशका विभिन्न सहरमा सीधा उडानको सम्भावना रहेको मुख्यमन्त्री कार्कीले बताए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully