किमाथांका नाका अनिश्चितकालका लागि बन्द

आश्विन १३, २०८१

पर्वत पोर्तेल

विराटनगर — अविरल वर्षासँगै छिमेकी चीनको चागामा पहिरो गएपछि नेपाल–चीन नाका अनिश्चितकालका लागि बन्द गरिएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तीन दिनयताको अविरल वर्षाका कारण चीनतिरको चागामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जसका कारण नेपाल–चीन जोड्ने किमाथांका नाका बन्द भएको हो । 

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पहिरोका कारण मान्छे आउजाउमा रोक लगाएको चीनतर्फको प्रशासनले जानकारी गराएको जनाए । ‘चीन प्रहरीले आइतबार जानकारी गराएको छ’, खापुङले भने,‘नाका खोल्नेबारे भने उसले प्रस्ट जनाएको छैन ।’ 

संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने सीमावर्ती नाका किमाथांका सदरमुकाम खाँदबारीबाट करिब ६० किलोमिटर टाढा छ । यो सीमानाकाका सर्वसाधारण किनमेलका लागि चीनतिर जाने गरेका थिए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully