नगर प्रमुख साम्पाङ र उनका समर्थकको धम्कीविरुद्ध प्रशासनको ध्यानाकर्षण

मंसिर २५, २०८१

अर्जुन सुवेदी

The attention of the administration against the threats of city chief Sampang and his supporters

सुनसरी — धरानका नगर प्रमुख हर्क साम्पाङ र उनका समर्थकले पत्रकारलाई दिएको धम्कीका विरुद्ध यहाँका पत्रकारहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् । 

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाइमा पत्रकार हर्ष सुब्बा, महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पाँचथर अध्यक्ष गिरिराज बाँस्कोटा र तेह्रथुम अध्यक्ष अमृत बास्तोलाले धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र स्वतन्त्रतापूर्वक बोल्न र लेख्न पाउने मौलिक हक प्रदान गरेको भए पनि मेयर साम्पाङले पत्रकारिताको अन्त्य गरिदिने, नेपालमै बस्न नसक्ने बनाइदिने भन्दै पत्रकारलाई बहिष्कार गर्न आह्वान गर्दै आएको भन्दै ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्र बुझ्दै कार्यालय प्रमुख रेग्मीले सबैका लागि कानुन बराबर भएकाले कानुन अनुसार आफ्नो तहबाट प्रक्रिया अघि बढाउने बताए । 

यसअघि  शनिबार सुनसरीका पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका थिए । समाचार लेखेकै कारण साम्पाङले सामाजिक सञ्जालमार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएका हुन् । मौन जुलुसमा सहभागी पत्रकारहरूले नगर प्रमुख साम्पाङले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै विरोध गरेका थिए ।

अर्जुन

Link copied successfully