खोटाङ — जिल्लाका अघिकांश ग्रामीण सडक बनेपछि सहज भएको छ । असोज १२ गतेसम्मको वर्षाले क्षतिग्रस्त सडकहरू स्थानीय तहहरूले मर्मत गरेपछि सहज भएको हो । खोटेहाङ गाउँपालिकामा वर्षाले बिग्रिएका अधिकांश ग्रामीण सडकहरू मर्मतपछि सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताएका छन् ।
खोटाङबजार–सिम्पानी–रसुवाबजार, ढन्मुडा–ठुलीबेसी–कालापानी–रसुवाबजार, खोटाङबजार–रातमाटा–सावाखोला, खोटाङबजार–बडकादियाले,सावाकट हरे–वाप्लुखा–लिकुवापोखरी, खोटाङबजार–बडकादियाले–चिमानेबगर–गणेश चौतारा–लिकुवापोखरी, खोटाङबजार–रोक्सिङ भन्ज्याङ–इन्द्रेणिपोखरी, सिम्पानी–रसुवाबजार, खोटाबजार–चिप्रिङ–टुवाखोला लगायतका मुख्य सडकहरू मर्मतपछि यातायात सञ्चालन गरिएको राईले बताए । ‘वर्षाले बिगारेका सडकहरू मर्मत गरी हिजोदेखि सञ्चालनमा ल्याएका छौं,’ राईले भने,‘अब भने यात्रा गर्न सहज भएको छ ।’
बाराहपोखरी गाउँपालिका गाउँपालिकाले पनि ग्रामीण सडकहरू मर्मतपछि सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष शालिकराम बन्जराका अनुसार तराईसँग जोड्ने धाप्लाङ–धर्तुङ–बाराहपोखरी सडकलगायतका ग्रामीण सडकहरू मर्मतपछि सञ्चालन गरिएको हो । पहिरोले अबरुद्ध धाप्लाङ–धर्तुङ–बाराहपोखरी सडक खण्डको राप्चाभिरमा गएको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । ‘सडक पनि मर्मत गरेपछि सञ्चालनमा आएको छ, यसले पनि यात्रामा सहज बनाएको छ,’बन्जराले भने ।
त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा वर्षाले बिग्रिएका सडकहरू मर्मत गरिएको छ । तराईसँग जोड्ने चिसापानी–बङ्सिलाघाट, चिसापानी–बाराहापोखरी, चिसापानी–खोटाङ बजारलगायतका सडक मर्मतपछि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष अरुणदेवी राईले बताइन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ग्रामीण सडकहरू मर्मतपछि सञ्चालनमा ल्याइएको छ । पञ्चमी–सापातेल–रेग्मीटार सडक, सदरमुकाम दिक्तेल जोड्ने पञ्चमी–याम्खा–साप्सुखोला सडक लगायतका सडक सहित ग्रामीण सडकहरू मर्मतपछि सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
साकेला गाउँपालिकामा पनि ग्रामीण सडक मर्मतपछि यात्रा सहज भएको गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले बताइन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा पनि ग्रामीण सडक मर्मत गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् ।
केपिलासगढी गाउँपालिकामा बाक्सिला–जालपा, बाक्सिला–फेदी, बाक्सिला–खार्तम्छा, बाक्सिला–बास्पानी लगायतका सडक मर्मतपछि सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । उक्त गाउँपालिकाको बाक्सिला–सुङ्देल सडक भने मर्मत गर्न बाँकी छ । ‘बाक्सिला–सुङ्देल सडक बाहेक गाउँपालिकाभित्रका सडकहरू मर्मत गरी सञ्चालनमा ल्याइएको छ,’ राईले भने,‘बाक्सिला–सुङ्देल सडक पनि छिट्टै नै मर्मतपछि सञ्चालनमा ल्याइने छ ।’
