म हुर्केको समयमा अहिलेझैं होमवर्कको तनावै हुँदैनथ्यो । बिदा त घुम्न र रमाइलो गर्न पो दिइन्छ । अहिले किन शिक्षकहरू होमवर्क दिएर विद्यार्थीलाई तनाव दिन्छन् ? सायद ‘घरबाट बाहिर नजाऊन्’ भनेरै तिनलाई होमवर्कको बोझ थपिएको हो । तर, मेरो समय त्यस्तो थिएन ।
What you should know
काठमाडौँ — बितेका दिनका कुरा गर्न म निकै खराब पात्र हुँ । मलाई धेरै कुरा यादै रहँदैन । तर, बाल्यकालको विद्यालय र दसैं–तिहारको अनुभवबारे जति सम्झन्छु त्यति लेख्ने दुस्साहस गरिरहेको छु । के कति सम्झन्छु मलाई थाहा छैन । तर प्रयत्न भने गर्दै छु ।
म काठमाडौंको ओमबहालमा हुर्किएको हुँ । मेरो अक्षरारम्भ छिमेकका गुरु प्रेमप्रसाद पौड्यालको काखमा भएको थियो । उहाँ निकै रमाइलो हुनुहुन्थ्यो । मलाई पढाउन गोपाल योञ्जनकी श्रीमती रिन्छेन योञ्जन पनि आउनुहुन्थ्यो । कवि भीमदर्शन रोका पनि घरमै पढाउन आउनुहुन्थ्यो । उहाँ किताबभन्दा धेरै बाहिरका विषयमा चर्चा–विमर्श गर्नुहुन्थ्यो । उहाँका कुरा निकै रोचक लाग्थे ।
शंकर लामिछाने मेरो बुबाको निकट साथी हुनुहुन्थ्यो । उहाँसँग पनि मैले बाल्यकालमा धेरै समय बिताएँ । अहिले बितिगएका दिनतिर फर्किएर हेर्दा ती मूर्धन्य व्यक्तिहरूको कुनै न कुनै छाप मसँग छ जस्तो लाग्छ ।
मेरो पहिलो स्कुल ब्रिटिस प्राइमेरी स्कुल हो । त्यहाँ प्रि–प्राइमेरी पढ्दा नेपाली विद्यार्थीले नेपाली स्कुलमै पढ्नुपर्छ भन्ने नियम लागू भयो । त्यसपछि त्यहाँको प्रिन्सिपल के. डोयलले मेरो ड्याड भुवनेश्वर अमात्यलाई ‘कान्ति ईश्वरी शिशु विद्यालय खोल, म त्यहाँकै प्रिन्सिपल बन्छु’ भन्नुभयो । त्यसपछि ड्याडले कान्ति ईश्वरी शिशु विद्यालय खोल्नुभयो । त्यहाँको सुरुको विद्यार्थी भनेको म, मिखा माथेमा, अनिल पहाडी, अनुप पहाडी, डिना बाँगदेल, अनिल चित्रकारहरू थियौं । त्यो स्कुल पढाउन बेलायती र स्विस शिक्षकहरू आउँथे । पछि त्यो राजपरिवारका सदस्यहरूको पनि अक्षरारम्भ गर्ने विद्यालयका रूपमा स्थापित भयो ।
कान्ति ईश्वरीमा कक्षा १ सम्म पढेपछि म ललितपुरको गोदावरीस्थित सेन्ट जेभियर्स स्कुल भर्ना भएँ । गोदावरीको सबैभन्दा रोचक सम्झना मेरा लागि ‘फादर क्वेन’ हो । उहाँले हामीलाई सर्प समात्न सिकाउनुभएको थियो । त्यहाँमा चार वर्ष पढें । त्यो बोर्डिङ स्कुल थियो । त्यतिबेला त्यहाँसम्म पुग्नै दुई घण्टा लाग्थ्यो । त्यहाँ पढ्दा म संस्कृत विषयमा भने अलिक कमजोर थिएँ । कक्षा पाँचसम्म गोदावरी पढेपछि ६ मा भर्ना हुन भारतको दार्जिलिङमा रहेको नर्थ पोइन्ट पुर्याइएँ । त्यहाँ भने मलाई हिन्दी विषय गाह्रो लाग्थ्यो । अरू विषयमा भने गुनासो रहेन । हरेक विषयमा पास नभई अगाडि बढ्न पाइँदैन भन्ने स्पष्ट भएपछि मैले गुनासो नै गरिनँ जस्तो लाग्छ ।
म फेरि भन्छु, मेरो सम्झनाशक्ति निकै कमजोर छ । त्यसैले स्कुले जीवनका धेरै कुरा मलाई याद नै छैन भने पनि हुन्छ । कनिकुथी याद भएका कुराहरू लेख्दै गर्दा गोदावरी स्कुलको स्काउटमा हुँदाको काण्ड याद आउँछ । त्यतिबेला हाम्रो ग्रुपमा एउटा अफवाह फैलिएको थियो । त्यसपछि मैले स्काउट समूहमा ‘अबदेखि मासु खान्न’ भन्ने घोषणा गरें । सबैको अगाडि गरेको घोषणा परिवर्तन गर्न त्यतिबेला मेरो गुरु र बुबाले धेरै प्रयत्न गर्नुभयो, तर मैले मानिनँ । ‘स्काउट प्रमिस’ तोड्नु हुन्न भन्ने थियो ।
नर्थ पोइन्टमै छँदा १३ वर्षकै उमेरमा मैले ‘जब सन्ध्या हुन्छ’ गीत लेखेको हुँ । मेरो ओठ फाटेकाले गर्दा अरूसँग धेरै नखुल्ने स्वभावको थिएँ । त्यहाँ एउटी केटी मन परेपछि मैले त्यो गीत लेखें । त्यो केटीलाई थाहै छैन– मैले उसका लागि लेखेको गीत कति हिट भयो ! त्यो गीत मैले हिन्दीमा लेखेको थिएँ, पछि नेपालीमा रूपान्तरण गरेको हुँ ।
बालापनको दसैं–तिहार सम्झिँदा बडो आनन्द लाग्छ । उबेलाका स्मृतिहरू ओहोर–दोहोर गर्छन् । ती दिनतिर फर्किहेर्दा मलाई दुई जोडी भोटो र सुरुवालको याद आउँछ । खोइ किन हो लागिरहन्छ मलाई, दसैं भनेकै दुई जोडी भोटो र सुरुवाल हो । दसैंभन्दा पनि दसैंको छेकोमै पर्ने इन्द्रजात्रा झन् बढी मनपर्थ्यो र मनपर्छ पनि । अझै दसैंमा म जहाँ भए पनि नेपाल आउँछु । घरमा दस दिन विधिवत् पूजा हुन्छ, जमरा राखिन्छ र टीका पनि लगाइन्छ ।
इन्द्रजात्रा भनेपछि सबैले सम्झिने कुमारी हो । मेरो बज्यै र कुमारीको रेखदेख गर्ने बज्यै मित भएकाले म कहिलेकाहीं कुमारीघरभित्रै कुमारीसँग खेलेको सम्झिन्छु । इन्द्रजात्रामा मेरै लागि आउँथ्यो– कुमारीघरबाट लाखमरी जस्तो चारकुनामा परेवा बाहिर फर्किएको मिठाई । इन्द्रजात्रापछि मलाई याद आउने दसैंका बेला उडाइने चंगा प्रतिस्पर्धा हो ।
त्यतिबेला चंगा उडाउनु, जुधाउनु र अर्काको चंगा चेट गर्नुलाई प्रतिष्ठाकै रूपमा लिइन्थ्यो । टोलछिमेकबीच ‘चंगा उडाउन को माहिर ?’ भनेर एक प्रकारको प्रतिस्पर्धै हुन्थ्यो । दसैं बिदाको समय खासगरी काठमाडौंको भित्री सहर नै चंगामय हुन्थ्यो । त्यसबेला बिहानको चिया–भेलादेखि बेलुकाकी सुरापानसम्म चंगा चेटकै चर्चा चल्थ्यो । अहिले सम्झँदा लाग्छ, त्यतिबेला चंगा उडाउन ठूलै प्रतिस्पर्धा हुने गरे पनि त्यसले समाजलाई जोडेको थियो । कसले, कसको चंगा कसरी काट्यो ? यो ठूलै चर्चाको विषय हुन्थ्यो सहरमा । चंगाको प्रकार र धागोको माझाबारे पनि चर्चा चल्थ्यो ।
