खोटाङ — मझुवागढीमाथिको अतिक्रमणले गढीको अस्तित्व संकटमा पर्दै गएको सरोकारवालाले गुनासो गरेका छन् ।
मझुवागढी संरक्षण समितिले बुधबार आयोजना गरेको सर्वदलीय–सर्वपक्षीय छलफलका सहभागीहरूले खानेपानी आयोजना, सशस्त्र प्रहरी बल लगायतले अतिक्रमण गर्दा गढीको अस्तित्व संकटमा परेको गुनासो गरेका हुन् । किरात ऐतिहासिक मझुवागढीमा रहेको चुला भाँचिएपछि त्यससम्बन्धी छलफल गर्न आयोजना गरिएको भेलाका सहभागीहरूले मेवाखोला दोभान साप्सु कालिका देवीथान लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी गढीकै बंकरभित्र बनाइएको, सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीको जग्गा अतिक्रमण गरेको लगायतका गुनासो गरेका छन् ।
छलफलमा एमाले अध्यक्ष देवविक्रम राईले खानेपानी ट्यांकी निर्माणले मझुवागढीको अस्तित्व संकटमा पारेकाले अन्यत्र सार्नपर्ने बताए । ‘मझुवागढीको बंकरभित्रै पानीको ट्यांकी बनाइएको छ, पाइप पनि बंकरमै राखिएको छ,’ राईले भने, ‘विकास निर्माण गर्दा ऐतिहासिक तथा पुरातात्विक चिजहरू जोगाउनु पर्छ भन्ने थाहा हुनु पर्ने हो ।’
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डेले मझुवागढी संरक्षण नभएकोप्रति दुःख व्यक्त गरे । गढी संरक्षणमा सबै पक्ष नलागे असम्भव रहेको उनले बताए । ‘गढी संरक्षणमा सबै पक्ष लाग्नु पर्छ,’ उनले भने, ‘राजनीतिक दल, प्रशासन, सुरक्षाकर्मी तथा किरात समुदाय स्वयम जागरुक हुनु पर्छ ।’
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका नेता आशिष थापाले मझुवागढी किराती समुदायको मात्र नभई सबै धर्म समुदायका भएकाले यसको संरक्षणमा जुट्नु पर्ने धारणा राखे ।
जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष निर्मल राईले राज्यको विभेदकारी व्यवहारले मझुवागढीको संरक्षणमा कठिनाई भएको बताए । नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्बा शेर्पाले मझुवागढी संरक्षणमा सम्बन्धित समुदाय तथा राज्यको भूमिका रहने बताए । ‘सिन्धुलीगढी पनि गढी नै हो त्यसको अवस्था अर्कै छ, तर मझुवागढीको अवस्था यस्तो छ,’ शेर्पाले भने, ‘यसको संरक्षण र विकासका लागि सम्बन्धित समुदाय र राज्यको भूमिका रहन्छ ।’
किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले किराती समुदायलाई हेपेर गढी अतिक्रमण गरेको आरोप लगाए । 'सहमतिविपरीत खानेपानी ट्यांकी बनाइयो,’ किरातले भने, ‘हेप्नुको पनि सीमा हुन्छ नि ? यसलाई सबै पक्षले बुझ्न जरुरी छ ।’
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सबै धर्म, संस्कृति, समान भएकाले यसको संरक्षणका लागि सबै जुट्नु पर्ने धारणा राखे । छलफलमा खानेपानी आयोजनाको पाइप ढुवानी गर्ने क्रममा अन्जानबस ऐतिहासिक मझुवागढीमा रहेको तीनमध्ये एउटा चुला भाँचिएको निष्कर्ष निकाल्दै त्यसलाई तत्काल पुनःनिर्माण गर्ने सहमति भएको छ । किरात संस्कृतिअनुसार चुला गाड्दा लाग्ने खर्च उक्त खानेपानी आयोजनाले ब्यहोर्ने सहमति भएको मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, ४ खाल्ले र ५ लफ्याङवासीलाई खानेपानी पुर्याउने उद्देश्यले संघीय सरकारको ५४ करोड ६७ लाख ९० हजार ७ सय १६ रूपैयाँ लागतमा २०८२ साउन २३ गतेभित्र सक्ने गरी मृत सन्जिवनी–सगरमाथा जेभीले लिएको हो ।
