सोलुखुम्बु — सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारसम्म सडक मार्गले छोएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामुनिको सुर्के गाउँसम्म सडकको सिधा पहुँच पुगेको हो ।
दुई वर्षअघि थालिएको सडकको ट्र्याक खन्ने काम सकिएसँगै सुर्केमा यात्रुवाहक बस पुग्न थालेका छन् । खुम्बु पासाङल्हामु–१ खरिखोलादेखि वडा–२ सुर्केसम्म १६ करोड लागतमा करिब २५ किलोमिटर सडकको ट्र्याक खोलिएको हो । गाउँपालिकाको मुख्य लगानीमा सडक खनिएसँगै लुक्ला विमानस्थलको भर पर्नु परेका सगरमाथा जाने पर्यटकका लागि वैकल्पिक मार्ग खुलेको छ ।
यसअघि माप्यदुधकोशी गाउँपालिकाले खरिखोलासम्म सडकको ट्र्याक खोलेकामा खरिखोलादेखि सुर्केसम्म भने खुम्बु पासाङल्हामु गाउँपालिकाले बाटो बनाएको खुम्बु पासाङल्हामुका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । खरिखोलादेखि थामडाँडासम्म १२ दशमलव ३ किलोमिटर सडक पालिकाको ६ करोड १४ लाखमा खनिएको छ भने थामडाँडादेखि सुर्केसम्म १२ दशमलव ५ किलोमिटर सडक ठेक्कामार्फत १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
साढे १२ किलोमिटर सडकमा गाउँपालिकाको ५० प्रतिशत र ५० प्रतिशत दुई वटा जलविद्युत् आयोजनाहरू (सिल्क पावर र दुधकोशी छैटौं) ले लगानी गरेको गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलले बताए ।
अब जिल्ला सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर पार गरेर सुर्केसम्म सवारीसाधनमा सहजै पुग्न सकिने भएको छ । थामेको बाढीले क्षति गरेको मितेरी पुलको ठाउँमा दुधकोशी नदीमा अस्थायी ह्युमपाइप राखेर सुर्केसम्म सडक सञ्जाल पुर्याइएको हो । दुधकोशी पारि खरिखोला र पैंया खोला गरी दुई ठाउँमा ह्युमपाइप राखेर गाडी सुर्के पुर्याइएको गाउँपालिकाका प्रवक्ता शेर्पाले बताए । अहिले खुम्बुमा सल्लेरीबाटै बोलेरो जिप तथा बसहरू सिधै पुगेका छन् ।
खुम्बु क्षेत्रमा लुक्ला नजिकै मोटर पुगेसँगै मौसमी विमानस्थल लुक्लाको विकल्पका रूपमा हेरिएको छ । मौसम प्रतिकूल हुँदा विदेशी पर्यटकहरू खुम्बु आउनका लागि हप्तौंसम्म रामेछापको मन्थलीमा कुर्नु पर्थ्यो । अब लुक्लानजिकै सिधै बस चल्न थालेपछि पर्यटकका लागि लुक्ला विमानस्थलको निर्भरता हटेको छ ।
सुर्केबाट लुक्ला नपुगी डेढ घण्टाकै पैदल यात्रामा फाक्दिङ पुग्न सकिने भएपछि पर्यटकका लागि भरपर्दो विकल्प सडक मार्ग भएको पर्यटन व्यवसायी निमा शेर्पाले बताए । सडक पुगेसँगै आधाजसो पर्यटक सडक मार्गबाटै खुम्बु जाने अर्का पर्यटन व्यवसायी निराजन शर्माले बताए । उक्त सडकको पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।
सडक बनेसँगै लुक्लामुनि सुर्केमा पुगेको बस । तस्बिर : भानुभक्त/कान्तिपुर
