खोटाङ — दस करोडभन्दा धेरै लागतमा बन्न लागेको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा निर्माणाधीन ‘लोकतान्त्रिक सिँचाइ कुलो योजना’ को काम फेरि रोकिएको छ । पछिल्लो पटक काम थालिएको एक सातापछि काम रोकिएको हो । यसपालि स्थानीयले कार्ययोजनाअनुसार काम नभएको भन्दै काम रोकेका हुन् ।
२०७६ असार २३ मा स्काइ–विवश–रामसागर जेभीले २०७८ पुस २३ गतेसम्म सक्ने गरी कोसी प्रदेश सरकारको खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्झौता गरेर निर्माण सुरु गरेको थियो । तर काम सुरु भएपछि बारम्बार विवाद भएपछि निर्माणको अवधि मात्रै सकिएको छैन, कम्पनीले बारम्बार म्याद थपिरहेको छ ।
गत मंसिर ७ मा पनि कुलो निर्माणमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको थियो । त्यतिबेला स्थानीय, जनप्रतिनिधि र निर्माण कम्पनीको छलफलपछि यसको काम पुस ७ गतेबाट सुरु गरिएको थियो । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले भने, ‘स्टिमेट विपरीत भएकाले स्थानीयले काम रोकेका छन् ।’ स्थानीयले कुलोमा राखिएका सबै पाइप पुर्नुपर्ने बताएका छन् भने निर्माण कम्पनीले त्यस्तो गर्न सम्भव नरहेको बताउँदै आएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि सागर लुईंटेलले स्थानीयको मागबमोजिम काम अगाडि बढाउन सम्भव नभएको बताए । उनले भने, ‘पहाडजस्तो ठाउँमा सबै पाइप पुरेर सम्भव छैन, कही अग्लो, कही होचो ठाउँ छ । त्यसैले स्थानीयले भनेअनुसार गर्न सम्भव छैन ।’
सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर महेश यादवले स्थानीयको अवरोधले योजनाको काम गर्न नसकेको भन्दै पटक–पटक म्याद थप हुँदै आएको बताए । समयमै काम नसकेपछि २०७९ असार २३ मा २०८० असार २१ गतेसम्म सक्ने गरी म्याद थपिएको र पछिल्लो पटक २०८१ चैत १६ गतेसम्मका लागि म्याद थप भएको उनले बताए । बारम्बार म्याद थप्दा यसको लागत १० करोड ९ लाख १३ हजार पुगेको छ । यादवले भने, ‘बारम्बार म्याद थपे पनि आयोजनाको भौतिक प्रगति ७० र आर्थिक प्रगति ६८ दशमलव ६७ प्रतिशत भएको छ ।’ उनले अब पनि समयमा काम नसके म्याद थप्नतिर नलागी कानुनी प्रक्रियामा जाने पनि बताए ।
