खोटाङ — रसुवा–पान्धारे सडक कालोपत्र सुरु भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार औपचारिक रूपमा सुरु गरेका हुन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको यो योजनाअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेको रसुवाघाटदेखि उक्त गाउँपालिकाकै वडा नं ८ सिम्पानीसम्मको १५ किलोमिटर सडक कालोपत्र हुने खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताएका छन् ।
४६ करोड ७५ लाख ९८ हजार छ सय ५७ रूपैयाँको लागतमा कालोपत्र सम्पन्न गर्ने गरी याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीले ठेक्का लिएको छ । निर्माण कम्पनीले २०८४ साउन ६ गतेभित्र सक्ने गरी ०८१ साउन ७ गते पूर्वाधार विकास कार्यालय उदयपुरसँग सम्झौता गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री राईले गुणस्तरीय र सम्झौतामा उल्लेखित समयमै काम सक्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । उनले रसुवामा स्टेसन निर्माण गर्नका लागि समेत निर्देशन दिए । ‘निर्माण कम्पनीले गुणस्तरीय र संझौतामा उल्लेखित समयमै काम सक्नु पर्छ,’ राईले भने, ‘यसका साथै रसुवामा यातायात स्टेसन पनि बनाउनु पर्छ ।’
कार्यक्रममा खोटेहाङ गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष रूपेश राई, बाराहापोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जरा, केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राई लगायत स्थानीय तहका जनप्रतिनिधि, सर्वसाधारण लगायतको उपस्थिति थियो ।
