जथाभावी उत्खननको विरोध

चिसाङ खोलाको ढुंगा, गिट्टी, बालुवा निकाल्ने समिर नाका र शान्तिटोल नाकामा ट्रयाक्टर, टिपर प्रवेशमा स्थानीयको रोक

पुस २५, २०७५

कान्तिपुर संवाददाता

मोरङ — खोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने नाममा व्यक्तिको नम्बरी जग्गा जबरजस्ती उत्खनन गरिएको भन्दै बेलबारी र कानेपोखरीका स्थानीयले विरोध जनाएका छन् ।

उनीहरूले स्थानीय चिसाङ खोलाको ढुंगा, गिट्टी, बालुवा निकाल्ने समिर नाका र शान्तिटोल नाकामा ट्रयाक्टर, टिपर प्रवेशमा रोक लगाएका हुन् ।


बेलबारी–८ र कानेपोखरी–५ का स्थानीयले मंगलबार चिसाङ खोलामा प्रवेश गर्न लागेका टिपरलाई फर्काइदिएका छन् । खोलाले नम्बरी जग्गा क्षति गरे पनि स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा निकासीमा मात्रै केन्द्रित भएको र तटबन्धका लागि ध्यान नदिएको बेलबारी–८ का बद्रीनाथ ढकालले बताए ।


उनले नियम विपरीत खोलामा स्काभेटर प्रयोग भइरहँदा पनि सम्बन्धित स्थानीय तहले कानुनी कारवाही नगरेको आरोप लगाए । स्थानीयको विरोधपछि मात्रै खोलाबाट स्काभेटर हटाउन सफल भएको उनले बताए । बेलबारी–५ का टेकबहादुर दाहालले तटबन्धका लागि स्थानीय तहबाट पनि केही प्रयास नभएको गुनासो गरे । उनले चिसाङ खोलाको अवैध रूपमा दोहन गरिएका कारण दुवैतिर खोला पसेर हजारौं हेक्टर जमिन कटान गरेको बताए ।


चिसाङ खोला नजिकै रहेका बेलबारी र कानेपोखरीका स्थानीयले वर्षौंदेखि खोलामा तटबन्धको माग गर्दै आएका छन् । उनीहरूले खोलाले कटान गरेको नम्बरी जग्गा छुट्याएर मात्रै खोला बिक्री गर्न आग्रह गरेका हुन् । 


‘खोला छुट्याऔं भनेर माग गरेका गर्‍यै छौं, यो वर्षौंदेखिको लडाइँ भइसक्यो,’ स्थानीय समिर राईले भने, ‘खोलाले बगाएको जति सबै खोला हो भनेर जवाफ दिन्छन्, हाम्रो नम्बरी जग्गाको संरक्षण नै भएन ।’ उनले खोलाको ठेक्का लिएका ठेकेदारले विभिन्न व्यक्तिहरू परिचालन गरी स्थानीयलाई धम्की दिँदासमेत प्रशासनले मौन रहेको गुनासो गरे । मोरङका नौवटा स्थानीय तहलाई चालु आर्थिक वर्षका लागि एक दर्जन बढी खोला नदीबाट करिव ३५ लाख घनमिटर खोलाजन्य स्रोत बिक्री गर्न अनुमति दिइएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन स्वीकृत भएका स्थानीय तहले खोला नदीबाट उक्त परिमाणमा ढुंगा, गिटी, बालुवा र भरौटको उत्खनन र बिक्री गर्न अनुमति पाएका थिए ।


पहिलो चरणमा आइइई गरेर खोला बिक्री करको ठेक्का लगाएको बेलबारी नगरपालिकाले चिसाङ र लोहन्द्रा खोलाबाट १ लाख ७४ हजार ४ सय ३२ घनमिटर ढुंगा, गिटी, बालुवा निकाल्ने अनुमति पाएको छ । त्यसैगरी कानेपोखरी गाउँपालिकाले डाँस र चिसाङ खोलाबाट १ लाख ७३ हजार ९ सय ७० घनमिटर ढुंगा, गिटी र बालुवा निकाल्ने अनुमति पाएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ ।


स्थानीयको नम्बरी जग्गामा जबरजस्ती गिट्टी, बालुवा निकाल्ने कार्यमा संलग्न ठेकेदारलाई प्रहरी प्रशासनले नै सहयोग गरिरहेको उक्त क्षेत्रका प्रदेश सांसद सुयर्माराज राईले आरोप लगाएका छन् ।


कान्तिपुर

Link copied successfully