गाउँपालिका अध्यक्ष र वडाध्यक्षसहित प्रतिवादी बनाइएका ७ जना हाजिरी जमानीमा छुटे
पाँचथर — मिक्लाजुङ गाउँपालिका–७ लिम्बाका तेजबहादुर थेगिमको मृत्यु प्रकरणमा परेको जाहेरीमाथि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको छ ।
गत मंसिर २१ गते राति मिक्लाजुङ–७ को जैसीभीर गएका थेगिमको मृत्युका विषयमा गाउँपालिका अध्यक्ष अमरराज माखिमसहित ९ जनालाई विपक्षी बनाएर काका राजकुमार र दिदी विष्णुमाया थेगिमले जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन र जाहेरी अभियोजन (मुद्दा चलाउने) प्रयोजनका लागि जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी विराटनगरको अनुसन्धान टोलीले संकलन गरेको विवरण सम्मिलित मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको पाँचथर प्रहरी प्रवक्ता इन्सपेक्टर बिनालाल साहले बताए । प्रहरीबाट मिसिल आए पनि अध्ययन गर्न बाँकी रहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र भट्टराईले बताए ।
मृतककी दिदी र काकाले प्रहरीमा दर्ता गराएको जाहेरीमा गाउँपालिका अध्यक्ष माखिमको टोलीमा सिकार खेल्न जाँदा थेगिमको मृत्यु भएको उल्लेख छ । तेजबहादुरकी दिदी झापाको गौरादह नगरपालिका–९ बैगुनधुरामा बस्ने विष्णुमाया २१ गते रातिनै भाईको मृत्यु भएपनि आफूलाई झुक्याएर मंसिर २२ गते बिहान मात्रै दिइएको बताउँछिन् ।
राति भएको घटनाका विषयमा घरमा भएका बाबुलाई थाहै नदिई उर्लाबारी लगिनु, स्थानीय, जनप्रतिनिधि र प्रहरीलाई खबर नगरिनु, भाई घाइते छ भनेर मलाइ बोलाइनु, अस्पताल पुग्दा मृत्यु भइसकेको र पोष्टमार्टम घरमा राखेको छ हेर्न मिल्दैन भन्नु, अस्पताल बोलाएर जाहेरी दिनुपर्छ भन्दै खाली कागजमा सही गराइनु, काजकिरिया सकेर किटानी जाहेरी दिन जिल्ला प्रहरी पुग्दा जाहेरी लिन नमान्नुलगायत विषयले घटना रहस्यमय भएको परिवारको दाबी छ ।
आफूलाई गोलिया काट्न गएको भाई लडेर घाइते भएको र उपचारका क्रममा निधन भएको भनेर जाहेरीमा सहीछाप गराएको विष्णुमाया बताउँछिन् । यद्यपि पोष्टमार्टम गरिएको उर्लाबारी ट्रमा सेन्टरका डा. प्रोमिश बुढाथोकीले अस्पताल ल्याइपुर्याउँदा थेगिमको मृत्यु भइसकेको बताएका छन् ।
गाउँपालिका अध्यक्ष माखिमसहित ९ जनालाई प्रतिवादी बनाएको घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरीबाट एसएसपी भीमबहादुर दाहाल नेतृत्वको टोली पाँचथर आएको थियो । न्यायाधिवक्ताको कार्यालयमा बुझाएको मिसिलमा जिल्ला प्रहरीको अनुसन्धान प्रतिवेदन संलग्न छ । कोशी प्रदेश प्रहरी प्रवक्ता समेत रहेका एसएसपी दाहाल घटनाको अनुसन्धान जारी रहेको बताउँछन् ।
‘तेजबहादुर मृत्यु प्रकरणमा आएको जाहेरीमा सिकार खेल्न जाँदा गोली लागेर हत्या गरेको किटानी गरिएको छ, घटनास्थलको प्रकृति हेर्दा अलि फरक जस्तो देखिन्छ, जस्तो सिकार खेल्न गएको देख्ने, मारेर ल्याएका घोरलको मासु खाने मात्रै नभएर घोरलका हाडखोर र रौं भेटिएका छैनन्, प्रहरी अनुसन्धान निरन्तर छ,’ दाहालले भने ।
मंसिर १ गते भएको घटना ढिला गरी सार्वजनिक भएको र शव समेत जलाइसकेकाले धेरै प्रमाण नष्ट भइसकेको मृतकका आफन्तको दाबी छ । प्रहरीले जाहेरीमा प्रतिवादी बनाइएका अध्यक्ष माखिम र मिक्लाजुङका–७ का वडाध्यक्ष हेमचन्द्र रेग्मीसहित ९ जनालाई मृतक थेगिमलाई उर्लाबारी लगिएको गाडी र त्यसका चालकलाई झिकाएर सोधपुछ गरी हाजिरी जमानतमा छोडेको छ ।
मंसिर २१ गते मिक्लाजुङ–७ जैसीभीरमा भएको घटनामा मृत्यु भएको भनिएका थेगिमलाई मंसिर २२ गते मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा पोष्टमार्टम गरी २३ गते मिक्लाजुङ–७ स्थित घरमा ल्याएर नजिकैको घाटमा जलाएको थियो । घटनापछि तेजबहादुरको परिवारका सदस्य घर छोडेर झापाको गौरादहमा रहेकी मृतककी दिदी विष्णुमायाको घरमा बस्दै आएका छन् ।
घटनाको एक महिना बित्दासम्म मानव अधिकारकर्मी नागरिक अगुवाले चासो नदिएको मृतकका आफन्तको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय विराटनगरका मानव अधिकार अधिकृत यमराज आङदेम्बेले घटनाको अध्ययन सुरु गरेको बताए । गाउँपालिका अध्यक्ष माखिमले भने आफूसँग लाइसेन्सयुक्त बन्दुक रहेकाले राजनीतिक प्रतिशोध साँध्न खोजेको दाबी गर्दै आएका छन् ।
