स्कुलमा चकचक बढी गर्थ्यौं । कहिलेकाहीँ सरको पिटाइ खान्थ्यौं । गाउँमा मेला लाग्थ्यो, घरबाट स्कुल जाने भनेर हिँड्ने तर स्कुल छाडेर मेलातिर जान्थ्यौं । अनि स्कुल छुट्टी भएर घर जान्थ्यौं । महायज्ञ लाग्थ्यो, त्यस्तो हुँदा पनि ५/७ जना थियौं, जान्थ्यौं । अहिले सम्झँदा रमाइलो लाग्छ ।
What you should know
काठमाडौँ — म गुल्मीको रुरु गाउँपालिका–४ स्थित त्वागाँमा जन्मिएको हुँ । म जन्मिएको जिल्ला कफीका लागि प्रख्यात छ । गुल्मीमा उत्पादन हुने कफी देश–विदेशमा समेत लोकप्रिय छ । हाम्रो गाउँमा भने कफीसँगै अदुवा खेती पनि हुन्थ्यो । मैले बच्चैदेखि गाउँका मानिसले अदुवा खेती र यसको व्यापार गरेको देखेको छु ।
गाउँमा उखु खेती पनि हुन्थ्यो । गाउँमा त्यसलाई पेलेर सक्खर बनाउने चलन थियो । २०६०/६१ सालतिर स्कुल पढ्नलाई दुई घण्टा हिँडेर जानुपर्थ्यो । गाउँमा प्राथमिक स्कुल त थियो, शिशु र १, २ सम्म पढाइ हुने । तर थप पढ्नलाई हिँडेर टाढा आउनुको विकल्प थिएन ।
त्यसबेला गोरेटो बाटो मात्र थियो । गाडी पाइन्नथ्यो । अहिले सम्झिँदा त्यो बाटोमा मोटरसाइकल पनि हिँड्न मिल्थेन । त्यस्तोमा स्कुल जाँदा र आउँदै चार घण्टा बित्थ्यो । गाउँमा कोही बिरामी भयो भने बोकेर लैजानुपर्थ्यो, त्यही पनि बाटोको अवस्था राम्रो नहुँदा असाध्यै दुःख हुन्थ्यो । तिंगामा स्वास्थ्य चौकी थियो, त्यहाँसम्म गाउँलेले बिरामी बोकेर पुर्याउँथे । मलाई अहिले पनि याद छ, बाटो सोहोर्न दसैंमा हामी कोदालो बोकेर गाउँभरिका मान्छे सडकमा निस्किन्थ्यौं । ढुंगा, पातपतिंगरलगायतका कारण हिँड्न कठिन हुने भएकाले सबै मिलेर सडकमा सरसफाइ गर्थ्यौं । अहिले बाटो बनेपछि धेरै राहत भएको छ । तर त्यो बनेको २०६८/६९ सालमा मात्र हो ।
गाउँमा मानिसका खेत टन्न थिए, तरकारीदेखि सबथोक गाउँमै फल्थ्यो । किन्नलाई कोही बजार जानुपर्ने स्थिति थिएन । हरेकले आफ्नो खेतमा लगाएको बालीनालीले जीवन निर्वाह गर्थे । अहिले उत्पादनको बजारीकरण भयो । तर मान्छेले खेती–किसानी गर्न छाडे । पहिले जस्तो कसैले खेतमा दुःख गरेको देखिँदैन । हामीले पनि पहिले खेत अधियाँमा दिएका थियौं, अहिले त गाउँमा काम गर्ने मान्छे नै छैनन् । मलाई लाग्छ, यो मेरो गाउँको मात्र समस्या होइन । देशभरिका गाउँको अवस्था यही हो । मेरी आमा घरायसी काममै व्यस्त रहनु हुन्छ । बुबाले रानीवासमा कपडा पसल चलाउनु हुन्छ । घर गाउँमा छ, पसलचाहिँ अलि माथि डाँडामा छ ।
हाम्रो गाउँमा प्रायः सबै कृषि पेसामा आबद्ध थिए । कतिपयचाहिँ गाउँबाट भारतमा काम गर्न पनि जान्थे । भारत गएकाहरूले पैसा पठाएपछि गाउँमा रमाइलो छाउँथ्यो । त्यस बेला गाउँमा ३६ घरपरिवार थिए । प्रत्येक घरको एक जनाजसो भारतमा थिए । दसैंका बेला उनीहरू रेडियो झुन्ड्याएर आउँथे, त्यसरी आउनेको सान बेग्लै हुन्थ्यो । लाहुरेको ताँती लाग्न थालेपछि बल्ल दसैं आएजस्तो हुन्थ्यो । उनीहरूले सबैलाई चकलेट बाँड्थे । गाउँमा तीन जनाले चाहिँ शिक्षण गर्नुहुन्थ्यो । अहिले पनि गाउँमा राम्रो स्कुल त छैन । तर, बाटो राम्रो भएको छ । स्कुलको गाडी गाउँसम्मै आइपुग्छ । विद्यार्थीहरू आरामले घरबाटै पढ्न जान पाउँछन् ।
मेरा बुबा काम गर्न एक पटक भारत जानुभएको थियो । तर बुबा जानुभएको दुई महिनामा हजुरबुबा बित्नुभयो । बुबा फर्किनुभयो, जेठो छोरा भएकाले घर सम्हालेर बस्नुभयो । त्यसपछि माइलो र साइँलो बुबा काम गर्न भारत जानुभयो । बुबाले त्यस बेलैदेखि गाउँमै काम गर्न थाल्नुभएको हो ।
म सुरुमा पढेको तुवाँगा प्राथमिक विद्यालयमा हो । त्यहाँ कक्षा ३ सम्म पढाइ हुन्थ्यो । त्यसपछि बजारको स्कुलमा पढें । त्यहाँ कक्षा ५ सम्म पढाइ हुन्थ्यो । विद्यार्थी अलि धेरै थिए । पढाइ र पढाउने शैली खासै फरक थिएन । कक्षा ५ पछि बुटवल आएर बुद्ध पब्लिक स्कुलमा पढें । त्यो स्कुलमा आएपछि फेरि तल्लो कक्षादेखि सुरु गर्नुपर्यो । त्यो बोर्डिङ स्कुल थियो । त्यहीँ पुगेपछि मैले राजनीति र समाज भनेको के हो भन्ने बुझें ।
स्कुलमा चकचक बढी गर्थ्यौं । कहिलेकाहीँ सरको पिटाइ खान्थ्यौं । गाउँमा मेला लाग्थ्यो, घरबाट स्कुल जाने भनेर हिँड्ने तर स्कुल छाडेर मेलातिर जान्थ्यौं । अनि स्कुल छुट्टी भएर घर जान्थ्यौं । महायज्ञ लाग्थ्यो, त्यस्तो हुँदा पनि ५/७ जना थियौं, जान्थ्यौं । अहिले सम्झँदा रमाइलो लाग्छ ।
एक पटक स्कुलमा केटा र केटीबीच बोलचाल भएन । त्यसपछि अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुँदा दुई वटा समूह भएर गयौं । पछि प्रिन्सिपल सरले फकाएर मनाङ र मुस्ताङ लैजान्छु भनेपछि बोलचाल खुल्यो । तर मनाङ र मुस्ताङ शैक्षिक भ्रमणमा चाहिँ जान पाइएन । अहिले कतिपय साथीभाइसँग भेटघाट र कुराकानी हुन्छ । सँगै पढेका मध्ये धेरैजसो विदेश गइसके ।
स्कुलमा ‘स्पोर्ट्स विक’ हुन्थ्यो । म फुटबल, भलिबलमा रुचि राख्थें । वार्षिकोत्सव आउनुअघि निरन्तर खेलकुद हुन्थे । म क्रिकेटमा पनि भाग लिन्थें, वक्तृत्वकला र वादविवादमा पनि भाग लिन्थें । स्कुलमा बाल क्लब खोलेका थियौं, त्यसको अध्यक्ष म नै थिएँ । बुद्ध पब्लिक बाल क्लब नाम थियो । स्कुलले अन्नपूर्ण, धौलागिरि, सगरमाथा र कञ्चनजंघा गरी विद्यार्थीको हाउस छुट्याएको थियो । सगरमाथा हाउसको क्याप्टेन पनि म थिएँ । क्लबले साप्ताहिक भित्ते पत्रिका निकाल्थ्यो, विभिन्न कार्यक्रम पनि आयोजना गर्थ्यो ।
स्कुल बिदा हुँदा प्रायः मामाघर गइन्थ्यो । गुल्मीको मझुवामा मेरो मामाघर हो । त्यति बेला गाडीको सुविधा थिएन । मामाघर जान पनि एक दिन लाग्थ्यो । दुई/तीन वटा खोला तरेर जानुपर्थ्यो । अहिले भने पुल बनिसक्यो । तर त्यसबेला निकै अप्ठ्यारो गरी पुग्नुपर्थ्यो । बाटोमा केही खाने स्थिति हुन्थेन, बाटोमा खान भनेर प्रायः घरबाट ढकनी पकाएर लिएर गइन्थ्यो । मैले किताब पनि पढ्थें । कक्षा ७ मा पढ्दा ‘जीवन काँडा कि फूल’ पढेको हुँ । मेरा एक जना काका हुनुहुन्थ्यो, उहाँले पढ्नुपर्छ भनेर किताब दिनुहुन्थ्यो, त्यसबाट सुरु गरेको अहिलेसम्म पनि म किताब पढिरहन्छु ।
स्कुल पढ्दा होमवर्कको तनाव एकदमै हुन्थ्यो । त्यसले तनाव दिन्थ्यो । झोला पनि लास्टै गह्रौं हुन्थ्यो । एउटा डायरी हुन्थ्यो, होमवर्क लेख्यो कि लेखेन भनेर हस्ताक्षर गराउनुपर्थ्यो । सबैको होमवर्क सकेर अभिभावकलाई देखाउनुपर्थ्यो ।
लामो बिदापछि स्कुल फर्किंदा पनि रमाइलो हुन्थ्यो । पहिलो दिन हामी अन्तिम बेन्चतिर गएर बस्थ्यौं । साथीहरू कहिले अगाडि कागज फ्याँक्ने, रमाइलो गर्ने गर्थे । एक पटक एउटा साथीले बेन्चमा कम्पास राखिदिए, अर्को साथी बस्दा त्यसले कोपेर रगत नै आयो । तत्काललाई साथीले अरूलाई नभनोस् भनेर थुमथुम्याइयो । तर पछि मेडिकल लगेर टिटानसको सुई लगाउनुपर्यो ।
अहिले सम्झिँदा सबै कुरा रमाइलो लाग्छ । पुराना साथीभाइसँग भेट हुँदा कहिलेकाहीँ ती पल स्मरण गर्दै मुस्कुराउँछौं ।
