वर्षेनि फेरिन्छ तमोरको मुहान

'तमोरको मुहान हरेक वर्ष १०/२० देखि ५०/६० मिटरसम्म दायाँबायाँ सर्ने गरेको छ । अहिलेसम्म मुहानमा कोही पुगेको देखेको छैन। त्यहाँ ग्लेसियर हुन्छ भाँसिएर पुरिन सक्छ, त्यसैले जान सकिँदैन, परैबाट हेर्ने मात्रै हो ।'

पुस ११, २०८१

आनन्द गौतम

The spring of Tamor changes every year

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा १० वर्षको हुँदा चीनको तिब्बत गएका थिए । बस्तीबाट पहिलो दिन मौवाटार पुगेर बसेका उनलाई घर छेउबाट बगेको खोला कहाँबाट आएको होला भन्ने उत्सुकता थियो ।

दिदीहरूसँग गएका उनले जति उकालो चढ्यो त्यति पर घर छेउको खोला देखेपछि दिदीहरुलाई यो कहाँबाट आएको भनेर बारम्बार सोधिरहे ।

पहिलो दिन मौवाटारमा बसेर दोस्रो दिन उकालो लागेका उनलाई डाँडामा पुगेपछि खोलो यहीँबाट सुरु भएको भनेर दिदीहरूले देखाइदिए । मूलमा हिउँ जमेको थियो । त्यसको तल अलिअलि पानी बग्दै थियो । उनलाई खोलो कसरी बन्छ भन्ने उत्सुकता भइरहृयो । तिब्बत पुगेर फर्किदा उनले त्यही खोलो सुरु भएको ठाउँदेखि घर छेउसम्मै हेरिरहे ।

३८ वर्षको उमेर पुग्दा उनले सयौं पटक यो बाटो भएर नेपाल–चीन ओहोर–दोहोर गरेका छन् । यहीँ खोलालाई दायाँबायाँ पारेर उकाली–ओराली गरिरहन्छन् । नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङनजिकै नेपाली भूमिबाट सुरु हुने तमोर नदी धनकुटाको मूलघाटनजिक सप्तकोशीमा मिसिन्छ ।

उद्गमस्थलबाट एक किलोमिटर हाराहारी तलबाट बिना पुल खोलो तर्न सकिँदैन । तर, यसको मुहान भने हरेक वर्षजसो फेरिइरहन्छ । छेतेनलाई बालाखैमा दिदीले देखाएको मुहान अहिले छैन । उनले आफू जान्ने हुँदा देखेको मुहानदेखि पनि पाँच/सात सय मिटर टाढा छ । हिमपहिरो र हिमनदीले मुहानै बद्लिदिने छेतेन बताउँछन् ।

यस्तै अनुभूति गरेका ओलाङचुङगोलाका नुपू शेर्पाका अनुसार हरेक वर्षजसो ‘ग्लेसियर’ बदलिन्छ । त्यही बदलिने ‘ग्लेसियर’ले मुहान पनि परिवर्तन गरिदिन्छ । ‘यसवर्षको मुहान अर्को वर्ष पूरै ठप्प पनि हुन्छ,’ उनले भने, ‘अर्कोवर्ष अर्को ठाउँबाट पानी सललल बग्छ र त्यसैलाई मुहान मानिन्छ ।’

हिउँदमा खात भएर बसेको हिउँ कहिले पानी बनेर बहने त कहिले पहिरो भएर झर्ने गरेको छ । पहिरो झर्दा ढुङ्गा, माटो, गेग्रानसहित झरेको स्थानीयले देखेका छन् । ‘बर्खामा त मुहानमा पनि पानी नै बगेको देखिन्छ,’ नुपूले थपे, ‘हिउँदमा पहाडदेखि जमिनको भूमि टम्म जमेको हुन्छ, त्यही जमेको भागको भित्रबाट पानी बहन्छ र तलतिर मात्रै देखिन्छ, हामीले त्यसैलाई मुहान भन्ने गरेका छौं ।’

नुपूका अनुसार हरेक वर्ष १०/२० देखि ५०/६० मिटरसम्म मुहान दायाँबायाँ सर्ने गरेको छ । तमोर नदीको मुहानमा जान कठिन हुन्छ । ‘अहिलेसम्म मुहानमा कोही पुगेको देखेको छैन,’ नुपूले थपे, ‘त्यहाँ ग्लेसियर हुन्छ भाँसिएर पुरिन सक्छ, त्यसैले जान सकिँदैन, परैबाट हेर्ने मात्रै हो ।’

मुहान मौवाटारको माथिल्लो भागमा रहेको छ । नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङ जाने पैदल र मोटरबाटोको दायाँपट्टि मुहान रहेको छ । ‘मुहानकै फेदमा त तमोर नदी सानो खोला जस्तै सलल छ,’ नुपूले थपे, ‘मौवाटारदेखि चाँही बिना पुल तर्न सकिँदैन ।’ यसरी सुरु हुने नदी तर्नका लागि ताप्लेजुङको मौवाटारदेखि धनकुटाको माझीटारसम्म दर्जनौं झेलुङ्गेपुल छन् । यो क्षेत्रमा आधा दर्जन त मोटरेबल पुल नै निर्णमा गरिसकिएको छ ।

खोलामा आउने बाढीले बेलाबेला मानवीय तथा भौतिक क्षति पुर्‍याउने गरेको छ । यसको पानीबाट ७३ मेगावाट विद्युत उत्पादन भइसकेको छ । तमोर नदी र यसमा मिसिने खोलाबाट समेत गरी १७ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । 

तमोर जलाशय ७ सय ६२ (अध्ययन भएको), तमोर मेवा १ सय २५, अपर तमोर २ सय ८५, तमोर फाइभ ३७, सुपर तमोर १ सय ६६, अपर तमोर ‘ए’ ६० र तमोर खोला जलविद्युत आयोजना ४३ मेगावाट (निर्माण अनुमति पाएका) आयोजना हुन् ।

७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । तमोर मेवा जलविद्युत उत्पादन गर्ने स्पार्क हाइड्रो पावर कम्पनीका अध्यक्ष भानेन्द्र लिम्बू तमोर नदीमा अध्ययन हुन बाँकी समेत गर्दा १७ सयको हाराहारीमा विद्युत उत्पादन गर्न सकिने बताउँछन् । तमोर करिडोरमा जोडिने रेमिट हाइड्रो ७७.५ र सिम्बुवा रेमिट ७०.३ मेगावाटका जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा छन् ।

तमोरले मुहान परिवर्तन गरिरहेको विषयमा भने स्थानीय कमै जानकार छन् । नेपाली हिमाल, हिम नदी र हिमालमा जम्मा भएको हिउँबाट सुरु भएको तमोर नदीको मुहानको नाम भने स्थानीयले अहिलेसम्म पहिचान गर्न र राख्न सकेका छैनन् । जताबाट सुरु भए पनि तमोरको मुहान भन्ने गरेको बताउने छेतेन यसरी सुरु हुने ठाउँको नाम राखेर साद्धे पनि नभएको बताउँछन् । सधैं देखिरहेकाले नदीको मुहान परिवर्तन उनीहरुका लागि अनौठो पनि लागेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेल पानी र हिउँ पर्ने क्रम घटबढ हुँदै गइरहेकाले नदीको मुहान फेरिँदै गएको हुनसक्ने बताउँछन् । ‘यस विषयमा पहिले सुनेको थिएन । त्यहाँ वन–जंगल पनि छैन, मानवीय क्रियाकलाप पनि पक्कै हुँदैन । बाहृैमास बहने पानीको मूलमा पानी र हिउँ पर्ने मात्राले यस्तो भएको हुनसक्छ,’ उनले भने ।

जलवायु विज्ञ सुदीप सिंह ठकुरी तमोर क्षेत्रमा हिम नदीको अवस्था र क्षेत्रफल घटेकाले यस्तो भएको हुनसक्ने बताउँछन् । ‘त्यहाँको हिम नदीको अवस्था र क्षेत्रफल १५ प्रतिशतले घटेको छ,’ उनले भने, ‘ठूल्ठूला खोलाको ठ्याक्कै मुहानको अवस्था भन्न सकिदैन, हिम नदी र हिउँ पर्ने अवस्थामा भएको परिवर्तनले यस्तो भएको हुनसक्छ । त्यहाँ चट्टान भएको ठाउँ छ हिउँ बरफहरू पग्लेर आएको पानी हो त्यसैले फरक परेको हुनसक्छ ।’

मध्य तमोर जलविद्युत आयोजनाका वातावरणविद् अरविन्द श्रेष्ठ नेपालमा हरेक वर्ष तापक्रम बृद्धि भइरहेको र नदीको स्रोत ग्लेसियर भएकाले मुहान सरेको हुनसक्ने बताउँछन् । ‘पानीको सोर्स ग्लेसियर हो । त्यो माथि सर्दै जाने भएका कारण नदीको मुहान सर्दै गएको हुनसक्छ,’ उनले भने ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully