ताप्लेजुङ — सोर्स एक्सन नेपालले फुङलिङ नगरपालिका-९ हाङदेवाका ६ सय ११ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । अध्यक्ष पासाङ शेर्पाले हङकङमा बनाएर ल्याएको राम्रो गुणस्तरको ज्याकेट वितरण गरेको दाबी गरे ।
हाङदेवामा जन्म भई हाल समाज कल्याण परिषद्को योजना शाखामा कार्यरत रामराज भट्टराईले संस्था र स्थानीय तहबीच समन्वय गराएका थिए । गत वर्ष यहाँको वडाले ज्याकेटका लागि प्रस्ताव पठाएको वडाध्यक्ष लक्षुमन गुरुङले बताए ।
‘आफ्नो वडामा विपन्न विद्यार्थी भए संस्थामा आवेदन गर्न भट्टराईले भन्नुभएको थियो,’ वडाध्यक्ष गुरुङले थपे, ‘हामीले सामुदायिक विद्यालयका सबै विद्यार्थीको विवरण पठाएका थियौं, अहिले प्राप्त भएर वितरण गर्यौं ।’ आफ्नो वडाका सामुदायिक विद्यालयमा पढ्ने सबैजसो विद्यार्थी विपन्नै भएको गुरुङको दाबी छ ।
जतन गरेर लगाए दुईचार वर्ष थाम्ने गरीको राम्रो ज्याकेट ल्याएको उनले बताए । पासाङका अनुसार परिषद्को अनुमतिमा तीन वर्ष यता देशका १६ हजार विद्यार्थीलाई यस्तो ज्याकेट वितरण गरिएको छ । २३ दुर्गम जिल्लामा पुगेर वितरण गरेको पासाङले बताए ।
सिन्धुपाल्चोकको बाह्रबिसे छेउमा रहेको गुम्बाका लामा समेत रहेका पासाङले दाताहरूबाट सङ्कलित रकमबाट यसरी वितरण गरिएको बताए ।
‘हामीलाई हङकङ, चीन उताबाट पनि गुम्बाको नाममा सहयोग गर्नुहुन्छ, त्यस्तो सहयोग यता नपठाएर उतैबाट राम्रो क्वालिटी ज्याकेट बनाएर पठाइदिनु होस् भनेर मगाएर वितरण गरेका हौँ,’ उनले भने ।
भट्टराईका अनुसार कालिकोट, मुगु लगायतका जिल्लामा अघिल्ला वर्ष वितरण गरेका थिए । चिसोको मौसममा बालबालिकालाई न्यानो बनाउन सहयोग होस भनेर यसरी वितरण गरिएको संस्थाको दाबी छ । हाङदेवाका १० वटा सामुदायिक विद्यालय रहेका छन् ।
