पाँचथर — बुधबार साँझदेखिको झरीका कारण पहिरो जाँदा पाँचथरको पहाडी जिल्लाका धेरैजसो सडक अवरुद्ध भएका छन् ।
पाँचथरको राँके बजारबाट रवि हुँदै ६ नम्बर बुधबारे र भेडेटार जोड्ने सडक अवरुद्व भएको छ । पाँचथर र धनकुटा दुवैतर्फ पहिरो गएपछि यो सडक शुक्रबार अपराह्नदेखि पूर्णरुपमा अवरुद्व भएको हो । स्थानीयका अनुसार इलामको देउमाइ र पाँचथरको फाल्गुनन्दको सिमावर्ती गेली भन्ज्याङमा पहिरो खसेको छ ।
यस्तै धनकुटाको डाँडा बजार र पाँचथरको ६ नम्बर बुधबारेको बीचमा पहिरो जाँदा उक्त सडकको धनकुटा खण्ड अवरुद्व भएको हो । दुवै तर्फको पहिरो पन्छाएर सडक खुलाउने प्रयत्न भइरहे पनि वर्षा जारी रहेकाले समस्या भएको छ । पाँचथर तर्फको अवरोध हटाउन गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे नेतृत्वको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको छ ।
यस्तै धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने तमोर करिडोरमा पनि यातायात र ढुवानीका साधन चलेका छैनन् । करिडोरअन्तर्गत धनकुटा र पाँचथरको सिमावर्ती नावाखोलामा बाढी आएका कारण धरानबाट पाँचथर ताप्लेजुङ र ताप्लेजुङ पाँचथरबाट मूलघाट हुँदै धरान वारपार हुन नसकेका हुन् ।
यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको ओयाम च्याङथापु खण्ड पनि अवरुद्ध छ । उक्त सडकअन्तर्गत याङवरक-२ को दोभाने खोलामा बनाइएको डाइभर्सनको तह पार गरेर खोला बग्न थालेपछि सडक अवरुद्व भएको हो ।
यता हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि सदरमुकाम नागीन, सिदिन हुँदै फालेलुङ गाउँपालिका केन्द्र थकेपुङतर्फ जाने सडक पनि अवरुद्ध भएको छ । फालेलुङ ३ र ७ को सिमावर्ती हेवा खोलास्थित घुमाउनेटारमा बिहीबार साँझदेखि डाइभर्सनमाथिबाट पानी बग्न थालेपछि यातायात ठप्प भएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए । उनका अनुसार हेवा खोलामा बाढी आएपछि डाइभर्सनको सतह पार गरेको हो ।
२०८० असार २ गते आएको बाढीले याङवरकको दोभान र फालेलुङको हेवा खोलाको घुमाउनेटार लुमाङदिन र सोमबारे घाटका पुल बगाएपछि स्थानीय सरकारले नागरिकसँग श्रमदान र आर्थिक सहयोग जुटाएर डाइभर्सन बनाएको थियो । सोमबार घाटको डाइभर्सन गत जेठ १ गते नै पुरिएको छ । ती खोलामा पक्की पुल नबन्दासम्म डाइभर्सनबाट पानी तर्काएर वारपार गर्नुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले झरीले ठाउँ ठाउँमा भौतिक क्षति गरे पनि मानवीय क्षति भने नभएको बताए । विशेषतः तमोर र हेवा खोलाका तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित रहन भनिएको उनले बताए ।
यस्तै बाढी पहिरोको जोखिम बढेपछि जिल्लाको फिदिम नगरपालिकासँगै फाल्गुनन्द, फालेलुङ, तुम्बेवा, कुम्मायक र मिक्लाजुङ गाउँपालिकाका विद्यालयले बिदा दिएका छन् ।
