आगो, खरानी, हिंसा, प्रतिहिंसा, घृणा, पाखण्ड आदि बिम्बहरूले दिक्क लागेको बेला 'फाटकमा घाम' काव्यिक मलहम पक्कै बन्नेछ ।
What you should know
सन्त ज्ञानदिल दास, रहरसिहं राई, महानन्द सापकोटा आदि अग्रज पुर्खाको विरासत बोकेको इलाममा पछिल्लो समय सार्थक काव्यकर्महरू भइरहेका छन् ।
नयाँ पुस्तादेखि पुराना पुस्तासम्म कविता कर्ममा तल्लीन छन् । त्यसो त देशैभरि रहरलाग्दो गरी कविता सृजना भइरहेका छन् । सृजनाले बहस जन्माउँछ । कति चिन्तकहरूले आजको समय कविताको स्वर्णयुग भनिरहेछन् । कतिले कविताको गुणात्मकता माथि प्रश्न उठाइरहेछन् । यद्यपि, कविता सृजना हुनु भनेको समाज जीवन्त हुनुको प्रमाण हो ।
कवि कविता राई गाउँलेको कविता कृति ‘फाटकमा घाम'ले समाज अझै जीवन्त छ है भन्ने थप प्रमाण पेस गरेको छ । कविता यस्तो फेबिकल हो जसले टुक्रिएका मनहरूलाई जोड्ने काम गर्छ । सम्भवत यसै कारण कविताको रूप ऋचा बन्छ, मन्त्र बन्छ र सामूहिकतामा बाँच्छ ।
कविता सुदूर पूर्वी सीमावर्ती जिल्ला इलाम पशुपतिनगर फाटक अर्थात् दुई देशको सीमाद्वारमा बसेर नेपाल दार्जिलिङ, सिक्किमलगायतका भेगमा एक साहित्यदूतको कामसमेत गरिरहेकी छन् ।
पचासको दशकदेखि निरन्तर कविताकर्ममा साधनारत कविको कविता परिपक्व देखिन्छ । विशेषगरी सरल तर सम्प्रेषणीय कविताले पाठकहरूलाई लोभ्याउने क्षमता राख्छ ।
‘देर से आए, दुरुस्त आए’ भन्ने हिन्दी उखानझैँ कवि गाउँलेका कविता बलशाली प्रकट भएका छन् । प्रगतिवादको लिँडेढिपी, पहिचानको कर्कश आवाजभन्दा पर शान्त, सरल कविता लेख्नु लामो साधनाले मात्र सम्भव हुन्छ । हारुकी मुराकामीले भनेझैँ उनका कविताहरू गहिरो नदी हुन्, जो शान्त बग्छन् । कवितालाई कविले बाँचेको वातावरण, परिवेशहरूले प्रभाव पार्छ कि क्या हो ? इलामको चियामुनाहरूमा टल्किरहने शीत, छिनछिनमा उडिरहने भुइँकुहिरो आदिले कविलाई शान्त दार्शनिक बनायो । जस्तै कि शीर्ष कविता ‘फाटकमा घाम’मा कवि सीमान्तमा उभिएर सोचमग्न छिन् । यो घाम कुन देशको होला ? यसको पाइतालालाई यता टेक्दा कि उता टेक्दा किन भएको होला ? घामजस्तै मानिस पनि किन अल्मलिएको होला ? जस्तो कि–
जहिले घाम अल्मलिरहने ठाउँमा
यदि तपाईं आउनु भो भने
पक्कै अल्मलिनु हुनेछ
कि
इतिहासले कोरिदिएको
यो सिमानामा
म कहाँ उभिएको छु भनेर ।
(फाटकमा घाम)
नेपाली साहित्यमा नारीवाद नौलो कुरा रहेन । समकालीन साहित्यमा नारीवादी रचनाहरू प्रशस्तै लेखिँदै आइरहेको छ । साहित्यका विभिन्न विधामा नारीवादको हस्तक्षेपी उपस्थिति छ । यसो हुनु ननिको पक्कै होइन । कवि गाउँलेका कवितामा पनि नारीवादको झिल्का भेटिन्छ । ‘आमाको सीमान्त दुःख’ कवितामा नारी अस्तित्वको जिकिर छ । सुन्दर क्राफ्टमा लेखिएको उक्त कविताले एकलकटे पुरुषसत्ताको विरोध गर्छ ।
पहराजस्तो छातीमा अड्किएको
पोतेको लुङबाट एक–एक दाना पोते
झरिरहेछ क्रमशः
के त्यो छाती आमाकै लोग्नेको हो ?
(आमाको सीमान्त दुःख)
सङ्ग्रहको अर्को कविता ‘ओ हिमाल’ले पनि नारी समानता र सह–अस्तित्वको कुरा गरेको छ । सामाजिक संरचनामा महिलामाथि हुने विभेदप्रति कविको चिन्ता छ । समता र समन्वयले समाज सुन्दर हुने कविको विश्वास छ ।
प्रेममाथि सदियौँदेखि हजारौँ कविले अनगिन्ती कविता लेखेका छन् । तर प्रत्येक कविता किन नयाँ लागेको होला ? पृथक सुनिएको होला ? कवितालाई बेग्लै कविको निजत्वले बनाउँदो रहेछ । कविको अनुभूति र अभिव्यक्तिकले बनाउँदो रहेछ ।
ओसिलो मनभित्र
म असार बर्सिँदा
यदि तिमी रुझ्यौ भने
एकपल्ट निथ्रुक मनले
मलाई सराप है
किनकि आज मलाई किन–किन
तिम्रो सराप भोग्न मन लागेको छ ।
(सराप)
‘फाटकमा घाम’ कविता सङ्ग्रहभित्र पनि पठनीय प्रेम कविताहरू अटेका छन् । कुनै कविता त विचारले पनि उम्दा बनेका छन् । ‘लज्जावती झार’ छोटो तर उत्कृष्ट कविता हो । उक्त कवितामा कविको बिम्ब छनोट र प्रस्तुतिमा निपुणता देखिन्छ । पूर्ण कविता बन्न लम्बेतान व्याख्यान र शब्दको थुप्रो चाहिँदैन भन्ने बोध गाउालेको कविता पढ्दा हुन्छ । उनका अधिकांश कविताहरू छोटा तर पूर्ण छन् । शब्दलाई फारो गरेर चलाउन जान्नु पनि सम्भवत एउटा कला नै हो । ‘सम्झना’ शीर्षकको प्रेम कविता त्यसको सुन्दर नमुना हो ।
कवितामा कविको सौन्दर्यचेतना पनि महत्वपूर्ण हुँदो रहेछ । समकालीन कवितामा नेपाली समाजको अनुहारअनुसार सांस्कृतिक मिथकहरूको प्रयोग यथेष्ट भइरहेका छन् । यसो हुँदा परम्परागत नेपाली कविताको एकात्मक रूपलाई भत्काएको छ । पुराना मानकहरू पनि भत्किएको बेला छ । कुनै बेलाका साहसिक कोलम्बस मिथकहरू अहिले खलनायकमा रुपान्तरित भएका छन् । कसैको शारीरिक कमजोरीको बिम्ब प्रयोग अमिल्दो भएको छ । कवि गाउँलेले पनि ‘सुम्निमा सपना’ कवितामा किराती मिथकलाई प्रयोग गरेकी छिन् । किराती देवी सुम्निमाको प्रतीरूप आफूलाई ठान्दै प्रेमीलाई पारुहाङ (किराती देवता) बन्ने आट छ ? भनेर प्रश्न गर्छिन् ।
प्रत्येक कविहरूको आफ्नो प्रिय बिम्ब हुँदो रहेछ । कवि गाउँलेको प्रिय बिम्ब ढुङ्गा हो लाग्छ । ढुङ्गालाई बिम्ब बनाएर उनले उत्कृष्ट कविताहरू सिर्जना गरेकी छन् । ऐना, काँच पनि उनको प्रिय बिम्ब लाग्छ । उहिले अग्रज कविहरूले प्रयोग गरेका गह्रुँगो र कहिल्यै नसुनिएका पश्चिमी बिम्बभन्दा हाम्रै पेरिफेरीका सामान्य र मसिना बिम्बहरूलाई कवितामा प्रयोग गर्नु उनको खासियत हो । ‘भित्ता’ शीर्षकको कविता सामान्य बिम्ब प्रयोग गरेको सुन्दर कविता हो । कविको भावगहिराइ, संवेदनाको तीव्रता र बिम्बको समीचिन प्रयोगले शब्दलाई जीवन्त बनाउँदो रहेछ । र त्यो जीवन्त शब्द कविता बन्दो रहेछ ।
भनिन्छ कवितामा नवरस हुन्छ । यी सबै रस छनोट गर्न कवि स्वतन्त्र होला । कला महत्वपूर्ण कि विचार ? पनि प्राचीन र क्लिसे सुनिन थाल्यो । त्यसो त, जीवन के हो ? भन्दा कविता के हो ? धेरै परिभाषित भएको छ भनिन्छ । कवितामा राजनीति कि कविताको राजनीति ? बहसको विषय बनेको छ । कवि गाउँलेका कविताले समकालीन राजनीतिको नारा, प्लेकार्ड बोकेको छैन । उनको कविताले विभेद, विसङ्गतिविरुद्ध उग्र प्रतिवाद गरेको छैन । शालीन र तर्कसङ्गत प्रतिवाद गर्नु उनको कविताको विशेषता हो । कवि गाउँलेको कविताले खासै व्याख्या माग्दैन । कविता पठनपछि पाठकलाई डिभाइन अनुभूति दिनु उनको कविताको खासियत हो ।
लामा न लामा कविता पढ्न बानी भएकाहरूलाई कवितामा विचारको ज्वालामुखी खोज्ने पाठकहरूलाई 'फाटकमा घाम' अनुपयुक्त लाग्न सक्छ । तर संकटको बेला, आगो, खरानी, हिंसा, प्रतिहिंसा, घृणा, पाखण्ड आदि बिम्बहरूले दिक्क लागेको बेला फाटकमा घाम काव्यिक मलहम पक्कै बन्नेछ ।
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको कृतिमा ४९ कविता छन् । जहाँ समाज, संस्कृति, प्रेम, अस्तित्वबोध आदि विविध विषय पाइन्छ ।
