खोटाङ — रावाबेसी गाउँपालिका–१ कुभिण्डेका दुई विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ । दम्कुस्थित कालिका आधारभूत विद्यालय र हाँचेकास्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडो छल्न न्याना ज्याकेट वितरण गरिएको हो ।
कालिका आधारभूत विद्यालयमा कक्षा ५, ६ र ७ मा अध्ययनरत १७ विद्यार्थीलाई आइतबार र रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ४१ विद्यार्थीलाई शनिबार ज्याकेट वितरण गरिएको हो ।
एमाले पोलिटब्युरो सदस्य तथा संविधासभा सदस्य विशाल भट्टराईको पहल तथा सोच नेपाल गैरसरकारी संस्थाको सहयोगमा ज्याकेट वितरण गरिएको भट्टराईले बताए । ‘जाडोका बेला सोच नेपालले ज्याकेट उपलब्ध गरायो, त्यही ज्याकेट ल्याएर दुई विद्यालयका विद्यार्थीलाई वितरण गरियो,’ भट्टराईले भने ।
आइतबार भट्टराईसहित एमाले कोशी प्रदेश उपसचिव देवान राई लगायतको उपस्थितिमा ज्याकेट वितरण गरिएको हो । शनिबार एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सल्लाहकार सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य विणादेवी राई, प्रदेश सदस्य सुनिल राई, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, उपाध्यक्ष कुमार आचार्य लगायत नेता/कार्यकर्ताको उपस्थितिमा ज्याकेट वितरण गरिएको भट्टराईले बताए ।
