उद्योगको प्रदूषित ढल खोलामा बगाउने योजनाले स्थानीय चिन्तित

वडा कार्यालयको उक्त योजना कार्यान्वयन भए बुढीगंगा गाउँपालिकाका अधिकांश वडा डुबानमा पर्ने

पुस २९, २०८१

पर्वत पोर्तेल

Locals worried about the plan to discharge the polluted sewage of the industry into the river

विराटगनर — विराटनगर महानगरपालिकासँगै साँधसीमा जोडिने उत्तरी मोरङको बुढीगंगा गाउँपालिका–१ खदरा बस्तीकी विमला ऋषिदेव (मुसहर) केही दिनयता चैनले निदाउन सकेकी छैनन् । एक त हिउँदको सिरेटो, त्यसमाथि बस्ती नै डुबाउन नियतका साथ पालिकाले गर्न लागेको योजना । दोहोरो चिन्ताले यतिबेला उनी निदाउन नसकेकी हुन् ।

बुढीगंगा गाउँपालिका–१ टङकीसिन्वारी आसपासको प्रदुषित ढल वडा कार्यालयकै अगुवाईमा अब खदरा खोला हुँदै सिंघिया खोलामा मिसाउन लागिएको छ ।

पालिकाको यो अपरिपक्व योजनाले उठीबास हुने भन्दै विमला जस्तै विपन्न र दलित समुदायका सयौं स्थानीय चिन्तित बनेका हुन् । ‘प्रदुषित बाढीले अब गाउँनै दोहोरो जोखिममा परेको छ’, स्थानीय शिवलाल माझीले भने,‘हामीले फोहोर र वाढी दुवै सामना गर्नु पर्ने अवस्था हुदैछ ।’ स्थानीयका अनुसार यो योजना वातावरणीय प्रभाव मूल्यांकन र डीपीआर बिना नै अघि बढाइएको छ ।

वडा कार्यालयले सडक निर्माण नगरी गहिरो र फराकिलो नाला निर्माण गर्न सुरु गरेपछि आइतबार प्रभावित क्षेत्रका बासिन्दाहरूले निर्माण कार्य रोक्न माग गर्दै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । ‘वडा कार्यालयले केही जग्गा व्यापारी र उद्योगीसँग मिलेर जनता मार्ने काम गरिरहेको छ’, एक स्थानीयले आरोप लगाए ।

Locals worried about the plan to discharge the polluted sewage of the industry into the river

वडाध्यक्ष सोमराज काफ्लेले सूर्य नेपालले ६० लाख रुपैयाँ दिएको र आरती स्ट्रिपलगायतका अन्य उद्योगले समेत रकम दिने कबोल गरेको स्वीकारे । भने,‘नाला र खोला दुवैलाई व्यवस्थित गर्न उद्योगहरूले रकम दिएका हुन्, हामीले काम अघि बढाएका हौं ।’

वडाध्यक्ष काफ्ले करिब एक करोडको योजना केही दिनमा ठेक्का लागेर काम सुरु हुने दाबी गरे । ‘उद्योबाट करिब एक करोड र वडाबाट बाँकी रकम थपेर योजना कार्यान्वयन गरिने छ’, उनले भने ।

विज्ञहरूका अनुसार यो योजना कार्यान्वयन भए बुढीगंगा गाउँपालिकाका अधिकांश वडा डुबानमा पर्ने छन् । साथै विराटनगर महानगर १ र १९ तथा दक्षिणी मोरङका कटहरी र जहदा गाउँपालिकाका अधिकांश वडा डुबान र कटानको उच्च जोखिममा पर्ने देखिन्छ ।

खदरा र सिंघिया नदी साँघुरो भइ बगेको छ । त्यहाँ पानी थपिँदा भार थेग्न नसकेर नदी छेउछाउका बस्ती कटान र डुबान हुने पक्का रहेको अर्का स्थानीय सुनील केसीले बताए । भने,‘वडाको योजना कार्यान्वयन भए हाम्रो सिंगो गाउँ डुब्ने निश्चित छ ।’

सिंघिया र खदरा नदीका कारण हरेक वर्ष यहाँका दर्जनौं बस्ती डुब्ने गरेका छन् । ‘अब उद्योगको फोहोरसहितको पानी थप मिसाइँदा झन् समस्या हुन जान्छ’, अर्का स्थानीय दिलकुमारी अधिकारीले गुनासो पोखिन् ।

Locals worried about the plan to discharge the polluted sewage of the industry into the river

यसैबीच पालिकाको अपारदर्शी योजनाको विरोधमा स्थानीय बासिन्दाले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् । वडाले हामी सरोकारवालाको समस्यालाई पूर्ण बेवास्ता गर्दै योजना सुरु गरेका कारण उनीहरू आन्दोलित भएका हुन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रभावित बासिन्दाले वडा र पालिका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय र अन्य पालिकाको समेत ध्यानाकर्षण गराएका छन्। प्रभावितहरूले अपारदर्शी योजना निर्माण कार्य तत्काल रोक्नुपर्ने, खदरा र सिंघिया नदीमा दिगो तटबन्ध निर्माण गर्नुका साथै डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully