गोठाला गएरै सकिन्थ्यो छुट्टी

टेस्ट पास भएपछि एसएलसीअघिको बिदामा गाउँमै फर्केर प्राथमिक तहमा पढाउन थालें । टेस्टमा बराबरी नम्बर ल्याएका साथी एसएलसीमा बोर्ड तेस्रो हुँदा मेरो भने दोस्रो श्रेणीको मात्र अंक आयो ।

कार्तिक ८, २०८२

डा. भगवान कोइराला

Vacation could have been spent going to the shepherd's house.

What you should know

काठमाडौँ — देशमा प्रजातन्त्र मासेर राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था लागू गर्दै थिए । पाल्पा दर्लम डाँडा गाउँ पञ्चायत वडा नं ८ को दरुङ्गामा म जन्मिएँ । सदरमुकाम तानसेनबाट दुई डाँडा पार गरेपछि गाउँ पुगिन्थ्यो । डाँडाको चुचुरोमा पाटा–पाटा परेका फराकिला मैदानमाथि बस्ती थियो ।

गाउँबाट बेंसीतर्फ हिँड्दै गयो भने १ घण्टामा स्याङ्जा, पाल्पाको सीमा राम्दी पुगिन्थ्यो । तानसेन बजारबाट हिँडेर आउजाउ गर्न साढे २ घण्टा लाग्थ्यो । गाउँ निकै रमणीय थियो । हिमालहरू देखिन्थे । 

बस्तीको छेउबाट मूल बाटो थियो । पुछारमा निम्नमाध्यमिक विद्यालय । मेरो घरबाट १० मिनेटमा स्कुल पुगिन्थ्यो । ८ कक्षासम्म त्यहीं पढेको हुँ । स्कुलले गृहकार्य दिएको, पोसाक (युनिफर्म) लगाएको मलाई याद छैन ।

हाम्रो बस्तीमा पानीको धारा थिएन । डाँडाको बस्तीको उत्तरी कोखपट्टि पानीको मुहान थियो । १५ मिनेट जति टाढाको पँधेराबाट गाग्रीमा पानी ल्याइन्थ्यो । आमा, दिदीहरू पानी भरिएको गाग्री डोकामा बोक्नुहुन्थ्यो । म सानोतिनो गाग्री काँधमा बोक्थें । बिहान पानी ल्याएपछि स्कुल जाने सुरसार हुन्थ्यो । 

घरबारी थोरै हुन्थ्यो, अलि तल खरबारी र बेंसीमा खेत थियो । खेतीबाट धेरैजसोलाई वर्षभरि खान पुग्दैन थियो । वर्षभरि खान पुग्ने उब्जनी गर्नेलाई हुने खाने भनिन्थ्यो । गाई, गोरु हुन्थे । स्कुलबाट फर्केर आएपछि म गोरु चराउन जान्थें । पँधेरासम्म पुर्‍याएर गोरुलाई पानी खुवाउँथें । साँझमा चराउँदै घर फर्काउँथें । दाइसँग घाँस काट्न जान्थें । मैलेभन्दा धेरै घाँस दाइले काट्नुहुन्थ्यो । घाँस काट्न जाँदा कहिलेकाहीँ हात काटिन्थ्यो । शनिबारको छुट्टीमा दिनभरि गोठालो हुनुपर्थ्यो । 

मेरो बाल्यकाल मध्यस्तरकै थियो । स्कुल जाने, घरको काम सघाउने यस्तै–यस्तै । गाउँको आफ्नै नियमित प्रणाली थियो– खेतीपाती गर, गाईबस्तु पाल, अन्न उब्जाउ, जीविका चलाउ । नुन, कपडा र तेलबाहेक अरू किन्ने कुरा हुन्थेन । सबै गाउँमै उत्पादन हुन्थे । राम्ती नजिक भए पनि बजार थिएन । 

वैशाख र माघे संक्रान्तिमा मेला लाग्थ्यो । नजिकको बजार भनेकै तानसेन थियो । बुबाहरू तानसेनबाट घरायसी सामान ल्याउनुहुन्थ्यो । आमाले ल्याइदिएका १/२ जोर मात्रै लुगा हुन्थे । खेलकुद भनेकै दाइहरूसँग डन्डीबियो खेल्नु, गुच्चा खेल्नु थियो । दसैं, तिहारमा भने चंगा उडाउँथ्यौं । ठूलो बुबाले चंगा उडाएको देख्नुभयो भने नचाहिँदो कामजस्तो ठानेर लखेट्नुहुन्थ्यो । मैले गाडी देखेको ८ कक्षामा पढ्दा हो । पखाला लागेर थला परेपछि उपचार गर्न तानसेन मिसन अस्पताल जाँदा पहिलो पटक गाडी देखेको थिएँ ।

म सानैदेखि साथीभाइको कपाल काट्थें । बाँसको चोया काढेर डोको बुन्थें । बुबा चोयाले हात काट्छ भनेर कराउनुहुन्थ्यो । म लुकीलुकी चोया काढेर डोको बुन्थें । मैले बाध्यताले जोत्नु परेन । कहिलेकाहीँ रहरले जोतें । दाइ, बुबा जोत्नुहुन्थ्यो । खेताला पनि लगाउने गर्थ्यौं । 

मेरो परिवारले वर्षभरिमा ११ महिना खान पुग्ने अन्न उब्जनी गर्थ्यो । १ महिना जतिलाई चाहिँ खानपिन लटरपटर (बेसाएर) चल्थ्यो । बुबा लेखपढ नगरेको भए पनि पढाइको महत्त्व बुझ्नुभएको थियो । मैले ९–१० कक्षाचाहिँ तानसेनमा डेरामा बसेर पढें । काका, दाइहरू पनि त्यहीँ पढ्नुहुन्थ्यो । पद्म पब्लिक बहुउद्देश्यीय माध्यमिक विद्यालय थियो तानसेनमा । 

गाउँबाट अढाई घण्टा टाढा दिनदिनै आउजाउ गरेर पढ्न सम्भव थिएन । छोटो दिन हुँदा बाटामै रात पर्छ भनेर पनि डेरा लिनुपर्थ्यो । डेरामा आफैं भात पकाउनुपर्थ्यो । मलाई भने घर जान मात्र मन लाग्ने । दाजुभाइ मिलेर दिउँसो १ बजेपछि स्कुल छोडेर घर जान्थ्यौं । बाटामा अलमलिँदै साँझ–साँझ श्रीनगरको बाटो घर पुग्थ्यौं । डेरा छाडेर किन आएको भनेर बुबाले गाली गर्नुहुन्थ्यो । आमाले भात खुवाउनुहुन्थ्यो । उज्यालो नहुँदै फेरि स्कुल हिँड्नुपर्थ्यो । 

म मध्यमस्तरको विद्यार्थी थिएँ । तर स्कुल छाडेर घर हिँड्न थालेपछि मेरो पढाइ बिग्रियो । १/२ महिनापछि डेरामा बस्ने बानी पर्‍यो । संस्कृत, अंग्रेजीका बाक्लो किताब पढ्नुपर्थ्यो । संस्कृत पढाइ हाम्रा पालामा तगडा थियो । संस्कृतका श्लोक घोक्नुपर्थ्यो, अनुच्छेद लेख्नुपर्थ्यो । मलाई सामान्य बोलचाल संस्कृतमा नै गर्न आउँथ्यो ।

तानसेनमा नरेन्द्रराज श्रेष्ठ भन्ने साहुजी (पसले) थिए । बुबाले त्यहीँ उधारो लिन भन्दिनुभएको थियो । साहुजीले बुबाको चिठीबिनै मलाई उधारो दिन्थे । म सोझो भनेर बुबा र साहुजी दुवैले विश्वास पनि गर्थे । डेरामा बसेर पढाइमा सुधार गर्न थालें । एसएलसी दिनुअघि टेस्ट परीक्षासम्म मेरो पढाइ फेरि तंग्रियो । टेस्ट पास भएपछि एसएलसी दिनुअघि गाउँमै फर्केर मास्टरी (प्राथमिक तहको शिक्षक) गरें । टेस्ट सकिएको ३ महिनापछि मात्र एसएलसी हुन्थ्यो । बुबाले गाउँकै स्कुलमा पढाउन हिँड भनेर लैजानुभएको थियो । १ सय ६० रुपैयाँ तलब हुन्थ्यो । एसएलसीको तयारी गर्नुपर्ने बेला कक्षा १–३ पढाएर बसें । एसएलसी खासै सोचेजस्तो भएन ।

मेरा सहपाठी माधव घिमिरे (खिलराज रेग्मीको अन्तरिम सरकारका गृहमन्त्री) थिए । उनी पछि मुग्लिन सवारी दुर्घटनामा बिते । उनी र म दुवै टेस्ट परीक्षामा तेस्रो भएका थियौं । एसएलसीको नतिजा प्रकाशन भएको खबर रेडियो नेपालबाट आयो । रेडियोले पाल्पा पद्म पब्लिकका माधव घिमिरे बोर्ड थर्ड (तेस्रो) भएको भन्यो । माधवले भरमार ट्युसन पढेका रहेछन् । म स्कुलमा पढाएर बसें । मेरो दोस्रो डिभिजन (श्रेणी) मात्र आयो । 

