६ वर्षदेखि सिमानामा थन्किएको ह्युमपाइप बल्ल ओसारियो 

चीनको टिप्तालासम्म नियमित यातायात सञ्चालनको प्रयास

पुस ८, २०८१

आनन्द गौतम

The hump pipe, which has been stuck on the border for 6 years, was barely moved

ताप्लेजुङ — नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङदेखि फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाको बस्तीसम्म सडकको ट्रयाक खोलिएपछि सिजेम खोलामा दुई वटा ह्युमपाइप राखियो । २०७३ मा एउटा हृयुम पाइप राख्दा दुई लाखका दरले खर्च भयो ।

ठाडा खोला र ह्युमपाइपको आवश्यकता देखेर चीनले साना र ठूला गरी २१ वटा ह्युमपाइप निशुल्क दियो । चीनबाट ट्रकमा राखेर ल्याइएका पाइप नेपाली भूभागमा ल्याएर झारिदियो । सन् १९१९ अगस्टमा ल्याएका ती पाइप बल्ल उपयोगमा आउने भएका छन् । 

मानिसले बोक्न नसक्ने उठाउन र ट्याक्टरमा राख्न मेसिन नै लाग्ने भएकाले ह्युमपाइप लामो समय नाकामै थन्किएका हुन् । फक्ताङलुङ–७ ओलाङचुङगोला कार्यक्षेत्र रहेको १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाले अहिले सडक स्तरोन्नति र खोलासम्म ह्युमपाइप ओसार्ने काम गरिदिएको छ । 

सुपर तमोर आयोजनाका प्रमुख जितेन्द्र श्रेष्ठ आफ्नो कार्यक्षेत्र पनि भएको र वडा कार्यालयको पनि अनुरोध भएपछि सडक स्तरोन्नति र ह्युमपाइप ओसार्ने काम गरेको बताए । सुकेपानीबाट सडक स्तरोन्नति गर्दै गएको एक्स्काभेटरले ह्युमपाइप ट्याक्टरमा राखेर ओसारिएको हो । त्यसले ओलाङचुङगोलाको बस्ती हुँदै खोलासम्म झारेको वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् । 

छेतेनका अनुसार तीन मिटर लम्बाइ र एक मिटर गोलाइको ८ वटा पाइप छन् । डेढ मिटर लम्बाइ र एक मिटर गोलाकार १३ वटा छन् । तिनलाई सुकेपानी, जोङगीन र याङमा–ओलाङचुङगोला छुट्टिने दोबाटोमा राख्ने तयारी भएको उनले बताए । यी तीनवटै स्थानमा तमोर नदी पर्छ । खोलामा राख्नका लागि सडक कार्यालय, गाउँपालिकाको प्राविधिकलाई अनुरोध गर्ने, मेसिन चालक र स्थानीय खटिने योजना छ । सबैभन्दा बढी आवश्यकता सुकेपानीमा भएकाले त्यहाँबाट सुरु गर्ने तयारीमा रहेको छेतेन बताउँछन् । 

उत्तर दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख सिंहबहादुर विष्टले तत्काल यातायात सञ्चालनका लागि ह्युमपाइप राख्ने तर दिगो यातायातका लागि यसै आर्थिक वर्षमा बेलिब्रिज बनाउने बताए । ‘यो आर्थिक वर्षमा सुकेपानी र जोङगिनमा बेलिब्रिज बनाउने तयारी छ,’ उनले भने, ‘अहिले ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज निकालेर यहाँ लगाउँछौँ ।’ यसका लागि यसैसाता टेन्डर आह्वान गर्ने तयारीमा कार्यालय रहेको उनले बताए । काबेलीमा अर्को पुल बनेर सञ्चालनमा आइसकेको र अहिले रहेको बेलिब्रिजको पिलरको समयावधि सकिएकाले त्यसलाई निकाल्न लागिएको कार्यालयले जनाएको छ । 

यसै आर्थिक वर्षमा सक्ने गरी सुकेपानी र जोङगिनमा पुल बनाए टिपताला भञ्ज्याङसम्म बाह्रै महिना यातायात चलाउन सकिने दाबी कार्यालयको छ ।  खोलामा पानी बढ्न थालेपछि ह्युमपाइप तत्काल निकालिने छेतेन बताउँछन् । ‘उपहार दिएको यस्तो राम्रो ह्युमपाइप बगाउन त दिनु भएन नि,’ उनले भने, ‘अहिले पानी सानो भएकाले तीन ठाउँमा लगाउने र जेठमा उठाउने हाम्रो योजना हो ।’ त्यसअघि नै बेलिब्रिज बने अगाडि नै उठाउने उनीहरूको योजना छ । यी दुईठाउँमा बेलिब्रिज बने ह्युमपाइप दोबाटो र ओलाङचुङगोलाभन्दा माथिका खोलामा लगाउने तयारीमा वडा कार्यालय छ । ‘यसो गरेपछि चाहिँ साच्चै बाह्रै महिना पनि चल्न सक्छ,’ ओलाङचुङगोलाका स्थानीय तेञ्जिङ शेर्पाले भने । 

ह्युमपाइप राखेर अर्को सातादेखि यातायात चल्न सक्ने गोलाका स्थानीय बासिन्दाको अनुमान छ । अहिले ट्याक्टरसहितका साना सवारी (जिप, ट्याक्सी) खोलो तारेर जोङगिनसम्म पुग्छन् । मानिसहरू त्यहाँसम्म गाडीमा जाने र पैदल हिँड्ने गरेका छन् । यहाँबाट ओलाङचुङगोलाको बस्ती पुग्न एकदेखि दुई घण्टासम्म पैदल हिँड्नु पर्छ । ओलाङचुङगोलाबाट टिप्ताला भञ्ज्याङको दूरी भने २२ किलोमिटर रहेको छ । ५३ सय मिटर उचाइमा भएकाले हिँडेर जाँदा दुई दिन लाग्छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully