कानुन व्यवसायी महिला कानुनका संवाहक : न्यायाधीश मल्ल

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Lawyers Women Advocates of Law: Judge Malla

विराटनगर — सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिला कानुन व्यवसायी कानुन परिवर्तनको संवाहक भएको बताएकी छन् ।

शनिबार बिराटनगरमा कानुन व्यवसायी महिलाहरूको ३१ औं राष्ट्रिय सम्मेलन  उद्घाटन गर्दै मल्लले उक्त कुरा बताएकी हुन् ।

उनले पुरुषको क्षमतामा कहिल्यै प्रश्न नउठ्ने तर महिलाका हरेक  पाइलामा प्रश्न उठ्ने गरेको बताउँदै महिलाहरू अझै अब्बल भएर नेतृत्वमा आउनुपर्ने बताइन् । ‘महिलाहरू आफ्ना मुद्दामा गम्भीर हुन जरुरी छ,’ उनले भनिन्, ‘सेल्फी लिएर, टिकटक बनाएर मात्रै अब हुन्न ।’

महिलालाई अघि ल्याउने हो भने अदालतमा पहिलो बहसको अवसर महिलाले गर्न पाउनु पर्ने उनको भनाइ छ । ‘महिलाले सक्दैनन् भन्ने भाष्य परिवर्तन हुँदै गएको छ,’ उनले भनिन् ।

न्यायालयमाथि पटक–पटक प्रश्न उठ्ने गरेको स्मरण गर्दै नियुक्ति राजनीतिक नै हुने भए पनि आफ्नो अब्बलता र दक्षता कामबाट देखाउनु पर्ने उनको भनाइ थियो । 

देशभरका अदालतमा धेरै महिला मेलमिलापमा संलग्न रहेको बताउँदै उनले  यसलाई अझ प्रभावशाली बनाउन जरुरी रहेको बताइन् ।  ‘महिला वकिलहरूको नेतृत्वमा  मेलमिलापको वातावरण बनाइदिनूस्, जसले न्याय सम्पादनमा सहज होस्,’ उनले भनिन् ।

बार र बेन्चबीच बेलाबेला असमझदारीहरू उत्पन्न हुने गरे पनि यी दुई निकायको सम्बन्ध ज्यादै अटुट रहेको पनि उनले बताइन् ।

दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरबाट ३ सय महिला कानुन व्यवसायीसहित एक हजार कानुन व्यवसायीको सहभागिता छ ।

कान्तिपुर

Link copied successfully