धनकुटा — साँगुरीगढी गाउँपालिका-९ चाँदी बजारबाट प्रहरीले बिहीबार बिहान १२० किलोग्राम गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।
चाँदी बजारबाट धरानतर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका टोलीमाथि आक्रमणको प्रयास गरेपछि हवाई फायरिङ गर्नु परेको प्रहरीको भनाइ छ ।
पाँच वटा मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीसँग जम्का भेट भएपछि प्रहरी माथि आक्रमण प्रयास गरिएकाले हवाई फायर गरिएको उनले बताए ।
‘प्रहरीलाई देखेपछि आक्रमण प्रयास भएको थियो । त्यसपछि प्रहरीले पनि बल प्रयोग गर्नुपर्यो।’, प्रवक्ता डीएसपी खनालले भने, ‘असामान्य अवस्था आएपछि थप प्रहरी बल समेत परिचालन गर्नु परेको थियो ।’ उनका अनुसार प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीका अनुसार गाँजासहित को ३८ प ३५२२ नम्बरको मोटरसाइलसहित सहिदभुमि गाउँपालिका-१ गर्दुमका ३४ वर्षीय नकुल राई, प्र.१ ०२ ०५३ प ९९६३ नम्बरको मोटरसाइलकमा सवार २१ वर्षीय ओमप्रकाश राई, प्र १ ०२ ०५३ प ८६१७ नम्बरको मोटरसाइकका चालक साँगुरीगढी-८ तातोपानीका ८ वर्षीय मंगलकुमार राई र मोटरसाकल पछाडि बस्ने २९ वर्षीय बिसन राई पक्राउ परेका छन् ।
त्यस्तै, प्र १ ०२ प्र १ ०२ ०४३ प ९५९६ नम्बरको मोटरसाइकलमा सवार साँगुरीगढी-८ तातोपानीका ३६ वर्षीय थामबहादुर राई तथा सोही मोटरसाइकलको पछाडि बस्ने सुमन राईलाई समेत पक्राउ गरिएको डीएसपी खनालले बताए ।
सम्लग्न दुई जना व्यक्ति भने फरार रहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज रमेश प्रधानले जानकारी दिए । उनीहरूले प्रयोग गरेको को १४ प ७७५० नम्बरको मोटरसाइल भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार व्यक्तिहरूको खोजी भइरहेको उनले बताए ।
