'तमोरको मुहान हरेक वर्ष १०/२० देखि ५०/६० मिटरसम्म दायाँबायाँ सर्ने गरेको छ । अहिलेसम्म मुहानमा कोही पुगेको देखेको छैन। त्यहाँ ग्लेसियर हुन्छ भाँसिएर पुरिन सक्छ, त्यसैले जान सकिँदैन, परैबाट हेर्ने मात्रै हो ।'
ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा १० वर्षको हुँदा चीनको तिब्बत गएका थिए । बस्तीबाट पहिलो दिन मौवाटार पुगेर बसेका उनलाई घर छेउबाट बगेको खोला कहाँबाट आएको होला भन्ने उत्सुकता थियो ।
दिदीहरूसँग गएका उनले जति उकालो चढ्यो त्यति पर घर छेउको खोला देखेपछि दिदीहरुलाई यो कहाँबाट आएको भनेर बारम्बार सोधिरहे ।
पहिलो दिन मौवाटारमा बसेर दोस्रो दिन उकालो लागेका उनलाई डाँडामा पुगेपछि खोलो यहीँबाट सुरु भएको भनेर दिदीहरूले देखाइदिए । मूलमा हिउँ जमेको थियो । त्यसको तल अलिअलि पानी बग्दै थियो । उनलाई खोलो कसरी बन्छ भन्ने उत्सुकता भइरहृयो । तिब्बत पुगेर फर्किदा उनले त्यही खोलो सुरु भएको ठाउँदेखि घर छेउसम्मै हेरिरहे ।
३८ वर्षको उमेर पुग्दा उनले सयौं पटक यो बाटो भएर नेपाल–चीन ओहोर–दोहोर गरेका छन् । यहीँ खोलालाई दायाँबायाँ पारेर उकाली–ओराली गरिरहन्छन् । नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङनजिकै नेपाली भूमिबाट सुरु हुने तमोर नदी धनकुटाको मूलघाटनजिक सप्तकोशीमा मिसिन्छ ।
उद्गमस्थलबाट एक किलोमिटर हाराहारी तलबाट बिना पुल खोलो तर्न सकिँदैन । तर, यसको मुहान भने हरेक वर्षजसो फेरिइरहन्छ । छेतेनलाई बालाखैमा दिदीले देखाएको मुहान अहिले छैन । उनले आफू जान्ने हुँदा देखेको मुहानदेखि पनि पाँच/सात सय मिटर टाढा छ । हिमपहिरो र हिमनदीले मुहानै बद्लिदिने छेतेन बताउँछन् ।
यस्तै अनुभूति गरेका ओलाङचुङगोलाका नुपू शेर्पाका अनुसार हरेक वर्षजसो ‘ग्लेसियर’ बदलिन्छ । त्यही बदलिने ‘ग्लेसियर’ले मुहान पनि परिवर्तन गरिदिन्छ । ‘यसवर्षको मुहान अर्को वर्ष पूरै ठप्प पनि हुन्छ,’ उनले भने, ‘अर्कोवर्ष अर्को ठाउँबाट पानी सललल बग्छ र त्यसैलाई मुहान मानिन्छ ।’
हिउँदमा खात भएर बसेको हिउँ कहिले पानी बनेर बहने त कहिले पहिरो भएर झर्ने गरेको छ । पहिरो झर्दा ढुङ्गा, माटो, गेग्रानसहित झरेको स्थानीयले देखेका छन् । ‘बर्खामा त मुहानमा पनि पानी नै बगेको देखिन्छ,’ नुपूले थपे, ‘हिउँदमा पहाडदेखि जमिनको भूमि टम्म जमेको हुन्छ, त्यही जमेको भागको भित्रबाट पानी बहन्छ र तलतिर मात्रै देखिन्छ, हामीले त्यसैलाई मुहान भन्ने गरेका छौं ।’
नुपूका अनुसार हरेक वर्ष १०/२० देखि ५०/६० मिटरसम्म मुहान दायाँबायाँ सर्ने गरेको छ । तमोर नदीको मुहानमा जान कठिन हुन्छ । ‘अहिलेसम्म मुहानमा कोही पुगेको देखेको छैन,’ नुपूले थपे, ‘त्यहाँ ग्लेसियर हुन्छ भाँसिएर पुरिन सक्छ, त्यसैले जान सकिँदैन, परैबाट हेर्ने मात्रै हो ।’
