कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु

चैत्र १०, २०७९

प्रदीप मेन्याङ्बो

सुनसरी — कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको छ ।

धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।सुरक्षाकर्मीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागे पनि उनी घरैमा उपचाररत थिए तर बुधबार राति रिंगटा चलेर बान्ता गरेर अचेत भएपछि बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्ष हुँदै आईसियुमा भर्ना गरिएको थियो । 

थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा उनको मृत्यु भएको थियो । उनको शुक्रबार बिहान साढे २ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्गर्ष समितिले जनाएको छ ।

यसैबीच संघर्ष समितिले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै लाजेहाङलाई सहिद घोषण गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रपूर्वक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं नेपाल प्रहरीले लिनु पर्छ ।’ शान्तिपूर्ण आन्दोलनमा प्रदर्शनकारीको टाउकोमा ताकेर लाठीचार्ज गर्ने हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने र कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता समेत जनाउँदै संयुक्त संघर्ष जारी रहने जनाइएको छ ।  

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न पनि माग गरिएको बताए । उनले भने, ‘पहिचानबादीको आन्दोलन शान्तिपूर्ण थियो । पहिचान विरोधी सत्ता, राजनितिक दलको इशारामा भड्काइयो । पूर्वमा अब के हुन्छ यसै भन्न सक्ने अवस्था छैन ।’ 

प्रदीप

Link copied successfully