एसएलसीपछि स्कुलका धेरै साथी छुटे । सम्झना पनि कम्ती छ । धेरैजसो गाउँमै छन् । १–२ जना जागिरे भए होलान् । अहिले काठमाडौंको संगतमा स्कुले साथी खासै छैनन् । मलाई पढाउने शिक्षकहरूसँग बरु भेट भइरहन्छ ।

एसएलसीपछि के गर्ने टुंगो थिएन । सल्लाह लिने पनि कोही थिएन । काठमाडौं बस्ने एक आफन्तलाई गाउँबाटै चिठी लेखेर पढाएँ । चिठीमा म के पढ्ने होला भनेर सोधेको थिएँ । उहाँले तानसेनमा नै शिक्षा विषय पढ, शिक्षक हुन पाइन्छ भन्ने जवाफ पठाउनुभयो । तानसेनका त्यही नरेन्द्रराज साहुले हेल्थ असिस्टेन्ट (एचए) पढाउन बुबालाई सल्लाह दिएछन् । उनले बुबासँग ‘छोरा पढ्न टाठै छ, हेल्थ असिस्टेन्ट पढेपछि डाक्टर बन्न पनि पाइन्छ, नभए पनि जागिर त पक्का’ भनेछन् । त्यही कुरा बुबाले मलाई सुनाउनुभयो । काठमाडौं जान पाउने भएपछि मैले पनि हुन्छ भनें । बस चढेर काठमाडौं आएँ । पछि एमबीबीएस गरें ।

स्कुलमा शिक्षक र घरमा बुबाआमा जे भन्नुहुन्थ्यो, त्यहीअनुसार स्कुले जीवन बित्यो । म अनुशासित नै थिएँ । धेरैले मलाई सोझो छ भन्थे । रिसाउनचाहिँ म रिसाउँथें । रिस उठेपछि घोसे मुन्टो लगाएर बस्थें । झगडा भने गर्दिनथें । म शुद्ध शाकाहारी थिएँ । 

पाल्पाकै बराङ्दीमा मामाघर थियो । दसैंमा मामाघर जाने, नयाँ लुगा लगाउने गरिन्थ्यो । चाडपर्वमा उत्साह भए पनि म धेरै फुरुङ्ग भएर हिँड्ने स्वभावको थिइनँ । आफ्नै लयमा खुरुखुरु अघि बढ्थें ।

म देब्रे हात चलाउँथें । बाआमा भने दाहिने चलाउनुपर्छ भन्दै कराउनुहुन्थ्यो । उहाँहरूलाई देखाउन दाहिने चलाउँथें । भूमिगत रूपमा देब्रे चलाउँथें । कलम समात्ने, खाने बेला दाहिने अघि बढाउँथें । खेल्ने बेला बाहिरफेर देब्रे पनि चलाइराखें । त्यसले मलाई फाइदा गर्‍यो । अहिले मेरा दुइटै हात काममा उत्तिकै चल्छन् । अहिले टेनिस, गल्फ देब्रेले खेल्छु । हस्पिटलमा सर्जरीमा दाहिनेले सिलाउँछु । सर्जरीमा कैंची दुवै हातले चलाउन सक्छु । केही काम गर्नु छ भने नबोली खुरुखुरु गर्ने र नतिजाले देखाउन मेरो सानैदेखिको बानी थियो ।

स्कुलमा जीवनमा त्यति धेरै राजनीतिक गतिविधि भएको सम्झना छैन । स्कुलमा विद्यार्थी युनियन, संगठनबारे थाहा भएन । म हाईस्कुल पढ्दा पशुपतिशमशेर जबरा शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ ठूलोखाले घोडा चढेर हाम्रो स्कुलको भ्रमणमा आउनुभएको थियो । शिक्षामन्त्री आउने भनेर हामीलाई लाइनमा राखिएको थियो । चिटिक्क परेको लुगा, कालो चस्मा, छालाको जुत्ता लगाएर शिक्षामन्त्री आएको देखें । छालाको जुत्ता त्यतिबेला मात्रै देखेको हुँ । चुनावमा धाँधली हुने, पैसा बाँड्नेबारे चाहिँ सानोबाट अहिलेसम्मै सुन्दै आएको छु । पञ्चायत भनेको राजनीतिक हो कि के हो, थाहा भएन ।

डा. वरिष्ठ मुटु रोग विशेषज्ञ

Link copied successfully