ताप्लेजुङका सबै वडा सडक सञ्जालमा जोडिए

चैत्र १, २०८०

आनन्द गौतम

All the wards of Taplejung were connected to the road network

ताप्लेजुङ — योजना सम्झौताकालागि गाउँपालिकाको केन्द्र तापेथोक आएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाका १२ जना बुधबार गाडिमा फर्किए । ठ्याक्कै बस्तीसम्मै नपुगेर सेजोङमासम्म गएका उनीहरुले सदरमुकाम फुङलिङतर्फबाट आफ्नै वडामा गाडी चढेर गएको पहिलो रेकर्ड बनाए ।

गाउँपालिकाबाट एकैसाथ २७ जना फर्कने भएपनि एउटा मात्रै गाडी जान मानेकोले त्यसमा अटाउने मात्रै चढेर गएको वडा कार्यालयका कर्मचारी तेञ्जीङ वालुङ बताउँछन । अरु भने हिडेरै गएका थिए । 

उनीहरुको यो यात्रासँगै जिल्लाका सबै वडामा सडक सञ्जाल पुगेको प्रमाणित भएको छ । भौगोलिक हिसावले डोल्पा र हुम्लापछिको तेश्रो ठुलो जिल्लामा ६१ वटा वडा छन्। यो बाहेक सिरिजंगा गाउँपालिका-६ मामांखेमा सडक ढिलो गरी पुगेको थियो । मामांखेका नागरिकले गतवर्ष देखि आफ्नै वडाबाट यात्रा गर्न पाएका छन् ।

ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार यसै महिनाभित्र वडा कार्यालयसम्मै यातायात चल्नेछ । अहिले पुगेको साजोङ्‌मादेखि वडा कार्यालयसम्म पुग्न ५.५ किलोमिटर बाँकी रहेको छ । यसअघिनै ट्रयाक खुलेको सडक मर्मत गर्नमात्रै बाँकी रहेको हो ।

चीनसँगको सिमावर्ती यो क्षेत्रमा चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङदेखि ट्रयाक खोलेर ३२ किलोमिटर तलसम्म ल्याइएको थियो । 

हिउँदमा भने अव जिल्लाका सवै वडामा यातायात चल्ने भएको छ । भौगोलिक हिसावले जिल्लाको आधा वढी भुभागमा रहेको फक्ताङलुङ गाउँपालिकाले हिउँदमा यातायात सञ्चालनका लागि अस्थायी पुल बनाइदिने गरेको छ ।

एकदेखि अर्को वडा जोड्नकालागि सिंवा, छिरुवा, तापेथोक लगायतका स्थानमा यस्ता पुल वनाउने गरेको हो । बार्षिक कार्यक्रमनै बनाएर पुल वनाउने गरिएको र यस्ले सवैजसो वस्तिमा यातायात पुग्न सहयोग पुर्याएको गाउँपालिका अध्यक्ष राजन लिम्वू बताउँछन । मिक्वाखोला लगायतका कतीपयमा हाइड्रोपावर सञ्चालकले होमपाइप राखेर खोलामा हिउँदे पुल बनाउने गरेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भत्तवहादुर कार्कीले जानकारी दिए । 

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका रहेको छ । फुङलिङ नगरपालिका भित्रका सबैजसो वस्तिसम्मै यातायातको पहुँच पुगेको छ । फक्ताङलुङ, सिदिङबा र सिरिजंगा जस्ता गाउँपालिकामा भनें बस्तिसम्म पुर्‍याउन अझै समय लाग्ने स्थानीय बताउँछन ।

फक्ताङलुङ-७ को वडा कार्यालय ओलाङचुङङगोला सम्म पुगेपनि यहाँबाट याङ्‌मा बस्ती पुग्न पुरै एक दिन पैदलयात्रा गर्नुपर्छ भने वडा नं. ६ लेलेपबाट घुन्सा, खम्बाछेनकालागि दुई दिन हिड्नु पर्छ । यी बस्तीमा सडक पुग्न अझै वर्षौँ लाग्नसक्ने स्वयम् वडाध्यक्षहरु बताउँछन । तर वडामै सडक नपुगेको चाँही अब कुनै नभएको वडाध्यक्ष छेतेनले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully