पाँचथर — कोही च्याब्रुङ नाचिरहेका, कोही हाक्पारे गाइरहेका त कोही साकेला र साम्लोको भाखामा रमाइरहेका । ज्येष्ठ नागरिकसँगै युवा र किशोर किशोरी पनि आ-आफ्नो संस्कृति र परम्परामा आधारित भेषभूषा र पहिरनमा सजिएर मेला घुमिरहेका ।
स्टलमा डोकोडालो, नाङ्लो र मान्द्रोसहित तोङ्वा र सेरग्यामका परिकार । पाँचथरको फिदिममा लागिरहेको चासोक मेला यी र यस्तै दृश्यले सुसज्जित भएको छ ।
किरात समुदायले मनाउने उँधौली पर्वका अवसरमा पुस१० गतेदेखि लागिरहेको चासोक मेलामा रैथाने संस्कार र संकृतिलाई जीवन्तता दिन खोजिएको छ ।
यहाँ हाक्पारे र मारुनीका पारखी मात्रै होइन जिल्लाको विभिन्न एकाध सङ्ख्यामा छरिएका धामी झाँक्री र बिजुवाहरूले पनि चासोक मेलामा सजिएर तान्त्रिक विद्यासहितको कला कौशल यसरी प्रस्तुत गरिरहेका छन् ।
पश्चिमा संस्कार र संस्कृतिको सिको गर्दा नेपाली मौलिकता ओझेलमा परिरहेका बखत पूर्वी पहाडमा अस्तित्वमा रहेका विभिन्न जातजाति र भाषाभाषीको मौलिक संस्कृति, पहिरचन र भेषभूषा जगेर्ना गर्ने उद्देश्यले यस्तो मेला लगाइएको आयोजक समेत रहेका फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावतीले बताए ।
