काठमाडौँ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका राम कुँवरले यो वर्ष बगानबाटै ९ लाख रूपैयाँमा सुन्तला बेचे । गत वर्ष उनले आफैंले बजारसम्म पुर्याएर बेच्दा ११ लाख रूपैयाँ आम्दानी भएको थियो । गत असोज १२ गतेको बाढीले तराई झर्ने फोक्सिङटारस्थित सुनकोसी नदीको पुल बगाएपछि सिधा यातायात नहुँदा यसपाला उनले बगानबाटै सुन्तला बेचे । याम्खामा बर्षेनी सुन्तला बेचेर लाखौं कमाउनेमा उनि एक्ला छैनन् ।
स्थानीय विवेक आचार्य, देवराज आचार्य, होमराज आचार्य, काजी खत्री, कवीन्द्र राई, गणेश घिमिरे, निरबहादुर बस्नेत, पम्फामाया कुँवर, छत्रकुमार राई सबैजसोले यसपाला लाखौँ रुपैयाँको सुन्तला बेचे ।
सुन्तला उत्पादक किसानहरूको अनुमान छ, यसपाला वडा नम्बर १ मा मात्रै सुन्तला बेचेर ५० लाख भन्दा बढी भित्रियो । कृषि शाखा प्रमुख एलबी मगरले यो वर्ष कतिको सुन्तला बिक्री भयो भन्ने विस्तृत विवरण नआइसकेको बताए ।
जिल्लाभित्र सुन्तला बेचेर लाखौँ कमाउने गाउँपालिकामा दिप्रुङ चुइचुम्मा गाउँपालिका एक्लो छैन । जन्तेढुङ्गा गाउँपालिकाका कृषक जगत् किरातीले पनि यहाँका वडा नम्बर ४, ५ र ६ का दर्जनौं गाउँले लाखौँको सुन्तला बेच्ने गरे पनि यसको यकिन हिसाब आफूहरूसँग नभएको बताए । उनले भने, ‘गत वर्ष पनि यो पालिकाबाट दुई करोड बढीको सुन्तला निकासी भएको थियो । यो वर्ष पनि पोहोरको जति नै निकासी हुन्छ ।’
रावाबेंसी गाउँपालिकाका अनुसार यो वर्ष यहाँ एक सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कृषि शाखा प्रमुख उद्धव बास्तोलाले यसबाट एक करोड चार लाख आम्दानी भएको बताए । उनले भने, ‘गत वर्ष एक सय २५ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष एक सय ३० मेट्रिक टन सुन्तला उत्पादन भयो ।’
हलेसी तुवाचुङ नगरपालिका यो वर्ष दुई सय ४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यसबाट प्रतिकेजी एक सय रुपैयाँका दरले दुई करोड चार लाख रूपैयाँ आएको कृषि शाखा प्रमुख रवीन भट्टराईले बताए ।
नगरपालिकाका हलेसी गैरीगुठ, सल्ले, राजा पानी, दुर्छिम लगायतका एक सय २० घर किसानले वार्षिक डेढ/दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेको भट्टराईले बताए । ‘गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादन बढ्यो,’ भट्टराईले भने, ‘गत वर्ष एक सय ८५ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष दुई सय ४ मेट्रिक टन उत्पादन भयो ।’
कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीका अनुसार ऐसेलुखर्क गाउँपालिकामा यो वर्ष तीस मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गाउँपालिकाको वडा नं ५ महेश्वरी, ६ ज्यामिरे र ७ माक्पामा फलेको सुन्तलाबाट २४ लाख आम्दानी भएको उनले बताए ।
