खेलाडीको बिदा नै हुन्न

स्कुल छँदा म राम्रै विद्यार्थी थिएँ । विज्ञान, गणितमा सधैं राम्रै गरें । फुटबल खेलेर पढाइमा कहिल्यै समस्या भएन ।

कार्तिक ८, २०८२

विशाल श्रेष्ठ

There is no holiday for players.

What you should know

काठमाडौँ — खेलाडीले दसैं–तिहार पनि भन्न पाउँदैनन् । यही बेला प्रतियोगिता पर्छ । नभए प्रतियोगिताका लागि तयारी गर्नुपर्ने हुन्छ । दसैं–तिहारकै बेला मैले विदेशमा बिताएका केही खास–खास क्षण पनि छन् । त्यसमध्ये एउटा त साह्रै मज्जाको छ भन्दा हुन्छ । सन् २०१६ को कुरा, मलेसियाको कुचिङमा एएफसी सोलिडारिटी कप भएको थियो । तिहारकै बेला प्रतियोगिता पर्‍यो ।

यस प्रतियोगिताको खास महत्त्व किन पनि छ भने हामीले त्यसको उपाधि पनि जितेका थियौं । नेपालले एसियाली फुटबल महासंघ (एएफपी) को आधिकारिक प्रतियोगिता जितेको यो नै पहिलो हो । त्यति बेला नेपाली टिमका कप्तान विराज महर्जन दाइ हुनुहुन्थ्यो । भाइटीकाको दिन उहाँले पूरा टिमलाई मीठो ‘सरप्राइज’ दिनु भयो, विशेषतः मलाई । अनि यसले म मात्र होइन, पूरा टिम खुसी भएको थियो ।

भयो के भन्दा हामी कुचिङ उड्न अगाडि विद्या दिदीले विराजदाइको हातबाट भाइटीकाका लागि चाहिने सबै सामान पठाउनुभएको रहेछ । त्यसमा टीकादेखि लिएर जजंका, मालादेखि खानेकुरासम्म नै । हाम्रा तीन दिदी हुनुहुन्छ– पार्वती, विद्या र वीणा । उहाँहरूसँगको भाइटीकाको अवसर विशेष हुने गर्छ । मेरो जीवनमा उहाँहरूको ठूलो योगदान छ, यो मैले भुल्ने छैन ।

विद्या दिदीको पनि फुटबलमा उत्तिकै रुचि छ । खेलाडी सबैलाई पनि चिन्ने उहाँ नै । रंगशालामै आएर फुटबल हेर्ने पनि उहाँ नै । विद्या दिदीले विराजदाइलाई भन्नुभएको रहेछ, ‘यो सबै पूजा सामान भाइटीकाको दिन मात्र खोल्नू, त्यस अगाडि यसबारे कसैलाई केही नभन्नू ।’

भाइटीकाको दिन हामी सबै होटलको एउटा कोठामा जम्मा भएका थियौं । लगभग सबै खेलाडी थियौं । सबैलाई पुग्ने पूजाको सामान पनि थियो, हामी सबैले त्यसलाई ग्रहण गर्‍यौं । खुबै रमाइलो भएको थियो, त्यो क्षण । अझ भावनात्मक पनि । पछि टिमले उपाधि जितेपछि त्यो भाइटीका अझ विशेष बन्यो, सबैले यसलाई जितका लागि सगुन जस्तै माने । फुटबलले मलाई दिएको सबैभन्दा खुसीको क्षणमा यो पनि पर्छ ।

दसैंसँग जोडिएको अर्को सम्झनलायक घटना छ । यो सन् २००७ को कुरा हो । हामी एएफसी यू–१६ च्याम्पियनसिपको छनोट खेल्न इरान गएका थियौं । त्यही बेला दसैं परेको थियो । टिमको व्यवस्थापक हुनुहुन्थ्यो, सञ्जीव मिश्र दाइ । उहाँले काठमाडौंबाटै टीका र अन्य पूजाको सामान लानुभएको रहेछ । टीकाको दिन उहाँबाट हामी सबैले आशीर्वाद लियौं । यसरी तेहरान सहरमा दसैं मनायौं ।

