पाँचथर — पाँचथरको फिदिमस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मले दृष्टिविहीन बालबालिकालाई अध्ययन सहजतका लागि ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान गरेको छ ।
सशस्त्र प्रहरी दिवसको सन्दर्भ पारेर ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत फिदिमस्थित गडी माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकासँगै सुखबोध माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमताका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार बराल नेतृत्वको टोलीले ब्रेल लिपिसहित आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा यहाँ अध्ययनरत १८ जना दृष्टिविहीन बालबालिकालाई ब्रेल लिपिसहितका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
यसअघि सशस्त्र प्रहरीको हिमशिखर गुल्मले सुखबोध माविमा अध्ययनरत २० जना छात्रछात्रालाई विद्यालय पोसाकसहित जाडो छल्ने न्याना कपडा उपलब्ध गराएको थियो ।