मुहान मौवाटारको माथिल्लो भागमा रहेको छ । नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङ जाने पैदल र मोटरबाटोको दायाँपट्टि मुहान रहेको छ । ‘मुहानकै फेदमा त तमोर नदी सानो खोला जस्तै सलल छ,’ नुपूले थपे, ‘मौवाटारदेखि चाँही बिना पुल तर्न सकिँदैन ।’ यसरी सुरु हुने नदी तर्नका लागि ताप्लेजुङको मौवाटारदेखि धनकुटाको माझीटारसम्म दर्जनौं झेलुङ्गेपुल छन् । यो क्षेत्रमा आधा दर्जन त मोटरेबल पुल नै निर्णमा गरिसकिएको छ ।
खोलामा आउने बाढीले बेलाबेला मानवीय तथा भौतिक क्षति पुर्याउने गरेको छ । यसको पानीबाट ७३ मेगावाट विद्युत उत्पादन भइसकेको छ । तमोर नदी र यसमा मिसिने खोलाबाट समेत गरी १७ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।
तमोर जलाशय ७ सय ६२ (अध्ययन भएको), तमोर मेवा १ सय २५, अपर तमोर २ सय ८५, तमोर फाइभ ३७, सुपर तमोर १ सय ६६, अपर तमोर ‘ए’ ६० र तमोर खोला जलविद्युत आयोजना ४३ मेगावाट (निर्माण अनुमति पाएका) आयोजना हुन् ।
७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । तमोर मेवा जलविद्युत उत्पादन गर्ने स्पार्क हाइड्रो पावर कम्पनीका अध्यक्ष भानेन्द्र लिम्बू तमोर नदीमा अध्ययन हुन बाँकी समेत गर्दा १७ सयको हाराहारीमा विद्युत उत्पादन गर्न सकिने बताउँछन् । तमोर करिडोरमा जोडिने रेमिट हाइड्रो ७७.५ र सिम्बुवा रेमिट ७०.३ मेगावाटका जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा छन् ।
तमोरले मुहान परिवर्तन गरिरहेको विषयमा भने स्थानीय कमै जानकार छन् । नेपाली हिमाल, हिम नदी र हिमालमा जम्मा भएको हिउँबाट सुरु भएको तमोर नदीको मुहानको नाम भने स्थानीयले अहिलेसम्म पहिचान गर्न र राख्न सकेका छैनन् । जताबाट सुरु भए पनि तमोरको मुहान भन्ने गरेको बताउने छेतेन यसरी सुरु हुने ठाउँको नाम राखेर साद्धे पनि नभएको बताउँछन् । सधैं देखिरहेकाले नदीको मुहान परिवर्तन उनीहरुका लागि अनौठो पनि लागेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेल पानी र हिउँ पर्ने क्रम घटबढ हुँदै गइरहेकाले नदीको मुहान फेरिँदै गएको हुनसक्ने बताउँछन् । ‘यस विषयमा पहिले सुनेको थिएन । त्यहाँ वन–जंगल पनि छैन, मानवीय क्रियाकलाप पनि पक्कै हुँदैन । बाहृैमास बहने पानीको मूलमा पानी र हिउँ पर्ने मात्राले यस्तो भएको हुनसक्छ,’ उनले भने ।
जलवायु विज्ञ सुदीप सिंह ठकुरी तमोर क्षेत्रमा हिम नदीको अवस्था र क्षेत्रफल घटेकाले यस्तो भएको हुनसक्ने बताउँछन् । ‘त्यहाँको हिम नदीको अवस्था र क्षेत्रफल १५ प्रतिशतले घटेको छ,’ उनले भने, ‘ठूल्ठूला खोलाको ठ्याक्कै मुहानको अवस्था भन्न सकिदैन, हिम नदी र हिउँ पर्ने अवस्थामा भएको परिवर्तनले यस्तो भएको हुनसक्छ । त्यहाँ चट्टान भएको ठाउँ छ हिउँ बरफहरू पग्लेर आएको पानी हो त्यसैले फरक परेको हुनसक्छ ।’
मध्य तमोर जलविद्युत आयोजनाका वातावरणविद् अरविन्द श्रेष्ठ नेपालमा हरेक वर्ष तापक्रम बृद्धि भइरहेको र नदीको स्रोत ग्लेसियर भएकाले मुहान सरेको हुनसक्ने बताउँछन् । ‘पानीको सोर्स ग्लेसियर हो । त्यो माथि सर्दै जाने भएका कारण नदीको मुहान सर्दै गएको हुनसक्छ,’ उनले भने ।
