सद्भाव कायम राख्न र सहिष्णुता अपनाउन दलहरूको आह्वान
सुनसरी — धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । धरानका २० वटै वडामा शुक्रबार रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार धार्मिक समूहले शनिबार र्यालीको तयारी गरेपछि सुरक्षा समितिले शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यद्यपि स्थानीय प्रशासनले विज्ञप्तिमा धार्मिक/साम्प्रदायिक तथा जनस्वास्थ्य संकटकाल र शान्तिसुरक्षाको संवेदनशीलता हेरेर सामूहिक रूपमा गरिने धार्मिक, सांस्कृतिक, राजनीतिक भेला, प्रदर्शनमा निषेध गरेको छ ।
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बराहक्षेत्रको झन्डाचोक, रामधुनी–६ र बराहक्षेत्र–३ नहडाचोक, इटहरी–२० तरहरा पानिपियादेखि उत्तर, केराबारी गाउँपालिकाबाट धरान प्रवेश गर्ने क्षेत्र, धनकुटाको साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रलाई निषेधित घोषणा गरिएको छ ।
यसैगरी दलहरूले संयुक्त विज्ञप्तिमार्फत धरानमा सद्भाव कायम राख्न आह्वान गरेका छन् । कांग्रेस, एमाले, माओवादी, जसपा, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, नागरिक उन्मुक्ति, संघीय लिम्बुवान राष्ट्रिय मञ्च, राजपा, किरात खम्बुवान र विवेकशील साझाका स्थानीय नेताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक र धार्मिक सद्भाव कायम राख्न आह्वानका साथ सहिष्णुता अपनाउन अनुरोध गरेका छन् ।
धरान उपमहानगर प्रमुख हर्कराज राईले पनि सद्भाव, भाइचारा र एकता कायम गर्न अपिल गरेका छन् ।
शुक्रबार अपिल प्रकाशित गर्दै उनले कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।
‘विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ, बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता र सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नॅ हाम्रो कर्तव्य हो,’ राईले भनेका छन् ।
धरानका तीन पूर्वनगरप्रमुख र उपप्रमुखहरूले पनि संयुक्त अपिल जारी गर्दै धार्मिक, सांस्कृतिक विवादलाई वार्ताबाट समाधान गर्न आह्वान गरेका छन् । पूर्वनगरप्रमुखहरू कुमारबहादुर कार्की, तिलक राई र मनोजकुमार मेन्याङ्बो तथा पूर्वउपप्रमुख मीनकुमार सुब्बाले अपिल जारी गरेका हुन् ।
