विराटनगर — मोरङमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरमा ना७ ख ३२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ वर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ।
यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोलामा को १ ख ३४८० नम्बरको ट्रकले मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ वर्षीय पैदलयात्री मान बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । घाइते लिम्बूको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
