एमबीबीएसको प्रवेश परीक्षामा पास गराइदिने भन्दै रकम लिएको आरोपमा एमाले मोरङका जिल्ला सदस्यसमेत रहेका अनिलविरुद्ध पक्राउ पुर्जी जारी
विराटगनर — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको छ । एमबीबीएसको प्रवेश परीक्षामा पास गराइदिने भन्दै रकम लिएको आरोपमा एमाले मोरङका जिल्ला सदस्यसमेत रहेका अनिलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जीको माग गरेअनुसार अदालतले अनुमति दिएको हो । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बैआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा भर्ना गराइदिने प्रलोभन देखाएर अनिलले २०७१ देखि ०७३ सम्म विभिन्न किस्तामा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
तर नाम ननिस्किएपछि रकम फिर्ताको माग गर्दा उल्टै अनिलले धम्काएको चौधरीले बताएका छन् । २०७९ साउन ९ मा आफूलाई बोलाएर २०७४ असार २५ को मिति राखेर ५० लाख रुपैयाँको कपाली तमसुक बनाएर जबर्जस्ती हस्ताक्षर गराएको चौधरीले अदालतमा गरेको बयानमा उल्लेख छ ।
उनले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत अनिललाई ५० हजार रुपैयाँ दिएका थिए । पछि रामदेव सिंहमार्फत १ लाख रुपैयाँ नबिल बैंकमा रहेको अनिलको खातामा जम्मा गरेको बैंक भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैंकको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मंसिर २२ मा चौधरीले एकमुष्ट १८ लाख रुपैयाँ जम्मा गरेका थिए । ‘पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ बुझाएको छु,’ चौधरीले भने ।
पटक–पटक ताकेदा गर्दा पनि रकम फिर्ता नभएपछि चौधरीले इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिन खोजेका थिए । तर, जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी दर्ता गर्न मानेन । २०७९ साउन १८ मा हुलाकमार्फत जाहेरी पठाइए पनि दर्ता भएन ।
जाहेरी दर्ता माग गर्दै चौधरी उच्च अदालत पुगेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले गत भदौ ३१ मा जाहेरी दर्ता गर्न परमादेश दिएको थियो । परमादेशलाई यही पुस ११ मा अदालतले प्रमाणीकरण गरेपछि ठगीको घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले अनुसन्धान सुरु भएको बताए । ‘अदालतबाट पक्राउ पुर्जी आयो, आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँछौं,’ उनले भने ।
