सम्प्रेषणीयता, जीवन्तता र युगबोधको त्रिवेणीमा बगेका अधिकारीका कविताले पाठकका मन र मस्तिष्कमा गहिरो प्रभाव पार्न सक्ने सामर्थ्य राख्छन् ।
कतिपय पूर्वीय काव्यिक ग्रन्थ र पौराणिक श्लोकहरूले कवि–प्रतिभाको खुलेरै प्रशंसा गरेका छन् । हृदयको मुक्ति प्राप्तिका निम्ति मानव वाणीद्वारा जे लेखिन्छ त्यसलाई कविता भन्ने गरिन्छ ।
हृदयको स्वच्छन्द अवस्था वा आवाजलाई कवितामा प्रतिबिम्बित गर्दै कवि युवराज अधिकारीले मन र भावनाको, अनुराग र आकर्षणको, गरिबी र अभावको, सम्झना र मनको, सत्ता र भ्रष्टाचारको, पितृ र श्रद्धाको, मान्छे र प्रवृत्तिलगायतका युद्धहरूलाई एउटै कवितासंग्रहद्वारा रणभूमि तथा शान्तिभूमि बनाउँदै मनका, जीवन–जगतका अनुभूतिहरूलाई युद्ध युद्ध नै हुन्छ कवितासंग्रहका मार्फत प्रस्तुत गरेका छन् । भावनात्मक मिठासका यी युद्धहरूले जीवन, जीवन बाँच्ने परिवेश, जीवनले भोग्ने समय, छोडिएका, रहेका, आउने र जानेलगायत अनेक प्रवृत्ति र आवृत्तिहरूलाई लयबद्ध गरेका छन्, कवि अधिकारीले ।
चालिसको दशकदेखि काव्य साधनाको अथक यात्रामा निस्केका कवि युवराज अधिकारीको यो दोस्रो कवितासंग्रह हो । उनले लिपिबद्ध गरेका थुप्रै मन छुने गीतहरू पनि रेकर्ड भएर दर्शकस्रोताले मन पराइसकेका छन् । ‘युद्ध युद्ध नै हुन्छ’ कवितासंग्रह ‘एक टुक्रा जिन्दगी’ कविताबाट सुरु भएर ‘मान्यता, ‘जिन्दगी यस्तै त हो कान्छा, ‘हराएको मान्छे, ‘तिमी तिमी जस्तै हुनु ‘उचाइ र धूलो, ‘जन्मघर, तिम्रो याद, ‘जिन्दगी अन्त्यहीन सङ्घर्ष हो, ‘ऊ आउने छ, विडम्बना, ‘रूपान्तरण, ‘पृथ्वीको सङ्कल्प, जिन्दावाद र मुर्दावादको सहरमा कोही आउनेछ, आमा, ‘मान्छे र सत्य, ‘जिउँदा मान्छेहरू’ हुँदै ‘स्मृति एउटा अस्तित्वको’ कवितामा पुगेर सकिएको छ ।
तेत्तिस वटा कविताहरू सङ्गृहीत यी मुक्त लयका कविताहरूमध्ये कतिपय कविताले लयात्मकता र गीतात्मकता बोकेका छन् । विभिन्न भावभूमिमा उभिएका यस संग्रहका कविताहरूले जीवनको कथा व्यथालाई स्विकार्नु, हार्दिक प्रेमिल इच्छालाई व्यक्त गर्नु, वर्तमान अवास्थाप्रति घोरिनु, विकृति र विसंगतिलाई नजिकबाट पर्गेल्दै जीवन, जन्मस्थान, प्रेम र बिछोडका स्मृतिहरूले गाँजिनु, क्षणभंगुर जीवन र मानिसको छेपारे प्रवृत्तिप्रति उदासिनु, पितृमातृ श्रद्धाले नतमस्तक हुनु, देशप्रेम, परदेसिनुको पीडा र परिणाम अनि मान्छे, मान्छे र मान्छेका संवेदनामा विसंगति, विकृति र भ्रष्टाचारलाई इङ्गित गरेका छन् । मनैमा छपक्कै बस्ने उच्चकोटिका कविताहरूमा ‘जिन्दगी यस्तै त हो कान्छा, उचाई र धुलो, जिन्दगी अन्त्यहीन संघर्ष, जिन्दावाद र मुर्दावादको सहरमा कोही आउने छ’ जिउँदा मान्छेहरू, युद्ध युद्ध नै हुन्छ, माउन्ट एभरेस्ट भन्दा अग्लो छ’ लगायतका कविताहरू रहेका छन् ।
कविले यस सङ्ग्रहका कविताहरूमा मनको भावावेगलाई मौलिक रूपमा सम्प्रेषण गरेका छन् । देश काल र परिस्थिति अनि आफूले त्यसप्रति गरेको अनुभूति स्वतः भित्रिएको छ कविताहरूमा । आˆनै स्वर प्रस्तुत गरेको यी कवितामा सौन्दर्य चेतना, परिवर्तनको भावना, सूक्ष्म दार्शनिकता र स्मृतिमय मनस्थिति आदिको समावेश पाइन्छ । सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना कविमा पाइन्छ । त्यसैले उनका कवितामा सुन्दर र असुन्दरको बिचमा रहेको अन्तर्बोध छ । परदेसिनुको पीडा छ, सम्झनाका छालहरू छन्, देशप्रेमले भिजेको छ, विकृति र विसंगतप्रति दुःख छ, जीवन र जीवनदर्शन छ, सांस्कृतिक रूपान्तरणको भाव छ । लालित्य, कोमलता, शिष्टता, माधुर्य आदितर्फको झुकाउ पनि कवितामा पाइन्छ ।
आदर्शवादी चिन्तनको छाप बोकेका कविले आफ्ना कवितामा समाजको विकृति–विसङ्गति, स्वार्थपरता आदि पक्षलाई पन्छाएर सुन्दर, स्वच्छ समाज निर्माणको सपना देखेका छन् । मानवीय संवेदनाको सेरोफेरोमा कहीँ न कहीँ कसैको जीवनमा घटेका, वा आˆनै मनले बेहोरेका, घटेका र घटिरहेका सामाजिक घटनालाई टिपेका छन् । आˆनै मन, समाज, संस्कृति, र समसामयिक जीवन र जीवनयापन भन्दा पर कल्पनाको उडान भरेका छैनन् । आˆनै परिवेशमा रमाएका, दुःखेका छन् र त्यसलाई लिपिबद्ध गरेका छन् । यही नै त उनको चेतनशील सर्जकीय प्रवृत्ति हो । अझ सूक्ष्म जीवन दर्शनले पाठकलाई छुन खोज्दै खन्याएका छन् समय परिस्थिति, भोगाइ र भोक्ताको सम्मिश्रणमा आˆना कवितामा जीवन र जगत्का धेरै रंगहरू ।
आगन्तुक, तत्सम, तद्भव शब्दहरू प्रयोग भएकाले कविताको भाषा निकै आकर्षक, कलात्मक बन्न गएको छ । सरल हरफहरूको प्रयोगले पनि यसमा समाविष्ट भएका कविताहरू बान्किला देखिन्छन् । कवितामा कथानात्मक शैली, प्राकृतिक, सामाजिक, ऐतिहासिक, प्रणय, निजी विम्बहरूको प्रयोगले दृश्यात्मक चित्रकारिता संयोजन भएकोले कविताहरूको शैली निकै रोचक, प्रभावकारी र सुन्दर बनेको पाइन्छ । मान्छेले जीवनमा देश, काल, परिस्थिति र वातावरणकै कारणले विविध किसिमका अनुकूल वा प्रतिकूल परिस्थितिहरूसँग सामना गर्नुपर्ने हुन्छ । ती अवस्थाहरू मार्मिक बनेर आएका छन् उनका कवितामा ।
कृति सरल र सरस छ । कृतिमा छपाइ त्रुटि नगन्य नै छ । कविताले मागे अनुसार प्रतीक र विम्ब आएका छन् । कुल मिलाएर भन्दा कृति सुन्दर छ । अनुभूति र चिन्तनको भरमा सिर्जिएका यिनका कवितामा निराशावादी धुन भन्दा पनि आशावादी र जीवनवादी धुन नै बढी गाइएको पाइन्छ । कवि अधिकारी भित्रको कवित्वशक्ति, सर्जकप्रवृत्ति, स्रष्टाव्यक्तित्व र सिर्जनाशक्तिको राम्रो परिचय दिन सक्षम र अब्बल देखिने यस कविता संग्रहमा ३३ कविताहरू छन् । कृति सङ्ग्रहणीय र पठनीय बनेको छ । केही छोटा तर प्रायः मध्यम आकारका कविताहरू सरल र सरस छन् । कवितामा विद्रोहको जुलुस छैन, हिंसाका प्रलापहरू छैनन्, कोमल मनका सिर्जनाका स्वरहरूमा विद्रोहमा पनि शालीनता धेरै छ । भाव सम्प्रेषणका हिसाबले गहकिला र ओजिला छन् कविताहरू ।
सम्प्रेषणीयता, जीवन्तता र युगबोधको त्रिवेणीमा बगेका कवि अधिकारीका कविताहरूले पाठकका मन र मस्तिष्कमा गहिरो प्रभाव पार्न सक्ने सामर्थ्य राख्छन्, जुन कविको काव्यिक वैशिष्ट्य हो । धेरै कोणबाट हेर्दा ‘युद्ध युद्ध नै हुन्छ’ कविता संग्रहको शीर्षक सार्थक लाग्छ । भनिन्छ, जब कविका वेदना र समवेदनाको उथलपुथलले शव्दको रुप लिन थाल्छन्, स्मृतिका फाटकहरू खुल्छन् । तब जीवनका रंगहरू अक्षरमा पोतिन थाल्छन् । कवि युवराज अधिकारीका कविता पनि जीवनका सुन्दर र काव्यिक रंगहरूले रंगिएका छन् ।
यति भन्दै गर्दा कवि अधिकारी मानवताका एकजना कर्मठ हिमायति पनि हुन् । यति भन्दै गर्दा उनी एकजना सिर्जनशील सेनानी पनि हुन् जो मुलुकको स्वाभिमानको निम्ति कलमरुपी अस्त्र चलाउन सिपालु छन् । उनी कविता मार्फत् खबरदारी गर्छन् आत्म स्वाभिमानमा कुठराघात गर्ने हक कसैलाई पनि नभएको उद्घोष गर्छन् । राष्ट्रियताको खिलापमा लेण्डुप दोर्जे बन्ने छुट कसैलाई पनि नभएको शंखघोष गर्छन् । उनको ‘देश’ शीर्षकको कविता मुलुकको अखण्डताको पक्षमा वकालत गरेका छन् कविले । समाजको मूलधारबाट किनारीकृत भई उत्पीडन भोगेका अनि विभेद र अन्यायमा परेका जनताहरुको निम्ति पनि आवाज उठाउन पछि हट्दैनन् ।
उनको लागि धर्म भनेको मानवधर्म मात्रै हो । उनी समाजको पाखण्डसित पनि विमति राख्छन् । उनी सरल र सात्विक जीवन रुचाउाछन् । सांस्कृतिक रुढीवाद, शोषण अनि उत्पीडनका विरुद्ध पनि कवि खरो रूपमा उत्रिन्छन् । सामाजिक र राजनीतिक यथास्थितिप्रतिको विद्रोही चेत पनि छ, कवितामा । समाजमा जरा गाडेर बसेको रुढ सोचका साथै सामाजिक यथास्थितवादमाथि पनि उनले झटारो हानेका छन् कवितामा । तसर्थ, उनको कवितासंग्रह ‘युद्ध युद्ध नै हुन्छ’ सामाजिक चेतना, प्रकृति प्रेम, जनावर प्रेम, मानवीय संवेदनालगायतका भावहरूको एउटा सुन्दर कोलाज हो भन्दा फरक पर्दैन ।
