सुन्तला मासेर एभोकाडो खेती 

पुस २६, २०८१

रमेशचन्द्र अधिकारी

Orange Masher Avocado Cultivation

धनकुटा — घिउ फलले चिनिने एभोकाडो ६ वर्ष अघिसम्म कृषकको बारीमा छिटपुट मात्र थियो । सुरुवाततिर यो फल बिक्री नभई त्यतिकै नष्ट हुन्थ्यो । धनकुटा नगरपालिकाले २०७५ सालमा ‘एभोकाडोको राजधानी’ घोषणा गरे पछि झाँगिएको खेतीको उत्पादन अहिले देशका अधिकांश सहरदेखि भारतसम्म पुग्ने गरेको छ । 

धनकुटा नगरपालिका–३ पात्लेका कृषक गोपाल बाग्ले पाँच/छ वर्षमै एभोकाडो खेती यसरी फैलिएला भन्ने नलागेको बताउँछन् । अन्य फलफुलको तुलनामा स्याहार कम गर्नुपर्ने र रोपेको पाँच वर्षमै उत्पादन दिने भएपछि यसको खेतीमा जुटेको उनले बताए ।

पाँच दशकदेखि विभिन्न फलफूल खेती र नर्सरी व्यवसायमा संलग्न उनले पछिल्लो समय एभोकाडोमा भविष्य देखेको बताए । उनले भने, ‘मूल्य चित्तबुझ्दो छ, बजारको समस्या छैन, रोप्न सजिलो र सहजै फल्ने भएपछि यसमा नलोभिने कुरै भएन ।’ 

धनकुटा नगरपालिका–६ कचिंडेका ज्योतिराम पोख्रेलको बगैंचामा दशक अघिसम्म लटरम्म सुन्तला फल्थ्यो । करेसाबारीदेखि घर वरिपरि रहरलाग्दा सुन्तलाका दानाले हाँगै झुकेका हुन्थे । अहिले सुन्तलाको विकल्प एभोकाडो बनेको उनले बताए । सुन्तलामा बगान रोगले सखाप भएपछि एभोकाडो वैकल्पिक खेती बनेको उनले सुनाए । जसबाट पोखरेलले वार्षिक १० लाख बढी आम्दानी हात पार्दै आएका छन् । 

एभोकाडो खेती बिस्तार र कृषकलाई आकर्षण गर्न धनकुटा नगरपालिकाले अगुवाई गर्दै आएको छ । नगरपालिकाले दुई पटक एभोकाडो महोत्सव र एक पटक प्रवर्द्धनात्मक बृहत कार्यक्रम आयोजना गरिसकेको नगर प्रमुख चिन्तन तामाङ बताउँछन् ।

Orange Masher Avocado Cultivation

‘कृषकको आकर्षण बढ्दै गएपछि हामीलाई यसले हौस्याएको छ’, उनले भने, ‘अब बजारीकरण र कृषकलाई प्राविधिक सहयोगतर्फ हाम्रो चासो गएको छ ।’ नगरले धनकुटा–६ परिचयमोडमा एभोकाडो स्तम्भ तथा पार्क निर्माण गरेको छ भने नर्सरी सुधारलगायतका कार्यक्रम अघि सारेको छ ।  

मुलुकका ३९ वटा जिल्लामा धनकुटाको एभोकाडोको बीउ तथा बिरुवा गएको कृषकहरुको दाबी छ । जिल्लाभर झन्डै ४ हजार बढी कृषक एभोकाडो खेतीमा संलग्न छन् । तीन वर्षअघिसम्म ४ हजार ४० रोपनीमा रहेको भएको खेती अहिले १३ हजार रोपनीमा फैलिएको छ । जिल्लामा वार्षिक अढाई लाख किलो एभोकाडो उत्पादन हुने गरेको तथ्यांक छ ।

यस वर्ष तीन करोड १९ लाख ८३ हजारको आम्दानी भएको छ । एभोकाडोको फल सँगै भित्रि दानाको महत्व पनि उत्तिकै छ । नर्सरीमा विरुवा उत्पादनका लागि भित्रिको दाना सुरक्षित राखिन्छ । अधिकांश कृषकले फल सित्तै वा सस्तोमा दिएर भित्रको दाना फिर्ता पनि माग्ने गर्छन् ।

धनकुटा नगरपालिकाका अनुसार २०७८ मा फलबाट भन्दा विरुवा बिक्रिको कारोबार भएको थियो । त्यतिबेला २९ करोड ३८ लाख ३४ हजार रुपैयाँ एभोकाडोको व्यापार भएको नगरपालिकाको तथ्यांक छ । पछिल्ला वर्ष कारोबारको अवस्था स्थिर रहेको नगरपालिकाले जनाएको छ ।

