दिक्तेल–काठमाडौं सिधा यातायात सञ्चालन

आश्विन २९, २०८१

डम्बरसिं राई

Diktel-Kathmandu direct transport operation

खोटाङ — मंगलबारदेखि दिक्तेल–काठमाडौं, काठमाडौं–दिक्तेल सिधा यातायात सञ्चालन भएको छ । सडक विभागले सिन्धुलीको नेपालथोकदेखि रोसीखोलासम्मको विभिन्न ठाउँमा बिग्रिएको सडक मर्मत गरेपछि ठूला सवारीसाधनले सिधा यातायात सेवा सुरु गरेका हुन् ।

खोटाङ यातायात प्रालिका महासचिव राम हिङ्माङका अनुसार मंगलबार खोटाङ यातायात, हिमाल तराई, सगरमाथा, तुवाचुङ मारतिका, नमस्ते भोजपुर लगायत कम्पनीहरूका ठूला तथा साना यातायात सवारीसाधन सुरु भएको हो । सडक भत्किनुअघिकै भाडा दर कायम गरी यातायात सेवा सुरु भएको छ ।

हिङ्माङका अनुसार दिक्तेल–काठमाडौं, काठमाडौं–दिक्तेलसम्मको बस भाडा १६ सय र जिप भाडा दुई हजार रूपैयाँ कायम गरी यातायात सञ्चालन गरिएको हो । ‘बाढीपहिरो जानुअघिकै भाडा कायम गरेर यातायात सेवा सुरु गरिएको छ,’ हिङ्माङले भने, ‘बस भाडा १६ सय र जिप भाडा दुई हजार कायम गरिएको छ ।’

सिन्धुलीको नेपालथोकदेखि रोसीखोलासम्मको करिब ८ किलोमिटर क्षेत्रमा विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्दा बसले तीन हजार र जिपले चार हजार भाडा लिने गरेको थियो ।

दिक्तेल–कटारी–बर्दिबास–पथलैया– मुग्लिन, थानकोट हुँदै काठमाडौंसम्मको यात्राका लागि बसमा तीन हजार र जिपमा चार हजार तिर्नु पर्ने वाध्यता थियो । अब भने बिपी राजमार्गको रुटबाट दिक्तेल–काठमाडौंसम्मको दुई सय ६५ किलोमिटरको दूरीमा सिधा यातायात सञ्चालन भएको छ । यसले दसैं मनाउन घर आउनेहरूका लागि सहज भएको छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully