कविता : प्लेग

हामीसँग छन् इतिहासलाई भविष्यसँग जोड्ने पुलहरू/ जसलाई लिएर हामी अनन्त सपनाहरू देख्दछौं

वैशाख १२, २०८३

दुतेन्द्र चाम्लिङ

Poem: Plague

What you should know

हामीसँग थिए-

देश

युवा

इन्द्रेणी

संविधान

र,

मुसा


 

हामीले जति गरौं अन्न भण्डारण

ढुकुटी प्वाल पारेर हैरान हैरान

भोकले हामी हत्तु हत्तु

यद्यपि

हामीले गरेनौं कुनै प्रतिकार

यद्यपि

हामीले गरेनौं कुनै प्रतिरोध

यद्यपि

हामीले गरेनौं कुनै साहस

मानौं हामी खराँट मुसा पाल्न मात्र जन्मिएका हौं


 

हामीले ल्यायौं अन्न-

खाडीको ४५ डिग्रीको मरुभूमिबाट

अमेरिकाको शौचालयबाट

युरोपको किचेनबाट

कोरियाको करेसाबारीबाट

जापानको काठ फ्याक्ट्रीबाट

अस्ट्रेलियाको टायल कारखानाबाट

भारतको दरबानी ड्युटीबाट

मलेसियाको सर्प लाग्ने पाम आयलको जंगलबाट


 

हामी सधैं ख्याउटे भोकले ग्रस्त

मिस्टर ओलिम्पिया विजेता अर्नोल्डजस्तै मुसा बलिष्ठ र तन्दरुस्त

मुसाको दाँत बढिरहने निरन्तर

हामीले दियौं हाम्रो हड्डीमा रगेट्न 

ता कि पृथ्वी प्वाल नपारोस् 

मुसाको हाँसो ?

ओ हो ! सम्झदैं हाम्रो आङ सिरिङ्ग


 

मुसाको हातमा सारा पृथ्वी

सबैमा जानकार-

कस्तो छ हाम्रो वेग

कस्तो छ हाम्रो तेज

कस्तो छ हाम्रो हैसियत

कस्तो छ हाम्रो नियत

हामी जति दगुर्थ्यौं

मुसाको ढाडबाट चिप्लिएर ऐँठन हुन्थ्यौं

र, त्यहीँ पुग्थ्यौं जहाँ हामी पहिले दगुर्नुभन्दा अघि थियौं

हाम्रो गतिभन्दा जमिनको गति द्रुत

मुसाको हातमा सारा पृथ्वी 

मुसाको सामान्य स्वास प्रश्वास

हाम्रो ज्यान लिन पर्याप्त


 

उदेकलाग्दो त यो थियो

हामी पीडामा पनि मुसाको कुतकुताईले खित्का छाडेर हाँसेका थियौं

उदेकलाग्दो त यो थियो

हामी मोन्सान्टोको कन्सर्टमा पनि इत्रिएर उधौली उभौलीमा साकेला नाचेका थियौं

उदेकलाग्दो त यो थियो

हामी बाँचेका थियौं


 

के कुनै सम्भव छ मिराकल ?


 

एउटा बिहान हाम्रो देशमा हामी देख्छौं

ह्यामेलिनको बहुरंगी मुरलीवादकको आगमन

अर्थात पाइड पाइपर अफ ह्यामेलिनको आगमन

विना कुनै आह्वाको गर्जन

विना कुनै योजनाको फेहरिस्त

विना कुनै सपनाको उरुङ

सबैतिर जयजयकार

सबैतिर उल्लास

सबैतिर विचारको मिदास स्पर्स

सबैतिर हिप्नोटाइजको बृहत् तरंग


 

के कुनै सम्भव छ मिराकल ?


 

जताजतै अबिरजात्रा

भिडभाडमा ठेलामठेल

जादुमयी मुरलीको मादकता

उलिन्काठ बोकेका लस्करहरु

उद्वेलित डाँकोहरु र आँसुका छालहरु

मुसादेखि हत्तु हैरान हामीले सपना देख्यौं-

मुरलीवादकको जादुमयी मुरलीको धुनमा लठ्ठिएर पछ्याउँदै पछ्याउँदै

कुनै गहिरो नदीमा डुबी मर्नेछन् मुसा

तब हुनेछ देश मुसादेखि स्वतन्त्र

तब कुनै पनि मुसा आउनेछैन हाम्रो समयलाई छेक्न

तब कुनै पनि मुसा आउने छैन हाम्रो भोकमा परेड खेल्न

तब कुनै पनि मुसा आउने छैन हाम्रो सपना प्वाल पार्न


 

अर्को बिहान हामी ब्युँझियौं

तर यो के को सन्नाटा हो ?

गायब छन् सारा मुसाहरु

कहीँ कतै छैन उनीहरुको मार्च पास

गायब छ ह्यामेलिनको बहुरंगी मुरलीवादक

तर यो के को सन्नाटा हो ?

मुसाहरुको अनुपस्थितिले त शान्त हुनु पर्ने वातावरण

तर यो सन्नाटा ?

के हामी मुसाहरुको सिम्फोनी सुन्न अभिशप्त होइन अभ्यस्त भइसकेका थियौं ? 


 

अहो ! यो के हो ?

खै हाम्रा युवाहरु ?

उनीहरु किन गायब छन् ?

हामीले खोज्यौं-

विश्वविद्यालयतिर, क्याफेतिर, पार्कतिर

थिएटर हलतिर, सामाजिक सञ्जालतिर, क्लवतिर

स्टेडियमतिर, जुलुसतिर, सभा सम्मेलनतिर

जेलतिर,कलकारखानातिर, वैदेशिक रोजगारीतिर


एक दुई दिन वा त्यस्तै केही दिनपश्चात्

नभई त्यस्तो कुनै पनि उल्लेखनीय बर्सात

देखा पर्छ अकस्मात हाम्रो देशमा ह्यामेलिनको बहुरंगी मुरलीवादक


हामीले सोध्यौं- खै हाम्रो युवाहरु?

तर उ मौन छ, गम्भीर छ, रहस्यमयी छ

मानौं ‘श्रीमान् गम्भीर नेपाली....’ को सवै भाव मुहारमा ल्याउन यत्नशील छ

के उसले सौदाबाजी गरेको थियो मुसासँग हाम्रो देशको युवाहरु ?

उ मौन छ, गम्भीर छ, रहस्यमयी छ

तर छिप्न सकेको छैन उसको मुहारमा १८० डिग्रीको सिग्नेचर मुस्कान

अत्यधिक जाडोले सताइरहेछ

मानौं यो हिमयुग हो

रगत जम्न लागेका हुनन्

मुटुको गति धिमा भइरहेछ

मानौं उर्जा विदामा बस्ने मौसम हो

शीतनिद्रामा जान लागेका हुनन्


लोककथामा केटाकेटी हराएपछि

ह्यामेलिन सहर फेरि फर्कंदैन त्यो बहुरंगी मुरलीवादक

तर युवाहरु हराएपछि पनि

हाम्रो देशमा फेरि फर्केको छ मुरलीवादक


सबै मौन छन्-

राजनीतिक विश्लेषक, मानव अधिकारकर्मी, राजनीतिज्ञ

पत्रकार, संस्कृतिविद्, नागरिक समाज

समाजशास्त्री, चिन्तक, पेन्टर

प्राध्यापक, गायक, कवि


 

हामीसँग छन् इतिहासलाई भविष्यसँग जोड्ने पुलहरु

जसलाई लिएर हामी अनन्त सपनाहरु देख्दछौं

र हाम्रो देशमा फेरि फर्किएर आएको छ 

ह्यामेलिनको बहुरंगी मुरलीवादक


आजको समयमा प्लेग चिन्तनविहीनताको अवस्था हो ।

दुतेन्द्र

Link copied successfully