मझुवागढीमा पुरातत्व विभागले निर्माण गरेको संरचना मापदण्ड विपरीत

पुस ५, २०८१

डम्बरसिं राई

The structure constructed by the Department of Archeology at Majhuwagadi is against the standards

खोटाङ — ऐतिहासिक मझुवागढीमा पुरातत्व विभागको बजेटबाट निर्माण गरिएको पदमार्गको सिंढी मापदण्ड विपरीत भएको भन्दै किरात संस्कृतिविद्हरूले आलोचना गरेका छन् ।

पुरातत्व विभागको बजेटबाट निर्माण गरिएको पदमार्गको सिंढी सिमेन्ट प्रयोग गरेर बनाइएको भन्दै त्यसलाई भत्काएर मापदण्ड अनुसार पुनःनिर्माण गर्नु पर्ने किरात संस्कृतिविद्हरूले गुनासो गरेका हुन् ।

मझुवागढी संरक्षण समितिले आयोजना गरेको सर्वपक्षीय–सर्वदलीय भेलामा पुरातत्व विभागकै बजेटबाट कालिका भगवतीदेखि मझुवागढीसम्म जाने पदमार्गको सिंढीमा सिमेन्ट प्रयोग गरिएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नु पर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसन राईले बताए ।

‘पुरातत्व विभागले बनाएको सिंढीमा सिमेन्ट प्रयोग गरिएको छ, यसप्रति प्रमुख जिल्ला अधिकारी लगायत राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूको ध्यानाकर्षण होस्,' राईले भने ।

स्थानीय निर्मल राईले किराती समुदायलाई हेपेर जबरजस्त मापदण्ड विपरीत मझुवागढीको अस्तित्व नै संकटमा पर्ने गरी संरचना बनाइएको गुनासो गरेका छन् । ‘किराती समुदायलाई हेपेर मझुवागढीमा विभिन्न संरचना बनाइएको छ,’ राईले भने, ‘हेपाहा प्रवृत्तिले गढीको अस्तित्व संकटमा परेको छ, यसप्रति सम्वन्धित निकायको ध्यान जानु पर्छ ।’

उक्त सिंढी निर्माणका लागि पुरातत्व विभागको आर्थिक वर्ष २०८०/०८१ मा १९ लाख ९७ हजार तीन सय ९२ रूपैयाँको लागत स्टिमेट भए पनि युनिक निर्माण सेवा खोटाङले ११ लाख ८४ हजार पाँच सय ६० रूपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का पारेर काम गरेको पुरातत्व विभाग योजना शाखाका अधिकृत पुरुषोत्तम आचार्यले बताए ।

डिटेल स्टिमेट, टेण्डर आह्वान र कार्य सम्पन्नपछि मुल्याङ्कन गरी भुक्तानी पनि पुरातत्व विभागले नै गरेको आचार्यले जनाए । ‘डिटेल स्टिमेट, टेण्डर आह्वान, कार्य सम्पन्नपछि त्यसको मुल्याङ्कन पनि पुरातत्व विभागकै इन्जिनियरले गरेपछि भुक्तानी भएको हो,’ आचार्यले भने, ‘गुणस्तरही भएकोसम्वन्धमा सम्वन्धित इन्जिनियरसंग बुझ्छु ।’

भेलाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सरोकारवालाहरूले मझुवागढी क्षेत्रमा मापदण्ड विपरीत विभिन्न संरचना निर्माणले गढीको अस्तित्व संकटमा परेको गुनासो गरेका छन् । मेवाखोला दोभान साप्सु कालिका देविथान लिफ्टिङ खानेपानी योजनाको ट्याङ्की गढीको बङ्करभित्रै बनाइएको, सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीको क्षेत्र अतिक्रमण गरेको र पुरातत्व विभागले निर्माण गरेको कङ्क्रिटको सिंढीले मझुवागढीको अस्तित्व संकटमा परेको गुनासो गरेका हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully