सहकारी ठगी मुद्दाका फरार अभियुक्त कांग्रेस नेतासँगै मञ्चमा

फरार सूचीमा रहेकाहरूलाई पहुँचकै कारण पक्राउ नगरिएको सहकारीपीडितको गुनासो

आश्विन ८, २०८१

अर्जुन सुवेदी

Fugitive accused in co-operative fraud case on stage with Congress leader

सुनसरी — अम्बे कोशी बचत तथा ऋण सहकारीको रकम अपचलन मुद्दामा फरार सूचीमा रहेका रेवतीरमण दुलाल कांग्रेसको कार्यक्रममा केन्द्रीय नेताहरूसँगै मञ्चमा देखिएका छन् ।

फरार सूचीमा रहेका दुलाललाई मंगलबार सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । कांग्रेसका सुनसरी जिल्ला नेता तथा महाधिवेशन प्रतिनिधि दुलाल सहकारी रकम अपचलन मुद्दाका फरार अभियुक्त हुन् । 

उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरी ४ (१) बाट प्रतिस्पर्धीसमेत थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिएका दुलाल त्यसबेला एमालेका जगदीशप्रसाद कुसियतसँग पराजित भएका थिए । 

सुनसरीको महेन्द्रनगर घर भई इटहरी उपमहानगरपलिका–६ बस्ने ५० वर्षीय दुलालले १ करोड ३१ लाख ३२ हजार ५ सय रुपैयाँ बिनाधितो ऋण लिएका थिए । सहकारीमा उनले ५ लाख ४१ हजार ३० रुपैयाँ ब्याज बुझाउनुपर्ने देखिएको छ । सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ । उक्त सहकारीमा दुलालको २ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको सेयर रहेको अभियोग पत्रमा उल्लेख छ । 

दुलाल अहिले पनि सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । मंगलबार उनी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँगै सुनसरीको एक कार्यक्रममा सहभागी भएका थिए ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले दुलालसहित ५६ जनाविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सहकारीका अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने दुलालसहित आधा भन्दा बढी व्यक्ति अझै पनि फरार छन् । दुलालसँगै देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हीराकुमारी मगर, बद्रीप्रसाद रेग्मी, नगेन्द्र गुरुङ र सुमन भण्डारी फरार रहेका छन् । 

यस्तै, अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर, धनुषा पराजुली (बस्नेत) भन्ने धनकुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्टकुमार श्रेष्ठ पनि फरार रहेका छन् । यसैगरी, सम्झना कार्की, रमेश पौडेल, टीकाराम भट्टराई, हरिबहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, रामप्रवेश शाह, यशोदा पौडेल, रुद्रबहादुर पौडेल, पशुपति श्रेष्ठ, पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल, हेमु श्रेष्ठ, गंगाचरण शाह तेली, सुनिता समाल मगर, विष्णुकुमार विक र लीला कार्की पनि ९ महिनादेखि फरार छन् । उनीहरूविरुद्ध सुनसरी प्रहरीले गत पुस १२ मा मुद्दा दर्ता गरेको थियो । 

मोरङको सुन्दरहरैंचा स्थायी घर भई इटहरी–४ बस्ने विष्णुमाया भन्ने सुब्बाले पनि अम्बे कोशी सहकारीबाट बिनाधितो २१ लाख ५५ हजार रुपैयाँ ऋण लिएको देखिएको छ । उक्त सहकारीमा उनले ३ लाख ८२ हजार २ सय २९ रुपैयाँ व्याज र ५ हजार ४ सय १० रुपैयाँ बचत रहेको छ । सो सहकारीमा सुब्बाका नाममा ८३ हजार ५ सय रुपैयाँ बराबरको सेयर रहेको छ । 

एमाले केन्द्रीय सदस्य तथा सहकारी अभियानकर्मी समेत रहेकी अमृता सुब्बाले ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी छन् । प्रहरीले नियन्त्रणमा नलिईकन उनी सिधै अदालतमा हाजिर भएर ५ लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले जानकारी दिएको छ । सुब्बाको नाम विष्णुमाया भन्ने अमृता सुब्बा भनी उल्लेख छ । उनै सुब्बा राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सदस्य पनि हुन् । उनी इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको पूर्वअध्यक्षसमेत हुन् ।

सहकारीका सञ्चालकहरू राहुल अग्रवाल १० लाख, कुमार आले र शिलादेवी गजमेर ५ लाख धरौटी बुझाएर छुटेका छन् । सागर राई १५ लाख, टेकबहादुर चर्मकार ३ लाख, विमला चौधरी मैनाली १ लाख, सुजन चौधरी २ लाख र सागर चौधरी ७ लाख धरौटी बुझाएर छुटेका छन् । यस्तै, आशिका राई २ लाख, कृष्णबहादुर कटवाल ३ लाख ५० हजार, तारामान सिरिङ लिम्बू २ लाख र चन्द्रकुमार गेलाल १ लाख धरौटी बुझाएर छुटेका छन् । यसैगरी तारा राई १ लाख ६५ हजार, भूमिप्रसाद आचार्य १ लाख, खड्ग कोइराला ५ लाख, शम्भु दाहाल १ लाख ९५ हजार, चूडामणी निरौला १ लाख ७० हजार र भुवनकुमार राउतले १ लाख ५० हजार धरौटी बुझाएका छन् ।

सहकारी पीडितहरूले पहुँचका कारण बचत अपचलन गर्नेहरूलाई पक्राउ नगरिएको गुनासो गर्दै आएका छन् । तर, सुनसरी प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक विपिन रेग्मीले भने फरार सूचीमा रहेका व्यक्तिलाई पक्राउ गर्न खोजी तीव्र पारेको बताए । यसअघि सञ्चालकहरू पक्राउ पर्नुअघि सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै बचतकर्ताहरू दुई महिनादेखि आन्दोलित थिए । उनीहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय र सहकारीका सञ्चालकहरूको घर घेराउसमेत गरेका थिए । ५ हजार बढी सेवाग्राही रहेको सहकारीमा ३ सय सेयर सदस्य छन् । सहकारीले मोरङको विराटनगर, विराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर कारोबार गर्दै आएको थियो ।

अर्जुन

Link copied successfully