There is no holiday for players.
म काठमाडौंमै जन्मेर/हुर्केको भए पनि हाम्रो आफ्नै गाउँ तौथलीप्रति मेरो विशेष लगाब छ । हाम्रो पूरा परिवारले दसैं मनाउने भनेकै त्यहीं हो । काठमाडौंबाट सय किलोमिटर जति टाढा छ यो नेवार बस्तीको पुरानो गाउँ । सिन्धुपाल्चोक जिल्लामा पर्छ । त्यसैले दसैं आयो भने सानै उमेरदेखि मेरो ध्यान त्यतातर्फ नै हुन्थ्यो, कहिले गाउँ जाने भनेर । दसैंकै बेला धौ जात्रा पनि पर्थ्यो । 

धौ जात्रा अर्थात् दही जात्रा । दसैंका क्रममा गाउँमा धेरै धार्मिक र सांस्कृतिक कार्यक्रम हुन्छन् । हाम्रो मूल घर अझै पनि त्यहाँ छ । अहिले त बसको सुविधा छ र दुई तीन घण्टामै मज्जाले सजिलै पुग्न सक्छौं । बसको सुविधा नहुँदा ५/६ घण्टाभन्दा बढी हिँडेर पुग्नुपर्थ्यो । हाम्रो समयमा दसैंदेखि तिहारसम्म नै बिदा हुन्थ्यो, त्यसैले त्यति समय बिताउने भनेकै गाउँमा हो । कति बेला घर फर्कने समय भइसक्थ्यो, थाहा नै नहुने ।

तौथली सिन्धुपाल्चोकको प्राचीन सहर मानिन्छ । यसको पूर्वमा दोलखा पर्छ । यसलाई हाजिरपुर पनि भनिन्छ । यसको अर्थ हो, पवित्र तीर्थस्थल । यहाँ समय अनुसार विभिन्न चाडपर्व मनाउने चलन छ । त्यसमध्ये प्रसिद्ध धौ जात्रा नै हो । यो जात्रा फूलपातीबाट पाँच दिन मनाइन्छ । प्रत्येक दिनको आफ्नै महत्त्व हुन्छ । त्यसमध्ये पाँचौं दिन एकादशीमा धौ जात्रा मनाइन्छ ।

यो एक प्रकारले देवताप्रति ‘थ्याङ गिभिङ’ पर्व हो जस्तो लाग्छ । तौथलीका अधिकांश बासिन्दा कृषक नै हुन् । देवताले हामीलाई यति धेरै दिनुभएको छ, त्यो सबैका लागि खास दिनमा धन्यवाद भनेर दही चढाउने गरिन्छ । देवताले आफूमाथि कृपा राखोस् भनेर एक दिन अगाडि नै दही बनाउने काम हुन्छ । सुरुमा यसलाई देवतामै चढाइन्छ र पछि प्रसादका रूपमा सबैलाई दिइन्छ ।

पछि यसले जात्राकै रूप लिएको मानिन्छ । जात्राको दिन सबै बच्चा, युवादेखि बूढापाका दही बोकेर गीत गाएर देवीथानसम्म जाने चलन छ । यो दही खायो भने खानेलाई पूरा वर्ष रोग लाग्दैन भन्ने जनविश्वास अझै छ । यही दिन मोहनीसँग जोडिएका भजन गाउने चलन पनि कायम नै छ । फेरि हाम्रो परिवार आफैंमा ठूलो, ४०/५० जना सदस्य हुने । त्यसैले गाउँमा मनाएको दसैं सधैं विशेष हुने । हाम्रो यो क्रम अझै टुटेको छैन र यसलाई टुटाउने पनि छैनन् । यसलाई नयाँ पुस्तामा पनि हस्तान्तरण गर्नुपर्ने हुन्छ । यो यस्तो परम्परा हो जस्तो लाग्छ, जसलाई हामीले जीवित राख्नुपर्छ र यससँग भावनात्मक रूपमा जोडिरहनुपर्ने हुन्छ । 

मैले एसएलसी पास गर्दासम्म चार फरक–फरक स्कुलमा पढें । १ देखि ६ कक्षासम्म बौद्ध सेकेन्डरी स्कुलमा । ७ देखि ८ कक्षासम्म हेटौंडाको ज्ञानोदयमा । त्यही बेला त हो, म एन्फा एकेडेमीसँग आबद्ध भएको । त्यसपछि हामी फेरि काठमाडौं फर्केका थियौं र ९ कक्षा नोबलमा पढें । १० कक्षा भने एलाइड को–एडमा पढेको । जहाँ पढे पनि बिदामा घर फर्कने र तौथली जाने क्रम टुटेन ।

