विराटनगर — मोरङको कटहरी–७ की ५० वर्षीया राजकुमारी माझीको जीवनमा पुनः उज्यालो फर्किएको छ । एक वर्षदेखि अन्धकारको पर्दामा कैद राजकुमारीको गुमेको ज्योति फिर्ता आएको हो । जसले उनलाई संसार जितेझैं अनुभूति भइरहेको छ ।
‘आँखा देख्न पाउँदा मलाई संसार जितेजस्तो भएको छ,’ राजकुमारीले सुनाइन्, ‘संसार देख्न पाउनु भनेको ठूलो कुरा रहेछ जिन्दगीमा ।’ करिब एक वर्ष उनले दृष्टिविहीन जिन्दगी गुजारिन् । दिनरात नै अन्धकार हुँदा ज्यादै चिन्ताग्रस्त भइन् । त्यो चिन्ताले उनी रोगाउन पनि थालेकी थिइन् । तर, जब उनको ज्योति फर्कियो, तब उनको मुहारमा खुसीका रेखा दौडिन थाले । एक समय खेतीपाती र घरका काममा सक्रिय राजकुमारीको जीवन एकाएक बदलियो, जब उनका दुवै आँखा बन्द भए । आँखाको ज्योति गुमेपछि उनी परिवारको सहारामा मात्र आश्रित भइन् । बाहिरी संसारसँग उनको सम्पर्क लगभग विच्छेद भइसकेको थियो ।
मोरङको ग्रामथान गाउँपालिकामा रुइत फाउन्डेसनको सहयोगमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले आयोजना गरेको निःशुल्क आँखा शिविरले राजकुमारीको जीवनमा फेरि एकपटक नयाँ आशा जगाइदिएको हो । गत मंगलबार पतिको दौराको फेर समातेर शिविरमा पुगेकी उनलाई चिकित्सकहरूले आँखाको ज्योति फर्किने सम्भावना कम रहेको भनी निराश पारेका थिए । तर, उनले हरेस खाइनन् । अन्ततः उनको जीवनमा नयाँ अध्याय सुरु भयो । त्यो थियो, उज्यालो अध्याय ।
अस्पतालका नेत्र चिकित्सक डा. कृया लोप्चनले राजकुमारीको आँखाको ज्योति फर्काउन ज्यादै गम्भीर रहेको र ज्योति फर्किने झिनो सम्भावना मात्रै रहेको बताएकी थिइन् । जलबिन्दु र मोतियाबिन्दु दुवै समस्या रहेको र एउटा आँखाको नसा नै सुकिसकेको अवस्थामा पनि चिकित्सकहरूको अथक प्रयासले राजकुमारीको आँखाको ज्योति फर्काइयो । ‘राजकुमारीको ज्योति फर्काउन हामीले सक्दो प्रयत्न गर्यौं,’ डा. लोप्चनले सुनाइन्, ‘त्यो प्रयासमा हामी सफल पनि भयौं ।’
आफ्नो आँखाले उज्यालो देख्न थालेपछि शुक्रबार घर फर्किंदा उनी पतिको सहाराबिना नै ठमठमी हिँडिन् । ‘हाम्री आमाले यसरी ठमठमी हिँड्न थाल्नु चमत्कार नै हो,’ छोरा शुक्रमले भने, ‘आमाले आँखा देख्दा हामीलाई पनि औधी खुसी लागेको छ ।’
