झापा — बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुव शिवाकोटीलाई बलात्कार अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । घरेलु कामदार किशोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको जाहेरीका आधारमा शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार पक्राउ गरेको हो ।
१७ वर्षीया किशोरीलाई शिवाकोटीले लामो समयदेखि जबरजस्ती करणी गरेको प्रहरीसँग उनले गरेको बयानबाट खुलेको छ । पीडित किशोरीले करिब ८ वर्षदेखि शिवाकोटीको घरमा काम गर्दै आएकी थिइन् ।
बुवाको मृत्यु भएपछि आमाले दोस्रो बिहे गरी भारतको असम गएपछि किशोरी बिर्तामोडस्थित आफन्तको घरमा बस्दै आएकी थिइन् । पूर्वनगरप्रमुख शिवाकोटीले ‘नातिको साथी’ हुने अनि स्कुल पनि पढाइदिने भनेर किशोरीलाई घरमा काम गर्न लगेको बताएका छन् ।
११ कक्षामा पढ्दै गरेकी उनी सोमबार बिहानै स्कुल पोसाकमै भारततिर जाँदै थिइन् । त्यही क्रममा चेलीबेटी बेखबिखन नियन्त्रणका लागि सीमामा तैनाथ आफन्त नेपालका कर्मचारीले उनलाई बाहिरिनबाट रोकेका थिए ।
आफन्त नेपालका एक कर्मचारीका अनुसार किशोरीलाई नाकामा रोकेर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको थियो । त्यही क्रममा प्रहरीले सोधपुछ गर्दा उनले शिवाकोटीका कर्तुत सार्वजनिक गरेकी थिइन् । ‘प्रहरीको सहयोगमा घर पठाउन खोज्दा नमानेपछि उनीमाथिको यौन उत्पीडनको रहस्य खुलेको थियो,’ ती कर्मचारीले भने ।
प्रहरीले पूर्वनगरप्रमुख शिवाकोटोलीलाई किशोरीलाई लिन आउन कार्यालयमै बोलाएको थियो । त्यही क्रममा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको र जाहेरी पनि बिर्तामोड प्रहरीमै दिइएको गुरुङले जनाए ।