दसैं–तिहार बिदामा सक्दो धेरै होमवर्क दिने चलन थियो । दसैं–तिहारको एकमुष्ट बिदा भनेकै होमवर्क गर्नका लागि जस्तो लाग्थ्यो । सुरुका वर्षमा मैले यी होमवर्क ढिला गर्दा समस्या भएको थियो । त्यसैले मैले के गरें भने बिदा सुरु हुनेबित्तिकै दिनरात गरेर सबै होमवर्क सकाउँथें । फेरि यसको पनि एउटै मात्र उद्देश्य थियो, गाउँ गएर मज्जाले दसैं मिनाउने । दसैका बेला गाउँमा यति धेरै व्यस्त हुने गर्थ्यौं कि होमवर्क गर्ने समय नै हुँदैनथ्यो । 

स्कुल छँदा म राम्रै विद्यार्थी थिएँ । विज्ञान, गणितमा मैले जहिले पनि राम्रै गरें । फुटबल खेलेर पढाइमा कहिले पनि समस्या भएन । समस्या हुन दिइनँ भन्दा हुन्छ । हामीलाई सुरुमै के सिकाइएको थियो भने खेलाडीले खेल्ने मात्र होइन, पढ्ने पनि हो । अझ खेलाडीले अझ बढी पढ्नुपर्छ । मैले यो तथ्यलाई कहिले पनि बिर्सिइनँ । यसै कारणले हो, मैले एमबीएससम्मको पढाइ सकाइसकेको छु । एसएलसीपछि मैले व्यवस्थापन विषय रोजेको थिएँ र त्यसमै स्नातकोत्तरसम्मको पढाइ गरें । यहाँनिर म तीन जना गुरु र गुरुआमालाई सम्झन चाहन्छु । पछिल्लो समय हामी सम्पर्कमा भने छैनौं ।

There is no holiday for players.

बौद्ध सेकेन्डरीमा पढ्दा सीमा म्याम हुनुहुन्थ्यो । उहाँले अंग्रेजी पढाउनुहुन्थ्यो । खुबै माया गर्नुहुन्थ्यो । हेटौंडामा हुँदा दुई जना सरले हामीलाई उत्तिकै माया गर्नुहुन्थ्यो । विज्ञान पढाउने कमल सर हुनुहुन्थ्यो भने गणित पढाउने खड्ग सर । उहाँहरू भन्नुहुन्थ्यो– खेलाडीले अझ बढी पढ्नुपर्छ, किनभने पछि गएर खेल क्षेत्रमै लाग्नुपर्छ अथवा लागिन्छ भन्ने के हुन्छ र ! 

हामी होस्टलमा थियौं । त्यसैले उहाँहरूसँग नजिकको सम्बन्ध रह्यो । दुःख के भन्दा अहिले मलाई न त सीमा म्यामबारे धेरै थाहा छ, न कमल सर र खड्ग सरबारे । उहाँहरू तीनै जना दार्जिलिङतिरको हुनुहुन्थ्यो । अचेल उतै हुनुपर्छ । कसैले मेरो यो सम्झना पढेर सन्देश एउटा उहाँहरूसम्म पुर्‍याइदिनुभयो भने म खुसी हुने थिएँ, उहाँहरूलाई भेट्ने रहर छ । अनि पुराना जति सबै कुरा सम्झने इच्छा छ ।

कमल सर र खड्ग सर दसैं–तिहार बिदामा आआफ्नो घर जानुहुन्थ्यो । फर्किंदा हाम्रा लागि भनेर त्यहाँको विशेष खाले चकलेट ल्याउनुहुन्थ्यो । त्यो खुबै स्वादिलो हुन्थ्यो र त्यसको स्वाद मैले अहिलेसम्म पनि बिर्सेको छैन । सायद त्यो घरमै बनाइन्थ्यो होला, प्लास्टिकले बेरेको हुन्थ्यो, लाम्चो आकारमा । खासमा त्यो चकलेट मात्र थिएन, माया र सम्झनाभन्दा धेरै बढी थियो ।

विशाल फुटबलर

Link copied successfully