हामी केटाहरूबीच भने चंगामा प्रेमपत्र लेखेर टोलमा मन पराएकी युवतीको छतमा कसले खसाल्न सक्छ भन्ने कम्पिटिसन हुन्थ्यो । चंगालाई फुइँ हान्दै भनेकै छतमा खसाल्नु चानचुने कुरा थिएन । त्यो चञ्चले स्वभावबाट म पर थिइनँ । त्यसैले होला मलाई अहिले पनि चंगा उडाउन निकै रमाइलो लाग्छ ।
तिहारमा भने मलाई विशेषगरी लक्ष्मी पूजा नै मनपर्थ्यो । चिनीबाट बनाइएका विभिन्न आकृतिका ‘जनावर’ हरू पनि पूजामा चढाइन्थ्यो । त्यो काठमाडौंको एक–दुई ठाउँमा मात्रै पाइन्थ्यो, जुन गुलाबी रंगको हुन्थ्यो । आकाशभैरव अगाडि पनि पाइन्थ्यो । पूजा सकिएपछि म त्यो सबै खाइदिन्थें । तिहारमा देउसी–भैलो खेलेको सम्झना भने मलाई छैन । नेवार समुदायमा त्यो समय देउसी खेल्ने खासै चलन थियो जस्तो लाग्दैन ।
परिवारसँग बसेर मनाउने म्हः पूजा पनि मेरा लागि निकै विशेष महत्त्वको हुन्थ्यो । महः पूजा अर्थात् आफ्नै शरीरको पूजा । आत्मालाई स्थान दिएकाले शरीरलाई धन्यवाद दिने पूजा हो भनेर बच्चामा मलाई बज्यैले सिकाउनुभएको यो ज्ञान मैले कहिल्यै बिर्सिइनँ । मेरा लागि त्यो ज्ञान निकै महत्त्वपूर्ण छ । तिहारमा ठूलाबडाहरू ओखर र लंगुरबुर्जा खुब खेल्थे । मलाई पनि हेर्न साह्रै चाख लाग्थ्यो । सायद रक्सीको मातमा दाउ थापेकाहरूले यति धेरै हल्लाखल्ला गर्थे कि त्यहाँ बस्नै डर लग्थ्यो ।
काठमाडौंमा पढ्दा दसैं–तिहारको बिदा त हुन्थ्यो नै । तर, त्यतिबेलाको समय अहिलेजस्तो होमवर्कको तनाव हुन्थ्यो जस्तो मलाई लाग्दैन । ‘होमवर्क गर्नु छ’ भन्ने टेन्सन नै कहिल्यै भएन । खै याद पनि छैन ! त्यस्तो ठूलो तनाव भएको भए त पक्कै याद हुन्थ्यो । स्कुलमै बोर्डस बस्ने भएकाले होमवर्कको टेन्सन भएन । बिदा भनेको घुम्न र रमाइलो गर्नकै लागि हो भन्ने लाग्थ्यो । अहिले किन शिक्षकहरू होमवर्क दिएर विद्यार्थीलाई तनाव दिन्छन् ? मैले बुझेकै छैन । सायद, घरबाट बाहिर नजाऊन् र घरमै इंगेज हुन् भनेर तिनलाई होमवर्क दिइएको होला । तर, हाम्रो बेलामा त्यस्तो थिएन ।
नर्थ पोइन्टमा पनि सबैभन्दा लामो बिदा मीनपचासको हुन्थ्यो । पहिले त गर्मीमा पनि बिदा दिइन्थ्यो । तर, पछि गर्मी–बिदा हटाएर मीनपचासमै तीन महिना बिदा दिन थालियो । मीनपचासको बिदामा बुबा मलाई कलकत्ता घुमाउनुहुन्थ्यो र लुगा किनिदिनुहुन्थ्यो । त्यतिबेला कलकत्तामा किनेको लुगा ‘खास’ लाग्थ्यो । त्यसपछि हेटौंडाको कान्ति ईश्वरी भवनमा बसेको पनि याद आउँछ । त्यहाँ बिहान ब्रेकफास्टका रूपमा हलुवा, स्वारी र बाख्राको दूध खाएको याद आउँछ । अहिले फर्किएर सोच्छु, विद्यालय जीवनमा मलाई ‘मनै नपर्ने विषय यो हो’ भन्ने नै थिएन । तर, जहिल्यै कला र संस्कृतिसँग जोडिएका विषय पढ्न निकै रुचि लाग्थ्यो । मलाई इतिहास, कला र संस्कृतिमा अझै रुचि छ । सायद त्यो बाल्य दिनहरूकै छाप हो ।