एभोकाडोको माग पाल्पा, भोजपुर, तनहुँ, स्याङजा, लमजुङ, चितवन, कास्की, गोर्खा, बैतडी, म्यादी, सुर्खेत, कैलाली, अछामलगायत जिल्लाबाट बढी भएको नगरपालिकाले जनाएको छ । बाहृय जिल्लाबाट माग बढेपछि यहाँका कृषक नर्सरी व्यवस्थापनमा पनि जुटेका छन् । बजार अभाव नभएपछि आफु यसतर्फ लागेको स्थानीय नर्सरी व्यवसायी भरत गुरागाईले बताए ।

Orange Masher Avocado Cultivation

उनले एक्लै ७ हजार विरुवा बिक्रि गरेका छन् । धनकुटा नगरपालिकाले समेत विरुवा अनुदानमा वितरण गर्दै आएको छ । कतिपयले  सुन्तलाका पुराना बगैंचा मासेर पनि खेती गरिरहेका छन् । रोपेको चार/पाँच वर्षमै फल दिने र मिहनेत अनुसार राम्रो भाउ पाएपछि कृषकको ध्यान एभोकाडोले तानेको कृषि विज्ञ जीवन राई बताऊँछन् । 

२०७५ को आधाररेखा सर्बेक्षणका व्रममा यहाँका १ हजार ९ सय ६३ परिवार एभोकाडोमा संलग्न थिए । २०७८ मा ४ हजार ९ सय २६ परिवार एभोकाडोमा संलग्न छन् । यसैगरी १२ हजार ९९ रोपनीमा खेती गरिएको छ । २०७५ मा ७७ हजार ७ सय ५० किलो फलेकोमा २०७८ मा २ लाख ३९ हजार ४ सय १८ किलो उत्पादन भएको तथ्यांक छ ।

२०७५ सालमा २३ लाख ३२ हजार ५ सय रुपैयाँको एभोकाडोको कारोबार भएकोमा गत वर्ष ३ करोड १९ लाख ८३ हजार ३ सय ८० रुपैयाँको कारोबार छ । २०७५ मा एभोकाडोका नर्सरी पाँच वटा मात्र थिए । हाल जिल्लामा १ सय ३७ एभोकाडोका नर्सरी पुगेका छन् ।

एभोकाडो खेतीका चुनौती

एभोकाडो राजधानी घोषणा गरिएको धनकुटामा एभोकाडो खेतीप्रति आकर्षण बढे पनि फल तथा बोटमा देखा परेको रोगबाट भने कृषक चिन्तित छन् । तीन वर्षदेखि एभोकाडोको फल अत्यधिक झर्ने, झुसिलकिराले बोटनै नांगो हुनेगरी खाइदिने र फलमा समेत साना किराले असर पुर्याएको कृषक बताउँछन् । यसको खेती जति बढ्दो छ, उति रोगको समस्या बढ्दै छ ।

धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापा यसको खेतीबारे प्राविधिक ज्ञान अभाव रहेको बताउँछन् । बगैंचा र फलमा देखिएका रोग निदान समाधान गर्न कृषि वैज्ञानिकसँग समेत समन्वय गरिरहेको नगर प्रमुख तामाङले जनाए । 

सामान्यतः अन्य फलफुलको बोटमुनि अदुवा, बेसार, तरकारीलगायत रोप्न सकिन्छ । एभोकाडोको फेदमुनि झार समेत नपलाउने गरी सुख्खापन हुँदा सागसब्जी र कुनै प्रकारका नगदेबालीको खेती गर्नै नसकिने कृषकको गुनासो छ ।

जमिन रुखो बनाउने प्रजाति रहेकोले एभोकाडोको बोटमुनि यस्ता बाली लगाउन नसकिएको कृषिविज्ञ राईले बताए । कम्तीमा २० फिटको फरकमा यो विरुवा रोप्नुपर्नेमा अधिकांश कृषकले बाक्लो गरी रोप्दा समेत समस्या रहेको उनले बताए । 

एभोकाडोको जातीय शुद्धता कायम गर्न चुनौति देखिएको छ । अधिक परागसेचन हुने बाली भएकोले समेत यसमा जातीय शुद्धता कायम गर्नका लागि निकै समस्या रहेको कृषि प्राविधिक भक्तमान राईको भनाई छ । फस्टाउँदै गएको एभोकाडो खेतीको प्रवर्द्धनमा प्राविधिक पक्ष भने फितलो छ । कृषकले भनेको बेला प्राविधिक सुझाव र रोग निदानको लागि प्राविधिक सहयोग पाउन समस्या पर्ने गुनासो चुलिएको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully