पाँचथर — गत असोज दोस्रो साता भएको अविरल वर्षासँगै गएको पहिरोले घर भत्केपछि विचल्लीमा परेका फालेलुङ-५ लुदिनटारका चौथमान तामाङलाई सशस्त्र प्रहरीले घर बनाइदिएको छ ।
सशस्त्र प्रहरीको फिदिम हिमशिखर गुल्म अन्तर्गत बीओपी भैंसेबाट खटेका सशस्त्र प्रहरी कर्मचारीले तामाङ परिवारका लागि ढुंगा, माटो, काठ र चित्रा प्रयोग गरेर एक तला र दुई कोठा भएको घर निर्माण गरिदिएका हुन् ।
‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम मार्फत सशस्त्र प्रहरी दिवस लक्षित गरी घर निर्माण गरिएको हिम शिखर गुल्मका प्रमुख (डीएसपी) कुमार बरालले जानकारी दिए ।
घर निर्माणका लागि सशस्त्र प्रहरीका ७ जना जनशक्तिले निरन्तर ५ दिनसम्म श्रम सहयोग गरेका थिए । घर निर्माणका लागि स्थानीय नागरिक, सामुदायिक वन, फालेलुङ गाउँपालिका र वडा कार्यालयबाट पनि सहयोग भएको बताइएको छ ।
तामाङ परिवारका लागि बनाइएको घर सोमबार हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार बराल नेतृत्वको टिमले घर हस्तान्तरण गरेको हो ।
घर बुझ्दै तामाङले नयाँ घर आफ्ना लागि बरदान साबित भएको प्रतिक्रिया दिए ।
